डा. सुरेन्द्र यादवलाई ‘अपरहरण शैली’ मा काठमाडौं ल्याएको घटना छानबिन गर्न चिकित्सक संघको माग
नेपाल चिकित्सक संघले आफ्ना आजीवन सदस्य एवं सासंद डा. सुरेन्द्र यादवलाई अपरहण शैलीमा जवरजस्ती काठमाडौं ल्याइएको घटनामाथि छानबिनको माग गरेको छ ।
संघका महासचिव डा. बद्री रिजालद्वारा जारी विज्ञाप्तिमा राज्य संयन्त्रको दुरुपयोग गरेर जिमेवार चिकित्सकलाई बन्दाबन्दीमा अपरहणशैलीमा काठमाडौं ल्याइएको घटना दुःखद भएको उल्लेख छ ।
नवगठित जनता समाजवादी पार्टीका नेतासमेत रहेका डा. यादव पूर्व स्वास्थ्य राज्यमन्त्री एवं प्रदेश २ उच्चस्तरीय स्वास्थ्य सल्लाहकार समितिमा रहेर काम गरिसकेका व्यक्तिसमेत हुन् ।
संघले घटनाप्रति ध्यानाकर्षण भएको भन्दै महामारीसँग युद्ध मैदानमा होमिएका जिम्मेवार चिकित्सकलाई राज्य संयन्त्रको चरम दुरुपयोगको समेत आरोप लगाएको छ ।
संघले मानव अधिकारको मान्यता बिपरित मानसिक दबाब सिर्जना गर्दै अस्वाभाविक तवरबाट बन्दाबन्दीको समयमा अपहरणशैलीमा रातारात काठमाडौंमा ल्याइएको भन्दै घटनाको निन्दा पनि गरेको छ ।
‘यस्तो प्रकारको घटनामा संलग्नमाथी अबिलम्ब छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्दै कानून बमोजिम कारवाही गर्न नेपाल चिकित्सक संघ नेपाल सरकारसमक्ष जोडदार माग गर्दछ ।’ विज्ञाप्तिमा भनिएको छ ।
उनलाई संघीय समाजवादी पार्टी विभाजनका लागि नेकपाकै सासंद किसान श्रेष्ठ, महेश बस्नेत र पूर्व आइजिपी सर्वेन्द्र खनालले जवरजस्ती काठमाडौ ल्याएको आरोप डा. यादवले लगाएका छन् ।
यो घटना अपहणको भएको भन्दै सो पार्टीका उच्च नेतृत्व आज महानगरिय प्रहरी परिसरमा अपहरणसम्बन्धी उजुरी दर्ता गर्न गएपनि प्रहरीले उजुरीसमेत लिन मानेन् ।