१२औँ तहमा जिम्मेवारी बाँडफाँड : श्रेष्ठलाई विभाग, सिंहलाई योजना, पोखरेललाई समन्वय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भर्खरै १२औँ तहमा बढुवा भएका तीनैजना प्रमुख विशेषज्ञको जिम्मेवारी तोकेको छ । मन्त्री भानुभक्त ढकालले शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट प्रमुख विशेषज्ञहरूको पदस्थापन गरेको मन्त्रालय स्रोतले जनाएको छ ।
गत भदौ तेस्रो सातादेखि प्रमुख विशेषज्ञविहीन रहेको अवस्थामा मन्त्रिपरिषद्ले १२ फागुनमा डा. रोशन पोखरेल, डा. दीपेन्द्ररमण सिंह र महेन्द्र श्रेष्ठलाई १२ फागुनमा १२औँ तह (विशिष्ट श्रेणी)मा बढुवा गरेको थियो । बढुवा समितिले कार्यसम्पादन मूल्यांकनका आधारमा पाँचजनाको सिफारिस गरेकोमा उच्चतम अंक प्राप्त तीनजनाको बढुवा भएको हो । तर, बढुवा गर्नुअघि मन्त्रालयले स्वास्थ्य सेवा विभागको महानिर्देशकदेखि अस्पताल प्रस्पताल प्रमुखहरूमा व्यापक जिम्मेवारी हेरफेर तथा सरुवा गरेको थियो ।
बढुवाको चार दिनअघि ८ फागुनमा स्वास्थ्य सेवा विभागको जिम्मेवारी थमाइएका श्रेष्ठलाई विभागकै पूर्ण महानिर्देशकका रूपमा पदस्थापन गरिएको छ । यसअघि उनलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको थियो । विभागको महानिर्देशकका लागि १२औँ तहको हुनुपर्ने व्यवस्थाका कारण त्यतिवेला (बढुवा भइनसकेकाले) उनलाई निमित्त जिम्मेवारी दिइएको हो ।
विभागको ६ दशकभन्दा लामो इतिहासमा श्रेष्ठ एक मात्र गैरचिकित्सक महानिर्देशक हुन् । हेल्थ इन्स्पेक्सन समूहका श्रेष्ठलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएकै दिनदेखि चिकित्सक नेताहरूले मन्त्रीको इतिहास र परम्परालाई क्रमभंग गर्ने कदमको विरोध गर्दै आएका थिए । तर, मन्त्री ढकालले पदस्थापनका क्रममा श्रेष्ठलाई पूर्ण महानिर्देशकको जिम्मेवारी दिएर आफ्नो इराधा स्पष्ट गरिदिएका छन् । नयाँ प्रयोगकै लागि उनले गैरचिकित्सकलाई महानिर्देशक बनाएको पुष्टि भएको छ । गैरचिकित्सक स्वास्थ्यकर्मीहरू गैरचिकित्सक महानिर्देशकको समर्थनमा उत्रिनुले पनि मन्त्री ढकाललाई नयाँ प्रयोग गर्न बल पुगेको देखिन्छ ।
डा. सिंहलाई नीति योजनासहित २ महाशाखा र १ एकाइको जिम्मेवारी
प्रमुख विशेषज्ञ डा. दीपेन्द्ररमण सिंहलाई नीति–योजना तथा अनुगमन महाशाखा, गुणस्तर मापन तथा नियमन महाशाखा र आपत्कालीन तथा विपद्व्यवस्थापन एकाइको जिम्मेवारी दिइएको स्रोतले जानकारी दिएको छ । बढुवाअघि उनी गुणस्तर मापन तथा नियमन महाशाखामै थिए । बढुवापछिको पदस्थापनका क्रममा उनलाई नीति–योजना र विपद्व्यवस्थापनको जिम्मेवारी थपिएको छ ।
डा. पोखरेललाई समन्वय र जनसंख्या व्यवस्थापन
अर्का प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई स्वास्थ्य समन्वय महाशाखा र जनसंख्या व्यवस्थापन तथा सूचना महाशाखाको जिम्मेवारी तोकिएको छ । यसअघि उनलाई ८ फागुनदेखि जिम्मेवारी दिइएको थिएन ।
८ फागुनअघि डा. पोखरेल विभागको निमित्त महानिर्देशकको जिम्मेवारीमा थिए । उनलाई प्रतिस्थापन गरेर श्रेष्ठलाई विभागमा लगिएको थियो । त्यतिवेला मन्त्रालय तानिएका उनी विभागको इतिहासमा गैरचिकित्सकबाट प्रतिस्थापित हुने पहिलो महानिर्देशक बनेका छन् ।