मोटी गर्भवती हुँदा आपत् !

हेल्थपोस्ट नेपाल

बाँझोपनको एउटा प्रमुख कारण मोटोपन पनि हो । तर प्रायः मानिसहरु प्रजननसम्बन्धी समस्यालाइ्र्र मोटोपनसँग जोडेर हेर्दैनन् । अहिले महिलाहरुको मोटोपन बाँझोपन बढाउने एउटा कारण तत्वको रुपमा देखिएको छ । मेरो क्लिनिकमा उपचारका लागि आउने अधिकांश महिलाहरु मोटा छन् । यो हेर्दा मलाई कहिलेकाहीँ लाग्छ नेपाल गरिब देश होइन कि ? खाना बढी पाउन थालेकोले हो वा यातायात बढी प्रयोग गर्न थालेको हो, नेपाली महिलाहरुको वजन सामान्यभन्दा बढी देखिन थालेको छ । कुनै–कुनै महिला तौल निकै बढी भएर त्यसैको कारण सन्तान जन्माउन नसक्ने स्थितिमा पुगेका हुन्छन् । यस्ता महिलाको उपचार गर्दा पनि औषधिको सामान्य डोजले नपुग्ने स्थिति हुन्छ र उपचार पनि प्रभावकारी बन्दैन ।

मोटी गर्भवती हुँदा आपत् !
क्लिनिकमा आएकी एउटी महिलाको तौल १०८ केजी थियो । मैले ‘बहिनी छिटो तौल घटाउनुस्’ भनेँ । उनलाई मैले तौल घटाउने तरिकाहरु सिकाएँ । ‘तौल घटाउने सेन्टरहरुमा गए पनि हुन्छ’ भने । तौल बढी भएकै अवस्थामा गर्भ रहँदा आमा र बच्चा दुवैलाई खतरा हुन्छ । आमालाई निकै सकस पुग्छ ।
उनको खासै हर्माेनल समस्या थिएन । तौल बढी भएकाले समस्या भएको थियो । जताततै बासो जमेको थियो । उनको मोटोपनको कारणले डिम्बा विकासमा असर गर्न थालेको थियो । महिनावारी लगभग ठिकै भए पनि डिम्ब अलि साना थिए । औषधि दिएर ठीक अवस्थामा ल्याइयो ।
उपचार सुरु गरेको तीन महिना जतिमा उनको गर्भ रह्यो । तर तौल घटैकै थिएन । गर्भवती भएपछि दश–बाह्र केजी तौल बढ्ने हुन्छ । मलाई डर लाग्न थाल्यो । उनको समस्या थपियो । हात–खुट्टा सुन्निए, जता थिच्यो त्यतै सुन्निएको थियो । उनको बच्चा पाउन सक्छिन्–सक्तिनन् भन्ने भयो ।

महिना बढेसँगै उनको तौल बढ्दै ११९ किलो भयो । उनलाई गाह्रो हुँदै गयो । पेटतिरको पानीले फोक्सोलाई पनि थिच्न थाल्यो । बोसोले पनि थिचेको छ । बीच–बीचमा अस्पताल नै भर्ना गर्नुप-यो । सास फेर्न पनि गाह्रो हुन पो थाल्यो । अक्सिजन दिएर सहज बनायौँ । उनको गर्भावस्था पूरा गर्न निकै कठिन हुँदै गयो । बल्ल–बल्ल बसेको गर्भ बिग्रेला भन्ने डर भयो । आमाकै ज्यानलाई पनि खतरा थियो । ३४ औं हप्तामा अपरेसन गरेर दुई केजीको बच्चा निकालियो । यो गर्न पनि डाक्टरहरुलाई हम्मे–हम्मेभयो ।

जे भए पनि बच्चा राम्रोसँग हुर्कियो । उनी अहिले साह्रै नजिकको मित्र भएकी छन् । ‘बच्चा नै नपाउने अवस्थामा पुगिसकेको थिएँ । धन्न ! पाइयो’ भन्छिन् असाध्यै खुसी छिन् । शरीरको तौल बढ्दा उनको एउटा तहसम्म वास्ता गरिनन् पछि चाहेर पनि नियन्त्रण गर्न सकिनन् । उनको शरीरको तौल अधिक भएकै अवस्थामा गर्भरहेपछि हामी पनि निकै तनावमा परेका थियौं । उपचार ठूलो थिएन तर गर्भवती भइसकेपछि हामी हरेक दिन त्रसित अवस्थामा बस्नुपरेको थियो । तर गर्भावस्थामा रक्तचाप बढेन र किड्नी पनि शान्त अवस्थामा रह्यो । यो निकै सकारात्मक कुरा थियो । सबैमा यस्तो हुँदैन । त्यसैले गर्भवती हुने योजना बनाउँदा अरु कुरामा मात्र होइन, शरीरको तौल ठीक अवस्थामा राख्ने कुरामा पनि ध्यान दिनुपर्छ ।

दुई्र  मोटी
एउटा परिवारमा मोटोपन वंशानुगत समस्या नै थियो । परिवारका आमा–बाबु–छोरा–छोरी सबै मोटा थ्रिए । सबैको तौल आवश्यकभन्दा निकै बढी थियो । उनीहरुको खानपान नै ठीक थिएन । मोटोपनका कारण नै दिदी–बहिनीकै सन्तान भएका थिएनन् । सन्तानको चाहना गरेर पवनि गर्भ नरहेपछि दिदी उपचारका लागि क्लिनिकमा आइन् । हामीले परीक्षण ग-यौँ । उनको सन्तान नहुनुको प्रमुख कारण मोटोपन नै थियो ।

उनको तौल ९० किलो जति थियो । तौल घटाउने सुझाव दिनुका साथै अन्य उपचार सुरु गरियो तर उनले समय दिन सकिनन् । उनी लेक्चरर थिइन्, कलेजमा पढाउने, ट्युसन दिने गर्दा समय नै नहुने । फुर्सद भएका बेलामात्र उनी डाक्रकहाँ आउँथिन् । यसले गर्दा उपचार सफल हुन सकेन । हाम्रो उपचारका लागि नियमित रुपमा अलि लाम्रै समय दिनुपर्ने हुन्छ । बहिनीमा पनि त्यस्तै समस्या भएकाले परीक्षणका लागि आइन् उनी ९५ किलोकी थिइन् । हामीले उनलाई तौल घटाउने सम्बन्धमा राम्ररी सम्झायौं । उनको उपचार पनि सुरु गरियो । तौल ७ किलो जति घटाएकै अवस्थामा गर्भवती भइन् । त्यसपछि पनि उनले केही तौल घटाइन् । उनको राम्रैसँग छोरी भयो ।

युवतीहरुमा मोटोपन वृद्धि हुन थाल्यो भने बाँझोपन हुने डर धेरै हुन्छ । महिनावारी अनियमित हुन थाल्छ । अनि सिस्टहरु बन्न थाल्छ । पोलिसिस्टक रोगमा जाने सम्भावना पनि धेरै हुन्छ । युवा अवस्थामा तौल बढ्न थाल्यो भने क मगर्ने उपायहरु अपनाइहाल्नुपर्छ ।

दिदीको अझै बच्चा भएको थिएन । बहिनीले बच्चा पाएपछि उनलाई टेन्सन भयो । उनले पनि आफ्नो परिवारको प्लान गरेर तौल घटाइन् । उनको तौल पनि कम हुँदै गयो । हामीले पनि उनको नियमित उपचार ग-यौं । त्यसपछि केही महिनामा उनको गर्भ रह्यो । उनले राम्रैसँग छोरा पाइन् । बच्चा पाउँदा उनी करिब ४१ वर्षको भइसकेकी थिइन् । त्यसैले पनि बच्चा पाउन अपरेसन गर्नुपरेको थियो ।

युवतीहरुमा मोटोपन वृद्धि हुन थाल्यो भने बाँझोपन हुने डर धेरै हुन्छ । महिनावारी अनियमित हुन थाल्छ । अनि सिस्टहरु बन्न थाल्छ । पोलिसिस्टक रोगमा जाने सम्भावना पनि धेरै हुन्छ । युवा अवस्थामा तौल बढ्न थाल्यो भने क मगर्ने उपायहरु अपनाइहाल्नुपर्छ । एक्सरसाइज गर्ने र जंक फूडबाट टाढै रहनुपर्छ । मोटोपनले धेरै किसिमका रोग हुन्छन् । मोटोपनको कारणले डिम्बाशयमा पानीका फोकाजस्ता सिस्टहरुको समस्या बढी देखिएको छ पछि गएर धेरै जना डिप्रेसनमा गएको पनि भेटिएको छ ।

जिलेवी खाँदा आँखा बिग्रियो
बाँझोपनको समस्या आएपछि एउटा मारवाडी परिवारै परीक्षणका लागि आएको थियो । पत्नीको महिनावारी ठीक थिएन । पोलिसिस्टक फोकेरोगका कारण महिनावारी अनियमिट थियो । उनी निकै मोटी थिइन् । हामीले उपचार ग-यौं । केही महिनापछि उनको गर्भ त रह्यो तर गर्भावस्थामा देखिने मधुमेह उनमा देखियो । फोके रोगको उपचारका लागि दिइएको औषधिमा सुगर कन्ट्रोल गर्ने औषधि हुन्छ । सामान्यतया यसैले कन्ट्रोल गर्नुपर्ने तर भइरहेको थिएन । उनी लुकीलुकी गुलिया मिठाईहरु खाँदिरहिछन् । पतिले कहिलेकाँहीँ कुरा लगाउँथे । यो गुलियो खान्छ, भनिदिनु है डा. साब, जिलेवी खान्छ भन्थे ।
‘गुलियो नखानुस् बच्चालाई नराम्रो हुन्छ । भनी राम्रोसँग सम्झाएका थियौं । पतिले कुरा लगाएका बेला ‘आज एउटा खाए है डा. साब भन्थिन् । तर उनी लुकेर मजाले खाँदिरहिछन् ।
उनले सजिलैसँग छोरी पाइन्, तर बच्चाको आँखामा समस्या आयो । मोतीविन्दु हुँदाको जस्तै दुवै आँखामा जाली थियो । तुरुन्तै उपचार गराउनुपर्छ भनेपछि उनीहरु चेन्नाइ गएर एपोलोमा अस्पतालमा उपचार गराए । उनीहरुले निकै लामो समय उपचार गराए ।
हामीले पछि आमालाई भन्यौं ‘आरोप लगाएको नभन्नुस् तर तपाईले ज्यादा गुलियो खाएका कारण यसो भएको हो । प्रमाणित नै गर्न त अनुसन्धान नै गर्नुपर्छ तर आम मानिसमा गर्भावस्थामा देखिने मधुमेहका कारण बच्चाको आँखा, गृगौलामा क्षति पुग्छ भन्ने मान्यता रहेको छ । अनुभवले पनि तयही देखाएको छ । गर्भमा पानी सुकेर जाने, बच्चा सुक्ने, नराम्रो हुने हुन्छ । अन्य अंगमा असर गर्नसक्छ । यस्तो सम्भावना धेरै हुन्छ ।’
हाम्रो कुरा सुनेपछि उनले महसुस गरिन् । उनीहरुसँग प्रशस्त सम्पत्ति भएका कारण भनेझै अस्पतालमा गएर राम्रोसँग उपचार गराउन सके तर सबैलाई यस्तो सम्भव हुँदैन । साथै जे–जस्तो असर गरे पनि निको पार्न सकिन्छ भन्ने पनि हुँदैन ।
उनले अर्काे बच्चाको पनि चाहना राखिन् । उनको महिनावारी अनियमित नै थियो । हामीले निरन्तर उपचार गरेपछि उनी फेरि गर्भवती भइन् । गर्भावस्थाको मधुमेह भएको यसबेला हामीले सुरुदेखि नै इन्सुलिनको सुई लगाउन थाल्यौं । उनले पनि जथाभावी खाइनन्, बच्चाको वृद्धि राम्रोसँग भयो । यो उनलाई मात्र होइन अरुको लागि पनि महत्पूर्ण शिक्षा हो । बच्चा पेटमा हुँदा डायविटिज देखिएमा इन्सुलिन नै लगाउने भनेर हामीले प्रोटोकल नै बनाएका छौं । पहिलो केसमा हामीले ट्यावलेट दिएका थियौं तर त्यसले काम नगरेर बच्चामा डिफेक्ट आएकोले दोस्रोमा इन्सुलिन लगाएको हो । दोस्रो बच्चा त जन्मियो तर उसमा कुनै डिफेक्ट थिएन ।
मोटोपनले सन्तान उत्पादनमा धेरै पक्षमा असर गर्न पनि सक्छ । त्यसैले बिहे हुनुभन्दा अगाडिदेखि नै  तौललाई नियन्त्रणमा राख्न जरुरी छ । साथै सन्तान उत्पादनको योजना बनाउँदा तौल ठीक्क राख्ने बारेमा पनि सोच–विचार गर्न जरुरी हुन्छ ।

घोस्टराइटिङ्ग नेपालले प्रकाशन गरेको डा.श्रीवास्तवको पुस्तक सन्तान सुखबाट ।



Leave a Reply

Your email address will not be published.