१० लाख नेपालीमा बाथरोग

हेल्थपोस्ट नेपाल

जीवनशैलीमा आएको परिवर्तनलगायत कारणले नेपालमा बाथरोगको समस्या अन्य रोगको तुलनामा निकै बढ्दै गएको चिकित्सकहरू बताउँछन् । धूमपान, बढी तौल तथा अनावश्यक मोटोपन, वंशानुगत कारण, जोर्नीमा चोट पु¥याउन सक्ने पेसा बाथरोगका कारण हुन् ।

चिकित्सकहरूका अनुसार झन्डै १० लाख नेपाली बाथरोगबाट ग्रस्त छन् । प्रत्येक ३ मध्ये १ नेपालीलाई जीवनको कुनै न कुनै क्षणमा कुनै न कुनै प्रकारको बाथरोगले दुःख दिने गरेको पाइएको छ ।

चिकित्सकका अनुसार सबै उमेर समूहका मानिस जीवनको कुनै–कुनै न कुनै समयमा बाथरोगबाट ग्रस्त हुँदै आएका छन् । पुरुषको दाँजोमा महिलाहरू अझ बढी बाथरोगको सिकार हुने गरेको तथ्यांक छ । समयमै नियन्त्रणमा नलिए बाथरोगले रोगीको आयुसमेत घटाउने चिकित्सकहरू बताउँछन् ।

नर्भिकका बाथरोग विशेषज्ञ डा. अरुण गुप्ता थोरै मात्रामा गरिने शारीरिक व्यायामले पनि बाथरोग वा कुनै पनि अस्थिपञ्जरसम्बन्धी रोगमा राहत पुर्याउने बताउँछन् । ‘शारीरिक क्रियाकलापले बिरामीलाई आफ्नो दैनिक व्यवहारमा सक्रिय रहन मद्दत पु¥याउँछ,’ डा. गुप्ताले भने । उनका अनुसार हड्डीको घनत्व घटी हुने बाथरोगजस्ता हड्डी एवम् जोर्नीका रोगबाट बच्न शारीरिक व्यायमले सहयोग पुर्याउँछ ।

नर्भिकका नायब महाप्रबन्धक, संस्थागत सञ्चार आरपी मैनालीका अनुसार कुनै प्रकारका बाथरोग वा मांसपेशी र अस्थिपञ्जरसम्बन्धी रोग लागिसकेका वा लाग्न सक्ने जोखिममा रहेका व्यक्तिले उपचारतर्फ लाग्नुपर्छ । त्यसका लागि जनचेतना महत्वपूर्ण हुने उनको भनाइ छ । यसवर्षको विश्व बाथरोग दिवसको नारा ‘विलम्ब नगरौँ, आजै गरौँ सम्पर्क’ तय गरिएको छ । यसले बाथरोगी वा बाथरोगका जोखिममा रहेका व्यक्तिका लागि समयमै गरिने चिकित्सकीय परामर्श एवम् उपचारको महत्वबारे प्रकाश पार्छ ।

बाथरोग र अस्थिपञ्जरसम्बन्धी रोग २ सयभन्दा बढी प्रकारका हुन्छन् । बाथरोग लागिसकेपछि सामान्यतया रोग लागेको भाग वा अंग दुख्ने, चलाउन कठिन पर्ने, कक्रक्क पर्ने आदि हुने गर्दछ । केही अवस्थामा भने सामान्य सुन्निने, असामान्य रातो हुने, राता–निला डामहरू देखिने, रोगले असर गरेको भागमा ज्यादा तातो वा पोलेको अनुभव हुनेजस्ता लक्षण पनि देखापर्छन् । बाथरोगले शरीरका भित्री अंग–प्रत्यंगलाई समेत असर पार्ने गर्छ । ‘बाथरोग’ शब्दले सामान्यतया सबैखाले मांसपेशी तथा अस्थिपञ्जर दुख्ने समस्यालाई समेत जनाउँछ ।

हड्डी नै कुँजो हुने बाथ (आरए), हड्डीको घनत्व घटी भएर हुने बाथ (ओए), मेरुदण्ड कुप्रो हुने बाथ (एएस)लगायत सबैखाले बाथरोग वा मांसपेशी अस्थिपञ्जरसम्बन्धी रोगले पुरुष, महिला, बाल–बालिका, वृद्धवृद्धा सबै उमेर समूहका मानिसलाई आक्रान्त पार्ने गरेको छ ।

मोटरसाइकल र्याली
विश्व बाथरोग दिवसको अवसर पारेर नर्भिक अस्पतालले मोटरसाइकल -याली निकालेको छ । विश्व बाथरोग दिवस हरेक वर्ष १२ अक्टोबरमा विश्वव्यापी रूपमा मनाइन्छ । यसवर्ष असोज २६ गते शुक्रबारका दिन परेको थियो । अस्पतालले आइतबार -याली गरेको हो । -र्यालीमा नर्भिक प्रांगणबाट सुरु भई थापाथली, त्रिपुरेश्वर, सुन्धारा, न्युरोडगेट, कमलपोखरी, कालोपुल, (सिफल), जयवागेश्वरी, गौशाला, पुरानोबानेश्वर, बबरमहल हुँदै नर्भिक प्रांगणमा आएर समापन भएको थियो । कार्यक्रममा बाथरोगीका अलावा सर्वसाधारण, चिकित्सकसहित करिब १ सय ५० जनाको टोली संलग्न थियो ।



Leave a Reply

Your email address will not be published.