प्रधानमन्त्री केपी शर्मा ओली अप्रेसन थिएटरमा
मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अप्रेसन थिएटरमा लगिएको छ। त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले अस्पताल परिसरमा भेला भएर पत्रकारलाई जानकारी दिएका हुन्। प्रधानमन्त्रीको ९ बजे नै अप्रेशन थिएटरमा लैजाने तयारी भए पनि केहि रिर्पोट आउन बाँकी रहेको कारण ढिला भएको खड्गाले जानकरी दिए ।
ओलीलाई भान्जीको रुपमा अगाडी सारिएकी मिर्गौलादता ३२ वर्षीया समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दिँदैछिन् । मिर्गौला प्रत्यारोपणको अस्पतालमा नियमित प्रत्यारोपण गर्दै आएका विशेषज्ञको टोली खटिनेछन् । टोलीको नेतृत्व डा.प्रेम ज्ञवालीले गर्नेछन् । डा.ज्ञवाली नेतृत्वको टोलीमा डा. उत्तम शर्मा, डा. पवन चालिसे, डा. सुमन चापागाईं, डा. भोजराज लुइँटेल र डा. सुजित पौडेल रहनेछन् । शल्यक्रिया टोलीको पर्यवेक्षकका रूपमा एपोलो अस्पतालमा पहिलोपटक ओलीको मिर्गौला प्रत्यारोपण गर्ने हाल म्याक्स अस्पतालमा कार्यरत सर्जन डा. अनन्तकुमार रहनेछन् ।
ट्रान्सप्लान्ट फिजिसियन डा. दिव्यासिंह साहको नेतृत्वमा डा.महेश सिग्देल, डा. मुकुन्द काफ्ले, डा. रविन नेपाल र डा. मिदान्त रहनेछन् । फिजिसियन टोलीको सहयोगका लागि पनि भारतबाट एकजना चिकित्सक बोलाइएको छ। शल्यक्रियाका लागि बेहोस बनाउने, शल्यक्रिया अवधिभर मुटु, फोक्सोको काम सन्तुलिन राख्ने र नर्मल अवस्थामा फर्काउने एनेस्थेसियासँगै पोस्टअपरेटिभ केयर आइसियु प्रमुख डा. सुवास आचार्य र एनेस्थेसिया विभाग प्रमुख डा अनिल श्रेष्ठले हेर्ने तय भएको छ । चिकित्सबाहेक प्रत्यारोपणमा तालिमप्राप्त नर्स र स्वास्थ्यकर्मी पनि सँगै हुनेछन् ।प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लागिएको हो । यसअघि उनको १२ वर्षपहिले भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।