चीनबाट मेडिकल सामग्री खरिद विवादबारे प्रधानमन्त्री ओली र प्रचण्डबीच डेढ घन्टा छलफल

हेल्थपोस्ट नेपाल

नेकपा अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री केपी ओलीबीच चीनबाट आयात गरिएको स्वास्थ्य उपकरण र औषधी खरिदका विषयमा छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा दाहाल र ओलीबीच बुधबार डेढ घन्टा छलफल भएको हो। कोरोना संक्रमणसँग लड्न चीनबाट मेडिकल सामग्री तथा औषधी खरिदका विषय विवादमा आएपछि अध्यक्ष दाहालले भेटमा प्रधानमन्त्री ओलीसँग चासो राखेका हुन्।

सरकारले चीनबाट साढै १२ टन स्वास्थ्य सामग्री खरिद गरेको थियो। उक्त सामग्री आयात विवादमा आएपछि दाहालले प्रधानमन्त्रीसँग चासो राखेको दाहालनिकट स्रोतले बतायो।

यसअघि मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई विवादरहित ढंगले काम गर्न निर्देशन दिएका थिए। तथापि, सरकारले खरिद सम्झौता गरेको ओम्नी कम्पनी दर्ता नै नरहेको र उसले आयात गरेको सामग्रीमा गुणस्तरको प्रश्न उठेपछि स्वास्थ्य सेवा सम्झौता रद्द गरिसकेको छ।

ब्रेकिङ : कोरोना सामग्री खरिदसम्बन्धी ओम्नी समूहसँगको विवादित सम्झौता रद्द

‘दुई जनाबीचको भेटमा अध्यक्ष दाहालले चीनबाट खरिद गरिएको स्वास्थ्य सामग्रीबारेको विवाद र मिडियामा आइरहेका विषयमा प्रधानमन्त्रीसँग चासो राख्नुभयो,’ दाहालनिकट स्रोतले भन्यो।

दाहालले चीन सरकारबाट सामग्री आएपछि चिनियाँ राष्ट्रपति सी जिन फिङलाई पत्र लेख्दै धन्यवाद दिएका थिए। तर, चीनबाट ल्याइएको सामग्री बजारमूल्यभन्दा गुणौं महंगो र गुणस्तरको प्रश्न उठेको थियो। स्रोतले दाहालको प्रश्नमा प्रधानमन्त्रीले के जवाफ दिए भन्नेबारे स्पष्ट बताएन।

भेटमा दार्चुलालगायत भारतसँग सीमा जोडिएका क्षेत्रमा रहेका नेपालीहरूको विषयमा छलफल भएको थियो। यस्तै, गाउँघरका किसान, मजदुरलाई राहत तथा व्यवस्थापनको विषयमा छलफल चलेको स्रोतले बतायो।



Leave a Reply

Your email address will not be published.