६० प्रतिशत नवजातले पाउँदैनन् अमृततुल्य बिगौती दूध

हेल्थपोस्ट
प्रकाशित
२०७५ साउन १६ गते ५:१४

स्तनपान प्रवद्र्धनका लागि नेपालले सकारात्मक उपलब्धि हासिल गरेको भन्दै संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले प्रशंसा गरेको छ । युनिसेफले विश्व स्तनपान प्रवद्र्धन दिवसको अवसर पारेर सार्वजनिक गरेको विश्व प्रतिवेदनमा नेपालले स्तनपानमा सकारात्मक उपलब्धि हासिल गरेको उल्लेख छ । ‘क्याप्चर दि मोमेन्ट’ नामक सो प्रतिवेदनमा विश्वका ७६ देशको स्तनपानको अवस्था समेटिएको छ ।
नेपालमा ६६ प्रतिशत बच्चाले जन्मेदेखि ६ महिनासम्म आमाको दूध पिउने अवसर (एक्युसिभ ब्रेस्टफिडिङ) पाएका छन् भने ८ प्रतिशतले २ वर्षसम्म स्तनपान गर्न पाएका छन् । नेपाल जनसांख्यिक स्वास्थ सर्वेक्षण (एनडिएचएस) २०१६ अनुसार शिशु जन्मेको १ घण्टाभित्र ५५ प्रतिशत आमाले स्तनपान गराउँछन् । सन् २०११ को सोही प्रतिवेदनअनुसार यो दर जम्मा ४५ प्रतिशत थियो ।

प्रतिवेदनले सकारात्मक अवस्था आउनुको जस नेपालमा नवजात तथा शिशुलाई स्तनपान गराउन प्राथमिक स्तरदेखि नै परामर्श उपलब्ध गराउनु र जिल्लाहरूमा सञ्चालित समुदायमा आधारित पोषण, स्वस्थ स्याहारका कार्यक्रमलाई दिएको छ ।२०७२ को भूकम्पका समयमा समेत नेपाल सरकार र साझेदार संस्थाहरूले नवजात शिशुका लागि तयारी खानेकुराभन्दा पनि स्तनपानकै लागि परामर्श दिन सक्रियता देखाएको भन्दै प्रतिवेदनमा प्रशंसा गरिएको छ । नेपालमा स्तनपान प्रवद्र्धनमा प्रत्येक वर्ष २९ लाख अमेरिकी डलर खर्च भइरहेको छ, जसका आधारमा प्रतिशिशु खर्च झन्डै ५ डलर हुन आउँछ ।

विश्वमा ५ मध्ये ३ शिशु जन्मेको पहिलो घण्टाको स्तनपान (बिगौती दूध)बाट वञ्चित छन् । विश्वभर जन्मेको पहिलो घण्टाभित्र स्तनपान नगराइने शिशुको संख्या ६६ प्रतिशत रहेको पाइएको छ । १ घण्टाभित्र गराइने स्तनपान बालमृत्यु र रोगको सिकार हुनबाट जोगाउन अत्यन्तै लाभदायक रहे पनि ५ मध्ये ३ नवजात शिशु यस्तो स्तनपानबाट वञ्चित रहने गरको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले बालमैत्री अस्पतालको अभाव, छोटो सुत्केरी बिदालगायत चुनौतीका कारण अझै बढी लक्ष्य हासिल गर्न अप्ठ्यारो भएको औँल्याएको छ । ‘स्तनपान प्रवद्र्धनका लागि सरकारले आवश्यक लगानी गर्न नसक्दा चुनौतीको सामना गर्न समस्या हुन्छ, आमाको दूधजस्तो प्राकृतिक उपहार नपाएर हजारौँ बच्चा मर्नुपर्ने अवस्था अझै छ,’ नेपाल स्तनपान प्रवद्र्धन फोरमका अध्यक्ष डा. प्रकाशसुन्दर शाक्यले भने ।

विश्वमा ५ मध्ये ३ शिशु जन्मेको पहिलो घण्टाको स्तनपान (बिगौती दूध)बाट वञ्चित छन् । विश्वभर जन्मेको पहिलो घण्टाभित्र स्तनपान नगराइने शिशुको संख्या ६६ प्रतिशत रहेको पाइएको छ । १ घण्टाभित्र गराइने स्तनपान बालमृत्यु र रोगको सिकार हुनबाट जोगाउन अत्यन्तै लाभदायक रहे पनि ५ मध्ये ३ नवजात शिशु यस्तो स्तनपानबाट वञ्चित रहने गरको प्रतिवेदनमा उल्लेख छ । न्यून तथा मध्यम आयस्तरका मुलुकमा यो समस्या विकराल रहेको औँल्याइएको छ ।  अघिल्ला अध्ययनलाई उद्धृत गर्दै उक्त प्रतिवेदनमा भनिएको छ, ‘२ देखि २३ घण्टाभित्र स्तनपान गराउँदा मृत्युको सम्भावना १ घण्टाभित्र गराइएभन्दा ३३ प्रतिशत बढी हुन्छ । १ दिनपछि १ महिनाभित्र मात्र स्तनपान गराउँदा यो खतरा दोब्बर रहन्छ ।’

प्रतिवेदनमा १ घण्टाभित्रै स्तनपान गराइएका बच्चाको बाँच्ने सम्भावना उच्च रहने औँल्याइएको छ । यस्तो स्तनपानमा केही घण्टाको ढिलाइले पनि बच्चाको ज्यान जोखिममा हुन्छ । स्तनपानका क्रममा बच्चा र आमाबीचको स्पर्शले आमाको दूधसँगै बच्चाको पहिलो खोप भनिने ‘कोलस्ट्रम’ उत्पादन गराउन उत्प्रेरित गर्छ । ‘कोलस्ट्रम’ रोगप्रतिरोधी क्षमता र पोषणको मूल तत्व हो । बच्चा जन्मेको पहिलो घण्टाभित्रै स्तनपान गराउनेमा पूर्वी र दक्षिण अफ्रिकाको अवस्था बलियो देखिन्छ । त्यहाँ जन्मेको १ घण्टाभित्र ६५ प्रतिशत बच्चालाई स्तनपान गराइने प्रतिवेदनमा उल्लेख छ । सबैभन्दा कमजोर एसिया–प्रशान्त क्षेत्रमा ३२ प्रतिशत देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय