सोह्रश्राद्धमा गरौँ सद्वृत्तको पालना

हेल्थपोस्ट नेपाल

अहिले पितृपक्ष अर्थात् सोह्रश्राद्ध चलिरहेको छ । आश्विन महिनाको कृष्णपक्षमा आफ्ना दिवंगत पूर्वजप्रति स्नेह, विनम्रता, आदर र श्रद्धाभाव प्रकट गरेमा पितृऋणबाट मुक्त भइने धार्मिक विश्वासका साथ पितृमोक्षका लागि गरिने पवित्र कर्म नै श्राद्ध हो । श्राद्धकालमा गीता, भागवत, पितृसूक्त, पितृसंहिता, रुद्रसूक्त, ऐन्द्रसूक्त आदि पाठ गर्नु मन, बुद्धि र कर्म तीनै कुराको शुद्धिका लागि फलदायी रहन्छ । साथसाथै, मन तथा इन्द्रियहरूलाई स्वस्थ राखिराख्न आयुर्वेदमा वर्णन गरिएअनुसारको सद्वृत्तको पालना गर्नु पनि यो समयमा स्वास्थ्यका लागि हितकर रहन्छ ।

रोगबाट बच्न, इन्द्रियहरूमाथि नियन्त्रण गर्न, बाहिरी र भित्री शुद्धता कायम गर्नसमेत सोह्रश्राद्धमा सद्वृत्त (सदाचार)को पालना गर्नु अपरिहार्य छ । आयुर्वेदका अनुसार असात्म्येन्द्रियार्थ संयोग (इन्द्रियहरूको आफ्ना विषयहरूसँग अतियोग, हीनयोग र मिथ्यायोग), प्रज्ञापराध (धीधृतिस्मृतिविभ्रंश), परिणाम (कालको अतियोग, हीनयोग र मिथ्यायोग) यी ३ शारीर र मानस रोगका कारण हुन् । आहारविहारादि कारणले शारीर दोष प्रकुपित भई शारीर रोग उत्पन्न हुन्छ भने कामक्रोधादि मानसिक कारणले मानसिक दोष (रज र तम) कुपित भई उन्मादादि मानसिक रोग उत्पन्न हुन्छ । शारीर दोष प्रकोपक आहार–विहारले मानसिक दोषलाई पनि प्रकुपित गर्छन् ।

सद्वृत्तको पालना गर्ने तरिका–
मलमार्ग तथा हातगोडा सफा राख्ने, क्रोध नगर्ने, स्वच्छ लुगा लगाउने, हित हुने वचन बोल्ने कार्यहरू गर्नुपर्छ । ब्रह्मचर्य, मित्रता, दया, हर्ष कायम राखी दान कार्यमा सदैव लागिराख्नुपर्छ । शील, धैर्य, स्मृति, बुद्धि, विद्याजस्ता गुणले सम्पन्न रही वृद्ध, देवता, गुरु, ब्राह्मणहरूको सेवामा तल्लीन रहनुपर्छ । आप्तोपदेशलाई व्यवहारमा प्रयोग गर्दै मन, वचन र आचरणमा शुद्धता ल्याउनुपर्छ । ईष्र्या, शोक, भय, क्रोध, द्वेष आदि मनका विकारहरूबाट मुक्त रही सबै प्राणीलाई आफ्ना वन्धुसरह राम्रो व्यवहार गर्नुपर्छ ।

यसरी देश, काल र आत्माको ज्ञान राख्ने, इन्द्रियहरूलाई वशमा राख्ने र सद्वृत्तको पालना गर्ने कार्यहरू धार्मिक तथा अन्य अवसरमा सबैले अनुसरण गर्न सके मानव स्वास्थ्यको संवर्धनमा आयुर्वेद वरदान साबित हुनेछ ।

सन्दर्भ सामग्री : चरकसंहिता



One thought on “सोह्रश्राद्धमा गरौँ सद्वृत्तको पालना

Leave a Reply

Your email address will not be published.