काठमाडौं किन अझै चिसो छ, पानी किन परिरहेको छ?
काठमाडौंमा अझै गर्मी भइसकेको छैन। बिहीबार काठमाडौंको तापक्रम २४ डिग्री सेल्सियस मापन गरिएको छ।
तर, अघिल्लो वर्ष यही दिनको तापक्रम २९ देखि ३१सम्म रेकर्ड गरिएको थियो।
आधा बैशाख बितिसक्दा पनि काठमाडौंवासी न्यानो कपडा लगाएरै बस्नुपरेको छ।
यस्तो किन?
मौसमविद्हरुको छोटो उत्तर छ, ‘वर्षाका कारण।’
‘अहिले भइरहेको वर्षाका कारण तापक्रम घटेको हो’ मौसमविद् समीर क्षेष्ठ भन्छन् ‘अब वर्षा हुन छोडेपछि तापक्रम ह्वात्तै बढ्नेछ।’
उनले यस्तो वर्षाले स्वास्थ्यमा पनि असर गर्ने भन्दै पानीमा नरुझ्न आग्रह गरे।
केही दिनदेखि काठमाडौंलगायत देशका धेरै भागमा वर्षा भइरहेको छ। केही ठाउँमा असिनासमेत परेको छ।
अहिले वर्षा किन भइरहेको छ?
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको मौसम विश्लेषणअनुसार ‘हाल देशमा पश्चिमी वायु र स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश भएको देखिन्छ।’
यसैको कारण अहिले वर्षा भइरहेको छ।
यो ‘प्रिमनसुन’ हो। अर्थात् मनसुन सुरु हुनुभन्दा अघिको वर्षा। अहिले नेपालमा पश्चिमी बायु सक्रिय छ। बुधबारदेखि यो वायु नेपालमा प्रवेश गरेको हो र, साँँझपख विस्तारै यो वायु कमजोर हुँदै जानेछ।
‘यो अनपेक्षित वर्षा त होइन तर, विगत वर्षहरुको तुलनामा अलि चाँडै र धेरै दिन भइरहेको छ’ मौसमविद् समीर श्रेष्ठ भन्छन् ‘मनसुन सुरु नभएसम्म आंशिकरुपमा यस्तो भइरहन्छ।’
सामान्यतयाः जुन १०(जेठ) २८देखि नेपालमा मनसुन सक्रिय हुने गर्छ। तर, जलवायु परिवर्तनका कारण वितेको दश वर्षदेखि ठ्याक्कै यही समयमा मनसुन भइरहेको छैन।
यसपालि पनि जुन १० भन्दा पछि नै वर्षा हुनेछ। अर्थात् मनसुनी वर्षामा निर्भर रहने नेपालको खेतीपाति
(धान रोप्ने) जुन १० भन्दा केही पर धकेलिनेछ।
केही दिनअघि दक्षिण एशियाली देशहरुको जल तथा मौसम विज्ञहरुको एउटा भिडियो कन्फ्रेन्स भएको थियो। खासगरी ‘साउथ एशियन आउटलुक फोरम’को बंगलादेशमा हुने भनिएको भेला कोरोना महामारीका कारण स्थागित भएपनि भिडियो कन्फ्रेन्स भएको हो।
यो कन्फ्रेन्समा एशियाली देशहरुमा हुने मनसुनका बारेमा छलफल भएको थियो। यो छलफलबाट विज्ञहरुले नेपालमा यसवर्षको मनसुन ‘औसत’ हुने निष्कर्ष निकालेका थिए। बिगत ३० वर्षको वर्षाको अवस्थालाई ‘औसत’मा लिइन्छ। हाल नेपालमा १९१९ देखि २०१० सम्मलाई औसत मानिएको छ।
जुन १० पछि नेपालमा बंगालको खाडीबाट छिरेको वायुले पश्चिमी वायुलाई विस्तारै उत्तरतिर धकेलिदिन्छ र, यहाँ मनसुन सक्रिय हुन्छ। त्यो बेलाको बंगालको खाडीबाट आउने वायु नै मनसुनी वायु हो।
मौसम पूर्वानुमान महाशाखाले गरेको आगामी तीन दिनकाे माैसम पूर्वानुमान यस्ताे छ :
बैशाख १९ गते (शुक्रबार)
दिउँसोः देशको पश्चिमी भू-भागमा पूर्ण बदली तथा मध्य तथा पूर्वी भू-भागमा सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशको पश्चिमी पहाडी भू-भाग तथा मध्य र पुर्वी भु-भागमा सामान्य बदली र अन्य भू-भागमा आंशिक बदली रही पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा र मध्य र पुर्वी भु-भागका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
बैशाख २० गते (शनिबार)
दिउँसोः देशको पश्चिमी पहाडी भू-भाग तथा मध्य र पुर्वी भु-भागमा सामान्य बदली र अन्य भू-भागमा आंशिक बदली रही देशका पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/ असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशको पहाडी भू-भागमा सामान्य बदली तथा पुर्वी तराइ भू-भागमा आंशिक बदली रही वाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पश्चिमी र पुर्वी पहाडी भूभागका केही स्थानहरुमा र मध्य भू-भागका एक वा दुई स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
बैशाख २१ गते (आइतबार)
दिउँसोः देशको अधिकांश भू-भागमा सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशको अधिकांश भू-भागमा सामान्य बदली रही पश्चिमी र मध्य भूभागका थोरै स्थानहरुमा र पुर्वी भु-भागका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs):
देशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग /असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।