भक्तपुरमा ख्वप अस्पताल बन्ने
भक्तपुर नगरापालिका–१ च्यामासिङमा कुल १४ करोडको लगानीमा ख्वप अस्पतालको निर्माण हुने भएको छ । नगरपलिकावासीको स्वास्थ्यलाई मध्यनजर गर्दै नगरपालिकाले २५ शय्याको अस्पताल निर्माण गर्न लागेको हो । नगरपालिकाले आर्थिक वर्ष ०७५/७६ को तेस्रो नगर सभामार्फत अस्पताल निर्माणका लागि १४ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । अस्पताल निर्माणका लागि हाल नगरपालिकाले आवश्यक कागजपत्रको तयारी अघि बढाएको छ । अस्पतालका लागि पाँचतले सुविधासम्पन्न भवन बनाइने नगर प्रमुख सुनील प्रजापति बताउँछन् । २५ शय्यामार्फत बिरामीलाई सेवा दिने उद्देश्यले अस्पताल भवनको ढाँचा तयार गरिसकिएको मेयर प्रजापति बताउँछन् ।
भवन निर्माण सम्पन्न भएपश्चात् निकटभविष्यमा अस्पतालले सय शय्यामा सेवा विस्तार गर्ने लक्ष्य लिएको प्रजापति बताउँछन् । अस्पतालको भवन १२ रोपनी जग्गामा निर्माण हुन लागेको हो । भक्तपुर नगरपालिकामा हाल ३ वटा जनस्वास्थ्यकेन्द्रले स्वास्थ्योपचार सेवा दिँदै आएका छन् । ती जनस्वास्थ्यकेन्द्रमा जम्मा २३ चिकित्सक कार्यरत छन् ।
विशेषज्ञ सेवामार्फत ती जनस्वास्थ्यकेन्द्रमा छाला, स्त्रीरोग, बालरोग, नाक, कान, घाँटी, हाडजोर्नीलागायतको उपचार हुन्छ । बिरामीले विशेषज्ञ सेवा लिएबापत ५०, साधारण सेवाबापत ३० तथा फलोअपमा आउँदा २० रूपैँया शुल्क तिर्दै आएका छन् । भक्तपुर नगरपालिकाभित्रका जनस्वास्थ्यकेन्द्रमा दैनिक ३ सयदेखि ३ सय ५० बिरामी उपचारका लागि आउने गरेको प्रजापति बताउँछन् ।
भक्तपुर नगरपालिकाले सुलभ मूल्यमा औषधोपचार गराउने लक्ष्यका साथ फार्मेसी सञ्चालन गरेको छ । जनस्वास्थ्यलाई मध्यनजर गर्दै नगरपालिकाले सय दिनको स्वास्थ्य कार्यक्रम सञ्चालन गरिसकेको छ । सय दिनको स्वास्थ्य कार्यक्रममा ९० स्वास्थ्यस्वयंसेविका, १० नर्सको टोलीले जनताको घरघरमा पुगेर स्वास्थ्यपरीक्षण गरेको थियो । कार्यक्रममा मधुमेह, रक्तचाप, प्रसूतिलगायत रोगका साथै बालबालिका तथा वृद्धवृद्धाको स्वास्थ्यपरीक्षण गराइएको थियो ।
I am Very glad that my Bhaktapur municipality is done so many things like providing education , Health facility to people in Bhaktapur…