फलामको वस्तुबाट लौहतत्व लिने

हेल्थपोस्ट नेपाल

रगतले हाम्रो शरीरका विभिन्न भागमा आवश्यक पोषक तत्व र अक्सिजन आदि पुयार्‌याउने काम गर्छ । शरीरभित्र रगतमा सेता र राता रक्तकोष रहेका हुन्छन् । राता रक्तकोषमा हेमोग्लोबिन भन्ने लौहतत्व रहेको हुन्छ । यो लौहतत्व भोजनको माध्यमबाट हाम्रो शरीरले प्राप्त गर्ने गर्छ । यसबाहेक लौहतत्वलाई राम्रोसँग शोषण गर्न प्रोटिन र भिटामिन सीको जरुरत पर्छ । साथै फोलिक एसिड र भिटामिन बीको पनि जरुरत हुन्छ । रक्तअल्पता विभिन्न कारणले हुने गर्छ । जस्तै, खानामा पर्याप्त लौहतत्वको कमी भएमा, पेटमा जुका परिरहेमा, औलो लागेमा रक्तअल्पता हुनसक्छ ।तर मुख्यचाहिँ भोजनमा लौहतत्वको कमीले गर्दा रक्तअल्पता हुने गर्छ । कहिलेकाहीँ वंशाणुगत कारण र केही रोग विशेषले गर्दा पनि रक्तअल्पता हुने गर्छ । त्यसको उपचार पद्धति पनि भिन्दै हुन्छ ।

फलामको वस्तुबाट लौहतत्व लिने

फलामका भाँडाकुँडा आदि वस्तुबाट लौहतत्व प्राप्त गर्न सकिन्छ । लौहतत्वले रक्तअल्पतालाई रोक्ने काम गर्छ । गाउँतिर मासको दाल, साग आदि पकाउँदा फलामको कराही प्रयोग गर्ने चलन छ । त्यसैले केही मात्रामा भए पनि गाउँका मानिसहरूको शरीरले लौहतत्व प्राप्त गर्दछन् ।

प्रेशरकुकर प्रयोग गर्ने चलन सहरमा अधिक छ । प्रेशरकुकरमा मासको दाल पकाउँदा एउटा सफा फलामको सानो डल्लो सँगै राखेर पकाउन सकिन्छ । विभिन्न किसिमका अन्नहरू जस्तै फापर, कोदो, जौ आदिमा पनि फलामको तत्व रहेको हुन्छ । तर कतिपय ठाउँमा यस्ता अन्नलाई कुअन्न भनेर खाने गर्दैनन् । यस्ता धारणालाई निरुत्साहित पार्न स्वास्थ्यकर्मीहरूले पनि यस्ता स्थानीय रुपमा पाइने अनाजहरूलाई बढावा दिनुपर्छ ।

प्रोटिन भएको खानेकुरा खाने

रक्तअल्पताबाट बच्न खानामा प्रोटिनको मात्रा बढाउनुका साथै भिटामिन बी, फोलिक एसिड र लौहतत्व भएका खानेकुराको प्रयोग गर्नुपर्छ । मासु लौहतत्व र प्रोटिन दुइटैका लागि एउटा राम्रो स्रोत हो । विशेषगरी कलेजोमा पर्याप्त मात्रामा लौहतत्व पाइन्छ । तर मासु महँगो हुन्छ र कतिपय ठाउँमा दिनदिनै नपाइनसक्छ । साथै केही सांस्कृतिक र धार्मिक कारणले गर्दा पनि कतिपय महिलाहरू मासु खाँदैनन् । यस्तो अवस्थामा अन्य शाकाहारी खानाहरूबाट पनि प्रशस्त प्रोटिन प्राप्त गर्न सकिन्छ । जस्तै भटमास, विभिन्न प्रकारका दालहरू, राजमा, बोडी आदि पर्याप्त प्रोटिन भएका खाद्यपदार्थ हुन् । यी खाद्यपदार्थलाई पकाइसकेपछि खानुअघि कागती मिसाएर खानाले यसमा भएका लौहतत्व पनि शरीरमा राम्रोसँग शोषित हुन्छ ।

बच्चाबच्चीको शरीरलाई लौहतत्व कसरी पु¥याउने ?

साना उमेरका शिशुहरुलाई आमाको दूधबाट नै लौहतत्व प्राप्त हुन्छ । तर यसको लागि आमाले पनि लौहतत्व पर्याप्त मात्रामा पुगेको खाना खाने गर्नुपर्ने हुन्छ । शिशुले खाने लिटोलाई फलामको भाँडामा पकाउँदा पनि शरीरले लौहतत्व प्राप्त गर्न सक्छ । दूध उत्तम भोजन हो, तर यसमा लौहतत्व हुँदैन । त्यसैले गाई, भैंसी वा डेरीको दूध बच्चालाई दिंदा फलामको भाँडामा तताएर दिनाले त्यसबाट केही लौहतत्व प्राप्त हुन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *