‘सबै सम्भावना केलाएर सप्तरीमा रणनीति बनाउँदै छौं’

हेल्थपोस्ट नेपाल

उदयपुरको मस्जिदमा बसिरहेका भारतीयसहित उदयपुरमा २९ जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ। योसँगै उदयपुरमा उच्च सतर्कता अपनाइएको छ। उदयपुरसँगै जोडिएका अन्य जिल्लाहरुमा पनि संक्रमण फैलिन नदिनका लागि सतर्कता अपनाइएको छ।

यसै सन्दर्भमा गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज सप्तरीले अपनाएको सतर्कता र जोखिम नियन्त्रका प्रयासका विषयमा अस्पलातका प्रमुख/मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दाससँग हेल्थपोस्ट नेपालका अशोक अधिकारीले गरेको संवाद–

उदयपुरमा कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला सप्तरी पनि अछुतो रहेन। सप्तरीकै बाटो हुँदै उदयपुर पुगेकाहरूबाटै कोरोना फैलिँदा जिल्लाको पछिल्लो स्थिति के छ?

उदयपुर पुगेको तबलिगी जमाती समूह सप्तरीकै बाटो हुँदै गएको प्रष्ट भइसकेको छ। सप्तरीका बरमझिया र पत्तेपुरको बाटोबाटै उदयपुर गएको छ उक्त समूह। जमाती समूह बसेको क्षेत्रमा हामी र्‍यापिड डाइग्नोस्टिक टेस्ट पनि गराइसक्यौँ। कुनै–कुनैबाटको पोलिएमरेक्स चेन रियाक्सन पिसिआर पनि भयो। थ्रोट स्वाब पनि परीक्षण भयो। फत्तेपुरमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट नै गर्‍यौँ। एक जनालाई पोजिटिभ देखिएको थियो, अहिले थ्रोट स्वाब पनि नेगेटिभ भइसक्यो। बरमझियामा पनि र्‍यापिड डाइग्नोस्टिक टेस्ट नै गर‍्यौँ।

अन्य कुन–कुन स्थान ‘डेन्जरजोन’मा छन्?

उनीहरुसँगै सम्पर्क भएको सुरूङ्गा नगरपालिका पनि अलिकति संवेदनशील छ। त्यहाँ पनि पिसिआर गर्न पठाएका थियौँ। पाँच वटा स्याम्पल टेस्ट गर्न पठाएका छौँ। पाँच जनामध्ये दुई जनामा संक्रमण देखिएको छ। तीन जनाको पनि विराटनगरबाट रिपोर्ट आएपछि थाहा हुन्छ। तीनै जनाको परिवारको पिसिआर ल्याएर पठाइसक्यौँ।

सप्तरीकाे ठूलाे सभामा उनीहरु पनि सहभागी भएकाे सुनिएकाे छ, त्यो क्षेत्रमा कसरी काम गर्दै हुनुहुन्छ?

हो। जमातीहरूको ठूलो समारोह भएको वोदे बरसाइनमा पनि हामीले काम गरिरहेका छौँ। वोदे बरसाइनलाई केन्द्र मानेर र्‍यापिड डाइग्नोस्टिक टेस्ट भइराखेको छ। तर, आज या भोलिबाट पोलिएमरेक्स चेन रियाक्सन हुन्छ। पोलिएमरेक्स चेन रियाक्सन पिसिआरका लागि नेपाली सेनाको टोली आइसकेकाे छ। थ्रोट स्वाब लिएर पिसिआर के हुन्छ गराउने निर्णय भएको छ। टोली आइपुगेको छ।

अनि मुख्य सहर राजविराजको अवस्था के छ?

राजविराजमै पनि जमातीहरू आएका थिए। त्यसै कारण संवेदनशील अवस्थालाई दृष्टिगत गरेर सुरूमै सबै जमातीलाई पोलिएमरेक्स चेन रियाक्सन पिसिआर गर्‍यौँ। सबै नेगेटिभ आयो। तर पनि क्वारेन्टाइनमा राख्यौँ। अहिले उनीहरू सबैलाई घर पठाइसकिएको छ। त्यसैगरी सप्तरी जिल्लाकै डिमनबाट पनि १२–१३ जनाको स्वाब लिएर परीक्षणका लागि पठाएका थियौँ। त्यसको रिपोर्ट पनि नेगेटिभ आइसकेको छ।

एक सय २५ भन्दा धेरैको र्‍यापिड डाइग्नोस्टिक टेस्ट भइसक्यो। सप्तरी जिल्लाकै लागि त जनस्वास्थ्य कार्यालयसँग छ। काम भइरहेको छ। गजेन्द्रनारायण सिंह अस्पतालका लागि चाहिँ पर्याप्त नै छ।

केही केसमा रिपोर्ट नेगेटिभ आयो भनेर ढुक्कले बस्न सक्ने अवस्था छ?

अवश्य पनि छैन। अहिले पनि हामी मिटिङमै छौँ। नेपाल आर्मीको टिम आइसकेपछि काम कसरी सुरू गर्ने, डिमन र वोदे बरसाइनतिर कसरी काम गर्ने भन्ने विषयमा हामी बहुत जिम्मेवार र सतर्क भएर तयारी गरिरहेका छौँ। अहिले एउटा केस पोजिटिभ आइरहेको छ। काग्नेश्वरीको एउटा आरडिटीमा पोजिटिभ देखिएको छ। तर, पिसिआर टिपोर्ट पोजिटिभ भएर आज हामी डिस्चार्ज गर्दैछौँ।

अस्पतालले कोरोनाको उपचारका कसरी गरिरहेको छ?

आइसोलेसन वार्ड बनाइएको छ। अत्यावश्यक सम्पूर्ण सामग्री उपलब्ध छन्। कोही पनि संक्रमितको उपचार गर्नका लागि समस्या हुन दिएका छैनौँ। जसरी हुन्छ, स्वास्थ्य सेवा प्रवाहलाई उच्च प्राथमिकतामा राखेरै काम गरिरहेका छौँ।

कति मानिसलाई पोलिएमरेक्स चेन रियाक्सन पिसिआर गर्ने लक्ष्य राख्नु भएको छ?

अहिले संवेदनशील क्षेत्रमा जम्मा ३ सय ५० जना जतिलाई पोलिएमरेक्स चेन रियाक्सन पिसिआर गर्ने हाम्रो तयारी छ। तर, अझै ट्रेस गर्दै छौँ। कोरोना संक्रमित भएकै व्यक्तिहरू उदयपुर गए कि, उदयपुर पुगेपछि अन्य व्यक्तिबाट कोरोना भाइरसको संक्रमण भयो भन्ने विषयमा अध्ययन हुँदैछ। प्रदेश नम्बर १ बाट आएका व्यक्ति त्यहाँ पुगेपछि संक्रमण फैलियो भन्ने कुरा पनि आइरहेको छ। त्यसैले सबै सम्भावनाहरूलाई केलाएर रणनीति बनाउँदै छौँ।

अहिलेसम्म कतिको टेस्ट गर्नु भयो? कति जनालाई कोरोना पोजिटिभ देखिएको छ?

अहिलेसम्ममा सप्तरीमा दुई जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ। अर्का एक व्यक्ति पनि छन् भन्ने बुझिएको छ। संक्रमितहरू लामो समयदेखि गाइघाटै बसेको भन्ने कुरा आएको छ। तर, उनीहरूको घर सुरूङ्गा नै हो। त्यसका कारण यही लागेर उता गएका हुन् कि उता लागेर यता आएका हुन् भन्ने विषयमा खोजी गर्दै छौँ। ट्रेस गर्दै छौँ। उनीहरू उतै बसेको भनिरहेका छन् परिवारका सदस्यले। तर, परिवारका सदस्यको पिसिआर गर्न  पठाएका छौँ। सही कुरा भन्दैनन्। यिनीहरूले लगेर कहाँ राख्छन्, के गर्छन् भनेर उनीहरूका परिवारले नै वास्तविक कुरा भन्दैनन्। तर, त्यो दुई वटा परिवार र अर्को एक जना ठाकुरको परिवारको पिसिआर गर्दैछौँ।

गजेन्द्रनारायण सिंह अस्पतालमा मात्रै कतिको र्‍यापिड डाइग्नोस्टिक टेस्ट भइसक्यो? कीट पर्याप्त उपलब्ध छ?

एक सय २५ भन्दा धेरैको र्‍यापिड डाइग्नोस्टिक टेस्ट भइसक्यो। सप्तरी जिल्लाकै लागि त जनस्वास्थ्य कार्यालयसँग छ। काम भइरहेको छ। गजेन्द्रनारायण सिंह अस्पतालका लागि चाहिँ पर्याप्त नै छ।

आम मानिसमा मनोवैज्ञानिक त्रास हटाउन तपाईहरूले के कसरी काम गरिरहनु भएको छ?

नागरिकमा मनोवैज्ञानिक त्रास नहोस् भनेर सतर्कता अपनाउन र सुरक्षित बस्न हामीले आग्रह गरिरहेका छौँ। अस्पतालका फिजिसियन डा. रञ्जीत झाले पनि विशेषगरी सामाजिक सञ्जालमा लाइभ गरेर पनि कसरी जोगिने र कसरी संक्रमणसँग लड्ने भनेर जानकारी दिनुहुन्छ। परीक्षणका लागि जाने चिकित्सकहरूले पनि केही न केही सचेतता दिएरै आउनुहुन्छ। जनस्तरमा पनि सुसूचितहरू धेरै हुनुहुन्छ। केही अपवाद बाहेक उहाँहरूले धेरैभन्दा धेरै नागरिकलाई सुरक्षित बस्न अभिप्रेरित गरिरहनु भएको छ। सप्तरीमा भोलिका दिनमा संक्रमण फैलिन नदिनका लागि जनप्रतिनिधि र सबै सरोकारवालाहरू जिम्मेवारीपूर्ण ढंगले लाग्नु भएको छ।



Leave a Reply

Your email address will not be published.