प्रत्येक ३ सेकेन्डमा हुँदै छ असुरक्षित गर्भपतन

हेल्थपोस्ट नेपाल

‘अबको गन्तव्य असुरक्षित गर्भपतनको अन्त्य’ भन्ने नाराका साथ चौथौ सुरक्षित गर्भपतन दिवस मनाइँदै गर्दा नेपालमा अझै पनि ५८ प्रतिशत गर्भपतन असुरक्षित तरिकाबाट हुने गरेको तथ्यांकले देखाएको छ । नेपालमा वार्षिक करिब १ लाख ८६ हजार १ सय ४४ महिलाले असुरक्षित गर्भपतन गराउने गरेको अनुमान छ । जसअनुसार नेपालमा प्रतिघण्टा २१ भन्दा बढी महिलाले असुरक्षित गर्भपतन गराइरहेका छन् । यसले नेपालमा असुरक्षित गर्भपतनको विकराल अवस्थालाई देखाउँछ ।

विश्व स्वास्थ्य संगठनले अनिच्छित गर्भलाई सुरक्षित पतन गराउनका लागि आवश्यक सीप नभएका तथा तोकिएको मापदण्डअनुसारको सुविधा नभएका स्थानमा गरिने गर्भपतनलाई असुरक्षित गर्भपतन भनी परिभाषित गरेको छ ।

नेपालमा सन् २००२ (वि.सं. २०५९)मा सरकारले गर्भपतनलाई कानुनी मान्यता प्रदान गरेको थियो । त्यसपश्चात् सन् २००४ मा सुरक्षित गर्भपतन सेवाको सुरुवात गरिएको थियो । हाल नेपालका ७७ वटै जिल्लाका सरकारी अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रहरूमा तथा केही निजीस्तरबाट सञ्चालित स्वास्थ्यसंस्थाहरूमा गर्भपतन सेवा उपलब्ध गराइएको छ । तर, ग्रामीण क्षेत्रमा भने अहिले पनि सीमित स्वास्थ्यकेन्द्रहरूमा मात्र यो सेवा उपलब्ध छ ।

विश्व स्वास्थ्य संगठनले अनिच्छित गर्भलाई सुरक्षित पतन गराउनका लागि आवश्यक सीप नभएका तथा तोकिएको मापदण्डअनुसारको सुविधा नभएका स्थानमा गरिने गर्भपतनलाई असुरक्षित गर्भपतन भनी परिभाषित गरेको छ ।

नेपालमा आर्थिक वर्ष ०७३÷७४ मा ९६ हजार ४ सय १७ महिलाले मात्र सुरक्षित गर्भपतन गराएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार समुदाय तहमा भएमा मातृमृत्युमध्ये १३ प्रतिशत असुरक्षित गर्भपतका कारणले हुने गरेको छ भने प्रजनन उमेर समूहका महिलामध्ये ४१ प्रतिशतलाई मात्रै गर्भपतनले कानुनी मान्यता पाएको जानकारी छ । नेपालमा १९ प्रतिशत महिलामा अनिच्छित गर्भ रहने गरेको तथ्यांकले बताएको छ ।

नेपालमा आर्थिक वर्ष ०६०/६१ मा ७ सय १९ सुरक्षित गर्भपतन भएको थियो । आर्थिक वर्ष ०७३/७४ मा आइपुग्दा उक्त संख्या बढेर ९६ हजार ४ सय १७ पुगेको छ । यसले प्रत्येक वर्ष सुरक्षित गर्भपतन गराउने महिलाको संख्यामा भारी वृद्धि भएको देखाउँछ ।

विभिन्न तथ्यहरूलाई विश्लेषण गर्दा नेपालमा महिलाले विविध कारणले असुरक्षित रूपमै गर्भपतन गराउने गरेको पाइएको छ । सुरक्षित रूपमा गराइएको गर्भपतनले महिलाको स्वास्थ्यमा खासै प्रभाव पर्दैन । तर, असुरक्षित गर्भपतन गराउने महिला तत्कालीन तथा दीर्घकालीन रूपमा विविध स्वास्थ्य समस्या झेल्न बाध्य हुन्छन् । असुरक्षित गर्भपतन गराउने महिलामा २० देखि ३० प्रतिशत प्रजनन संक्रमण हुने सम्भावना रहन्छ । त्यसैगरी, असुरक्षित गर्भपतन गराउने ४ महिलामध्ये १ (२५ प्रतिशत)मा जीवनभर उपचार गराउनुपर्ने स्वास्थ्य समस्या देखापर्ने गरेको छ । साथसाथै असुरक्षित गर्भपतन गराउने महिलामा शारीरिक, मानसिक, आर्थिक तथा भावनात्मक समस्यासमेत आउने गरेको विश्व स्वास्थ्य संगठनको एक अध्ययनले देखाएको छ ।

नेपालमा आर्थिक वर्ष ०६०/६१ मा ७ सय १९ सुरक्षित गर्भपतन भएको थियो । आर्थिक वर्ष ०७३/७४ मा आइपुग्दा उक्त संख्या बढेर ९६ हजार ४ सय १७ पुगेको छ ।

असुरक्षित गर्भपतनका कारण महिलामा अत्यधिक रक्तस्राव हुने, संक्रमणको समस्या, प्रजनन अंगहरूमा चोटपटक लाग्न सक्नेलगायत समस्या देखापर्छन् ।

नेपालमा सुरक्षित गर्भपतनको क्षेत्रमा गरिएका प्रयासहरू अझै पनि आफ्नो लक्ष्य हासिल गर्न पर्याप्त नभएको तथ्यांकहरूले बोलिरहेका छन् । अहिले पनि कुल जनसंख्याको २५ प्रतिशतमा स्वास्थ्य चेतनाको अभाव छ । नेपालमा अझै महिलामैत्री अन्तर्राष्ट्रिय प्रविधि ल्याउन सकिएको छैन ।



Leave a Reply

Your email address will not be published.