पञ्चकर्म चिकित्सा विधिले कसरी घटाउछ दीर्घरोग ?

हेल्थपोस्ट नेपाल

शरीरलाई स्वस्थ राख्न सहरमा हिजोआज योग तथा व्यायाम केन्द्रमा मानिसको भिड बढ्दै गइरहेको छ । शरीरलाई फिट राख्न र निरोगी बन्न फिटनेस सेन्टरतर्फ मानिसको आकर्षण बढिरहँदा साइड इफेक्टरहित भरपर्दो परम्परागत आयुर्वेदिक चिकित्सा पद्धतिबारे भने धेरैमा अनभिज्ञता देखिने गरेको छ । आयुर्वेदअन्तर्गतको पञ्चकर्म चिकित्सा पद्धतिको अवलम्बनबाट असाध्य तथा भयावह मानिने मुटुरोग, क्यान्सर, मधुमेह, थाइराइड, दमजस्ता रोगबाट शरीरलाई बचाउन सकिने ओजस आयुर्वेद अस्पतालका डाक्टर लक्ष्मी वेलवासे बताउँछिन् ।
अयुर्वेद सिद्धान्तअनुसार शरीर शुद्धि अर्थात् शरीरमा जमेर रहेको विजातीय पदार्थलाई निष्कासन गर्ने प्रक्रिया नै पञ्चकर्म चिकित्सा हो । यो आयुर्वेदको पूर्ण उपचार पद्धति हो । ‘मानसिक, शारीरिक रूपमा सन्तुलन बनाएर राख्ने पद्धति नै पञ्चकर्म हो,’ डा. वेलवासे भन्छिन् ।
पञ्चकर्म चिकित्साअन्तर्गत ५ वटा चिकित्सा विधि पर्दछन्–
१. बमन विधि
यो विधिपूर्वक औषधि खुवाएर बान्ता गराई उपचार गर्ने विधि हो ।
२. बिरेचन विधि
यसमा पनि विधिपूर्वक औषधि खुवाएर पेट सफा गरी उपचार गरिन्छ ।
३. बस्ति विधि
यो मलद्वारबाट विभिन्न औषधि पठाएर पेट सफा गरी उपचार गर्ने विधि हो ।
४. नस्य विधि
यस विधिमा नाकबाट औषधि हालेर उपचार गरिन्छ ।
५. रक्तमोक्षण विधि
यो दूषित रगतलाई शरीरबाट निष्कासन गर्ने विधि हो । शरीरमा जमेको अशुद्ध पदार्थ जरैदेखि निष्कासन गर्ने हो भने शरीरलाई स्वस्थ राख्छ र रोगप्रतिरोधी क्षमता पनि बढाउँछ ।

नेपालमा आयुर्वेद पञ्चकर्म चिकित्सा पद्धति आजभन्दा १० वर्षअघि सुरु भएको थियो । पञ्चकर्मका कम्तीमा चारवटा विधि अपनाएमा विशेष लाभ मिल्ने डा. वेलवासे बताउँछिन् । उनका अनुसार यो विधिमा हिजोआज अत्यधिक आकर्षण बढेको छ । ‘यो एउटा मात्र विधि गर्दा पनि कमसेकम ७ दिन लाग्छ,’ उनी भन्छिन्, ‘मानिसमा जे कुरामा पनि छिटो परिणाम खोज्ने बानी छ, जुन प्रमुख समस्या हो ।’ विशेषगरी यो पञ्चशील कर्म गर्न महिला बढी आउने गरेका छन् । प्रायः ४० वर्ष उमेर कटेका र महिनावारी रोकिसकेका महिला बढी आउने गर्छन् ।

डा. वेलवासेका अनुसार पञ्चकर्म चिकित्साले रोगको मुख्य कारणको उपचार, दीर्घरोगको उपचार गरी रोगसँग लड्ने क्षमता र आयु वृद्धि गर्छ । शारीरिक एवं मानसिक क्षमता वृद्धि र विजातीय पदार्थको निष्कासनसमेत गर्छ, पाचन, रक्तवाही, नाडी संस्थानमा सन्तुलन राख्ने काम गर्छ ।

आयुर्वेद पञ्चकर्म चिकित्सा विधिद्वारा मानव शरीरमा भएका विभिन्न विषाक्त पदार्थहरू सिसा, पारो, कीटनाशक विषलगायतलाई निष्कासन गरेर शरीरलाई रोगमुक्त गर्छ । राम्रो खाना नखाँदा, विभिन्न रोग लाग्दा औषधिजन्य चिजहरू सेवन गर्दा हाम्रो शरीरले विभिन्नकिसिमका विशाक्त तत्वहरू उत्पादन गर्ने गर्छ । हाम्रो शरीरमा नकारात्मक प्रभाव पार्ने विभिन्नकिसिमका हर्मोन हुन्छन् । शरीरबाट यस्ता हानिकारक तत्व तथा हर्मोनलाई बाहिर निकालेपछि स्वतः दीर्घरोगबाट बच्न सकिन्छ । पञ्चकर्म चिकित्साले यस्ता विकारयुक्त, विषाक्त तत्वहरूलाई शरीरबाट निष्कासन गर्छ र रोगप्रतिरोधात्मक क्षमता वृद्धि गरी आरोग्य प्रदान गर्छ ।



Leave a Reply

Your email address will not be published.