सहकार्यले सफल डाक्टर दम्पती

पोखरा मणिपाल कलेजबाट भर्खरै एमबिबिएस पूरा गरेर डा. विनीता जोशी वीर अस्पतालमा जनरल मेडिकन विभागमा इन्टर्नसिप गर्दैै थिइन् । डा. रोविन जोशी सर्जरी विभागमा काम गर्थे । पढाइ सकेका छोराछोरीको उपयुक्त वरवधू खोजेर विवाह नगरिदिँदासम्मको परिवारको हुटहुटी भोग्नेलाई मात्रै थाहा हुन्छ । दुवैको परिवार छोराछोरीका लागि उपयुक्त वरवधूको खोजीमा थिए ।

एउटै अस्पतालका फरक विभागमा कार्यरत डा. विनीता र डा. रोविन पनि आफ्ना लागि उपयुक्त जीवनसाथीको खोजीमा थिए । अस्पतालले जुराएको चिनजान र भेटघाट साथी र आफन्तको सम्बन्धसँग पनि जोडियो । उनीहरूका साथी मात्रै होइनन्, बाबुका साथीहरू पनि साझा थिए । संयोग कस्तो प¥यो भने, साथी र आफन्तबाट विवाहका लागि उनीहरू चुनिँदासम्म दुवैले एकअर्कालाई पनि मनपराइसकेका थिए । विवाहको कुरा घरबाट आउँदासम्म उनीहरूले पनि त्यसतर्फ सोच बनाइसकेको अवस्था थियो । दुवैले डाक्टरी पढाइ सिध्याइसकेका थिए । सामाजिक रूपमा सम्बन्ध जोडियो ।

१४ फ्रेबुअरी २००२ (प्रणय दिवसको दिन)मा उनीहरूको इन्गेजमेन्ट भयो र १ मेमा विवाह । सामाजिक रूपमा यो विवाह थियो, व्यावहारिक रूपमा दुवैको मिहिनेत र लगाव जोडेर एउटा सुन्दर संसार सिर्जना गर्ने सहकार्यको सुरुवातको दिन बन्यो । वरिष्ठ युरोलोजिस्ट एवं काठमाडौं मेडिकल कलेजका एसोसिएट प्रोफेसर डा. रोविन जोशी र नर्भिक अस्पतालकी बालरोग (ग्यास्ट्रोइन्टेरोलोजी, न्युट्रिसन हेपाटोलोजी) विशेषज्ञ डा. विनीता जोशीको सहकार्यले परिवार सफल बनाएको छ ।
जीवन एक भयो, लक्ष्य एउटै थियो, तर लक्ष्य प्राप्त गर्न दुवैले यात्रा गर्नु नै थियो । त्यसका लागि के गर्ने त ? सहकार्य ।

दुवैले प्रण गरे, घरपरिवार, करिअर सबैका लागि सहकार्य नै शक्ति हो, जसले जिन्दगीलाई मजबुत बनाउँदै लान्छ । लामो यात्राको सुरुवात सामाजिक, व्यावहारिक र भावनात्मक रूपमा समेत सुरु भइसकेको थियो । एमबिबिएस सकिए पनि दुवैले विशेषज्ञ डिग्री लिइसकेका थिएनन् । सकेसम्म सबै कुरामा साथ दिनु नै थियो । त्यही सोचअनुसार सहकार्यबाट फरदर स्टडी गर्ने योजना उनीहरूले बुने र सोहीअनुसार गरे ।

सन् २००४ मा रोविनले पाकिस्तानमा युरो सर्जरीमा पोस्ट ग्राजुएसन (पिजी)को लागि छात्रवृत्ति पाए । सँगै जाने सोचले पिजी नभए पनि विशेषज्ञ तहकै तालिमका लागि विनीताले पनि आवेदन दिइन् । दुवैलाई पाकिस्तान जाने अवसर आयो । पाकिस्तान बस्दा नै तालिमसँगै बच्चाको तयारी भयो । तर, त्यहाँ बच्चा पाउन, हुर्काउन त्यति सहज हुने नदेखेर विनीता बच्चा जन्माउन नेपाल फर्किइन् ।दुवैको परिवारबाट सहयोग हुने देखेर नेपालमै बच्चा हुर्काउने सोच बन्यो । सोहीअनुसार विनीताले पिजीका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा आवेदन दिइन्, लक्किली नाम निस्कियो ।

बच्चा ७ महिनाको थियो । रोविन पाकिस्तानमा पढ्दै थिए । विनीता रात्रिकालीन ड्युटी भएका वेला स्तनपानका लागि बच्चा लिएरै अस्पताल जान्थिन् । रोविनले पाकिस्तानबाट पिजी सकेर सन् २००६ मा नेपाल फर्किएपछि ३ महिना वीरमा काम गरे । केही महिनापछि काठमाडौं मेडिकल कलेजमा काम थाले ।
अर्को वर्ष विनीताको पिजी सकियो । विनीता पनि २००७ मा केएमसीमा काम गर्न थालिन् । विशेषज्ञ पढाइ सकिए पनि पछिल्लो समय चिकित्सा विधामा सबस्पेसलाइज्ड हुनुपर्छ । त्यसका लागि दुवै कुनै एकेडेमिक तालिमको खोजीमा लागे ।

रोविनको चाहना युरोअंकोलोजी थियो, विनीतालाई बालरोगतर्फ पनि ग्यास्ट्रोइन्टेरोलोजी, हेपाटोलोजी र न्युट्रिसनमा चासो थियो । त्यतिवेलासम्म नेपालमा बच्चाको प्रपर इन्डोस्कोपी नै हुँदैनथ्यो । डेडिकेटेड मान्छे नहुँदा कि ठूला मान्छेको इन्डोस्कोपी गर्नेले नै बच्चाको पनि गर्थे, कि त भारत पठाइन्थ्यो ।
जहाँ इच्छा त्यहाँ अवसर, सन् २०१० मा दुवैले आआफ्नो रुचिअनुसारको विधामा एकैपटक अप्लाई गरे । सानो छोरा २ वर्षको मात्रै थियो । परिवारको जिम्मामा बच्चा छोडेर सन् २०११ मा थप विशेषज्ञताका लागि रोविन युरोअंकोलोजी पढ्न भारतको राजीव गान्धी भए । विनीता पनि भारतकै गंगाराममा पेडियाट्रिक ग्यास्ट्रोइन्ट्रेरोलोजीमा फेलोसिप गर्न गइन् । रोविन केएमसीको सम्झौतामा थिए । विनीता जागिर छोडेरै पढ्न गइन् ।

दुवै दिल्लीमै भए पनि एकअर्काको पढाइ सेन्टर पुग्न दूरी बस वा मेट्रोमा ४५ मिनेट यात्रा गर्नुपथ्र्यो । विनीतालाई सजिलो होस् भनेर रोविनले गंगारामनजिकै अपार्टमेन्ट लिए, जहाँबाट उनी राजीव गान्धी जान दैनिक ४५ मिनेटको यात्रा गर्थे । करिअरका लागि दिल्लीमा भए पनि उनीहरू बच्चालाई भेट्न समय मिलाएर नेपाल आइरहन्थे, स्कुल छुट्टी भएका वेला बच्चालाई उतै लिएर जान्थे ।
तालिम सकेर फर्किएपछि रोविनले केएमसीमै काम थाले । अहिले उनी केएमसीमा एसोसिएट प्रोफेसर छन् । साँझको समय नर्भिकमा काम गर्छन् ।
विनीताले पढेर आएको विषय नेपालका लागि नयाँ थियो । डाक्टर पनि यो विषयमा अनभिज्ञ थिए । विनीताले धेरै र सबै क्षेत्रका बिरामीलाई सेवा दिन सकिने भएकाले कान्ति बालअस्पताल रोजिन् ।

कान्तिमा उनले ६ महिना ‘अनररी’ गरिन् । सेवाबारे जानकारी बढ्यो । बिरामी आउन थाले, तर बच्चाको सेवाका लागि चाहिने मेसिन थिएन । त्यसपछि उनले नर्भिकमा काम थालिन् । तालिम गरेर नेपाल फर्किएपछि ५ वर्षअघि उनीहरूले आरम्भ गरेको यात्रा अहिले पनि जारी छ । नर्भिकका अतिरिक्त उनी निदानमा सेवा दिन्छिन् ।
१५ वर्षको सहयात्रामा विनीता र रोविनले आर्जन गरेको ‘जीवन दर्शन’अनुसार पहिलो प्राथमिकता परिवार नै हो । उनीहरूको सहकार्य परिवारलाई दिने समयको व्यवस्थापनमा पनि छ । ‘बिहान छोराहरू स्कुल गएसँगै म चाँडै निस्किन्छु, साँझ म छिट्टै फर्किन्छु,’ विनीताले भनिन् । विनीताको ढिलो हुने दिन रोविन समय निकालेर घर आउँछन् । ‘कन्फरेन्स वा अन्यत्र जाँदा कि बच्चालाई सँगै लिएर जान्छौँ, नभए दुवैजना एकैपटक कार्यक्रम पार्दैनौँ,’ रोविनले भने, ‘परिवारलाई प्राथमिकतामा राख्ने कुरामा हाम्रो पहिलो सहकार्य छ ।’

विदेश वा स्वदेशमै पनि उनीहरू कि सबै परिवार जान्छन्, नभए दुवैजनाले बच्चा छोडेर कतै जाँदैनन् । उनीहरू कोरिया, अस्ट्रेलिया, जयपुरका कार्यक्रममा सपरिवार गए । गत वर्ष विनीताको हैदराबादमा सम्मेलन पर्दा रोविनले धरानमा भएको न्युरोलोजिकल कन्फरेन्स छोडे । ‘कम्तीमा एउटाले बच्चालाई नछोड्ने र कार्यक्रमको महत्व हेरेर सघाउने हो,’ रोविनले भने ।

छुट्टीको दिन विनीता घरको किनमेल र अन्य काममा लाग्छिन् । रोविन बिदाको पूर्ण दिन छोराहरूलाई दिन्छन् । चिकित्सा पेसामा जति अनुभव थपिँदै जान्छ, उति डिमान्ड पनि बढ्छ । ‘कतिपय अवस्थामा बिरामीलाई पनि नकार्न मिल्दैन । वार्डमा भर्ना गरेको बिरामीलाई इरेगुलर समय दिनुपर्दा एकअर्काले सपोर्ट गर्छौं,’ रोविनले भने । उनीहरूले साँझको केही समय बिरामीले केही अप्ठ्यारो पर्दा फोन गर्न छुट्याएका छन् ।विनीता र रोविनले परिवारलाई पहिलो प्राथमिकतामा राखेका छन् । ‘परिवार मिल्यो भने करिअर पनि अगाडि बढ्छ, मिलेन भने करिअर नै अलमलिन्छ,’ रोविनले थपे । अहिले बाबुआमाको समय र दैनिकीमा बच्चासमेत अभ्यस्त भइसकेका छन् ।

परिवार मात्र होइन, एकअर्काको सहकार्यले प्रोफेसनमा पनि ठूलो सहयोग मिलेको छ । बच्चामा युरोलोजिकल समस्या भएको अवस्थामा विनीताले रोविनको सहयोग लिन्छिन् । रोविन पनि बच्चासम्बन्धी समस्या आउँदा विनीतालाई नै सम्झिन्छन् । त्यसबाहेक विशेष केस नआईकन घरमा पेसाका कुरा हुँदैनन् । ‘पेसाका कुरा पनि एकअर्कामा रिलेटेड छन्, विशेष केस भए मात्र घरमा छलफल हुन्छ, अन्यथा हामी सहयात्री भएर घरको समय बिताउँछौँ,’ विनीताले भनिन् ।

घरको काम सघाउन सहयोगी छन् । तर, उनीहरू सबै कुरामा सहयोगीमा निर्भर हुँदैनन् । साँझको खानापछि सहयोगी दिदीलाई घर फर्किन हतार हुन्छ । विनीता र रोविन सँगै बसेर भाँडा माझ्नेदेखि सबै घरधन्दा सिध्याएर मात्र सुत्छन् । ‘मलाई समय मिल्यो भने खाना पकाउन मज्जा लाग्छ, कम्तीमा शनिबारको खाना मै बनाएर खुवाउँछु,’ विनीताले भनिन्, ‘उसलाई (रोविन) चिया मिठो पकाउन आउँछ ।’ राति बच्चाहरू सुतेपछि विनीता र रोविन कम्तीमा आधा घण्टा अनिवार्य कुरा गरेर बस्छन् । रातिको चिया बनाएर खुवाउने जिम्मा रोविनको भागमा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय