मुटुका समस्यामा पनि हातखुट्टा सुन्निन्छ

म ३१ वर्षको भएँ । हाल जापनमा छु । मेरा दुई छोरी छन् । मेरो उचाइ ५.३ फिट, तौल ६१ केजी छ । मलाई रातको समयमा छिनछिनमा पिसाब लाग्ने समस्या छ । पिसाबथैली पोल्छ, तर, कामको समयमा पोलेको महसुस हुँदैन । जब सुत्नेवेला भयो, पिसाबथैली पोलेको महसुस हुन्छ । के कारणले होला ? जान्न पाए आभारी हुनेथिएँ । पहिले अलिक धेरै पानी पिउँथेँ । अहिले दिनको ८–९ गिलाससम्म पिउँछु ।
उत्तम गुरुङ
हाल, जापान
उत्तमजी,
तपाईंको उमेरअनुसार समस्या सुन्दा धेरै कुरामा विचार गर्नुपर्ने देखिन्छ । यस्तो समस्यामा सबैभन्दा पहिला तपाईंले मुटुको जाँच गराउनुपर्ने हुन्छ । मुटुकै समस्या हो भने तपाईंको हातखुट्टा पनि सुन्निएको हुनुपर्छ । मुटुका कारण यस्तो लक्षण देखिँदा हातखुट्टा सुन्निन्छ ।
मुटुको जाँच गर्दा केही देखिएन भने मिर्गौलासम्बन्धी जाँच पनि गर्नु आवश्यक हुन्छ । मिर्गौलाको समस्याले पनि यस्तो समस्या हुन्छ । अर्कोतिर पिसाबमा हुने संक्रमणका कारण पनि यस्तो लक्षण देखिन सक्छ । पिसाबको समेत जाँच गर्दा कुनै समस्या देखिएन भने तपाईंले मनोचिकित्सकसँग परामर्श गर्नुपर्छ ।
वयष्क वा वृद्ध अवस्थाका पुरुषमा यस्ता लक्षण देखिँदा हामी प्रोस्टेडको जाँच गराउँछौँ । प्रोस्टेडमा यस्तो लक्षण देखिन्छ । पटक–पटक पिसाब लाग्नु, पिसाब ननिख्रिएको भान हुनु प्रोस्टेडका लक्षण हुन् । तर, प्रोस्टेडमा यस्तो लक्षण राति मात्र देखिने भन्ने हुन्न, दिउँसो पनि देखिन्छ । तर, ३१ वर्षकै उमेरमा प्रोस्ट्रेड ग्रन्थिको समस्या हुन्न । त्यसकारण तपाईंले अन्य विषयको जाँच गराउनुपर्छ ।