काठमाडौं नेसनल अस्पताललाई सञ्चालन स्वीकृति नदिएको स्वास्थ्य मन्त्रालयको भनाइ

हेल्थपोस्ट नेपाल

स्वास्थ्य मन्त्रालयले काठमाडौं नेसनल मेडिकल कलेज शिक्षण अस्पताललाई सञ्चालन स्वीकृति नदिएको दाबी गरेको छ ।
मन्त्रालयले १७ असोजमा विज्ञप्ति जारी गरी ‘पूर्वाधार पूरा भएपश्चात् मात्र सञ्चालन स्वीकृतिको प्रक्रिया अघि बढाउन सकिने भन्ने प्रतिवेदन प्राप्त भएकोमा उक्त अनुगमन समितिले औँल्याएका अपुग पूर्वाधारहरूका बारेमा सम्बन्धितलाई जानकारी गराउने भनी निर्णय भएको’ उल्लेख गरेको छ ।
मन्त्रालयले विज्ञप्तिमा काठमाडौं नेसनललाई ३ सय शय्याको अस्पताल सञ्चालनका लागि स्वीकृतिको माग गरेकोमा स्थलगत निरीक्षण गरेको जनाएको छ । प्रतिवेदन पेस गर्न गठित समितिले स्वास्थ्यसंस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० (दोस्रो संशोधन २०७३) बमोजिम ३ सय शय्याको अस्पताल सञ्चालन गर्न विभिन्न पूर्वाधार पूरा गर्नुपर्ने सुझाब दिएको विज्ञप्तिमा उल्लेख छ ।

अस्पतालको नक्साको डिजाइन, भवन निर्माण राष्ट्रिय भवनसंहिताको मापदण्डबमोजिम भएको स्वीकृतिपत्र, वातावरणीय प्रभाव मूल्यांकन स्वीकृतिपत्र, भवन निर्माण सम्पन्नपत्र, प्याथोलोजी, रेडियोलोजी तथा जनशक्ति तथा अन्य पूर्वाधार पूरा भएपश्चात् मात्रै सञ्चालन स्वीकृति प्रक्रिया अगाडि बढाउन सकिने भन्ने प्रतिवेदन प्राप्त भएको समेत मन्त्रालयले जनाएको छ ।
यसअघि सोही प्रतिवेदनविपरीत स्वास्थ्य मन्त्रालयले अस्पताललाई सञ्चालन अनुमति दिएको सार्वजनिक भएको थियो । स्रोतकाअनुसार निर्णय बाहिरिएपछि स्वास्थ्यसचिव पुष्पा चौधरीले उच्च अधिकारीको बैठक बोलाएर पछिल्लो व्यहोराको विज्ञप्ति र पत्र तयार पार्न लगार्इ फाइल पुनः झिकाएर आफैँसँग राखेकी छिन् ।



Leave a Reply

Your email address will not be published.