मुटु प्रत्यारोपण गर्ने नेपाली मूलका डाक्टर ‘द प्राइड अफ अस्ट्रेलिया’ सम्मानका लागि मनोनीत

हेल्थपोस्ट नेपाल

अस्ट्रेलियाको सेन्ट विन्सेन्टमा कार्यरत वरिष्ठ मुटु सर्जन एसोसिएट प्रोफेसर डा. कुमुद धिताल ‘द प्राइड अफ अस्ट्रेलिया’ मेडलका लागि मनोनीत भएका छन् । डा. धितालले मुटु ट्रान्सप्लान्टमार्फत जीवनरक्षाको कार्यमा योगदान गरेबापत उनलाई उक्त मेडलका लागि मनोनीत गरिएको हो । डा. धिताल मरेको मुटुलाई पुनः चलाएर अस्पतालसम्म लगी सफलतापूर्वक ट्रान्सप्लान्ट गर्ने विश्वकै पहिलो चिकित्सक हुन् ।
मुटुलाई लिभरजस्तो इस्केमा आइसमा राख्न मिल्दैन । अहिले सर्जनले आधा घण्टाअघि चल्न छोडेका मुटुलाई पुनः चलाउन सक्छन् र ट्रान्सप्लान्ट गर्नुपूर्व ६ घण्टासम्म पप्प गराइरहन सक्छन् ।

जब कसैको मुटु बन्द हुन्छ, मुटुका मांसपेशीका कोषहरू तत्कालै मरेका हुँदैनन्, मात्र रगत पप्प गर्न नसक्ने भएका हुन्छन्, जसलाई मेडिकल भाषामा ‘सर्कुलेटरी डेथ’ भनिन्छ ।‘सर्कुलेटरी डेथ भइसकेको मुटुलाई एक ठाउँबाट अर्को ठाउँमा लगेर लिने मान्छेमा प्रत्यारोपण गर्नु र प्रत्यारोपणपछि मुटु लिने मान्छेले राम्ररी जीवनयापन गर्नु वास्तवमै काल्पनिक कथाबराबर थियो, जुन काम पहिले कहिल्यै भएको थिएन,’ डा. धिताल भन्छन् । सेन्ट विन्सेन्टका सर्जन डा. धितालले हालसम्म त्यस्ता २७ वटा ट्रान्सप्लान्ट गराइसकेका छन् ।

मरेको मानिसको मुटुलाई जीवित तुल्याएर अर्को मानिसमा प्रत्यारोपण गरी जीवन दिन थालिएपछि यसबारे विभिन्न अनुमान लगाउन थालिएको छ । मरेको मानिसको शरीरबाट झिकेको मुटुलाई जीवित गर्न सकिन्छ भने मानिसलाई नै पो जीवित गर्न सकिन्छ कि ? मुटु नमरेको मानिस कसरी मृत हुन सक्छ ? यसरी मृत भनेर मुटु झिकेको मानिस वास्तवमा मरेकै पो हुँदैन कि ? जस्ता प्रश्न उठ्ने गरेका छन् । तर, एनएसडब्लू कानुनले स्पष्ट भनेको छ, ‘मुटु चल्न छोडेको २ मिनेटपछि मानिस मृत हुन्छ ।’ यही व्यवस्थाले नै मृत मानिसको मुटु झिकेर अर्कोलाई ट्रान्सप्लान्ट गर्न कानुनी बाटो खुलेको हो ।

सर्जन कुमुद मुटु चल्न छोडेको पूरा २ मिनेट भएपछि मात्र मृत मानिसबाट मुटु झिक्छन् र विशेष सुरक्षा प्रणाली अपनाई पम्प गर्छन् । अस्ट्रेलियामा प्रत्यारोपणका लागि उपयुक्त मुटुको संख्या ५० प्रतिशतले बढाउनु डा. धितालको अभूतपूर्व सफलता हो ।
एसोसिएट प्रोफेसर धिताल अहिले शरीरबाहिर मुटुको जीवन बढाउने उपायहरूको खोजी गरिरहेका छन् ।



Leave a Reply

Your email address will not be published.