दुई वर्षदेखि मनाइएन ‘स्वास्थ्य सेवा दिवस’, बाहाना देखाउँदै टार्दै मन्त्रालय
स्वास्थ्यकर्मीका लागि विशेष मानिएको ‘स्वास्थ्य सेवा दिवस’लाई सरकारले विस्तारै वेवास्ता गर्न थालेको छ।
नेपालमा पहिलोचोटी स्वास्थ्य क्षेत्रका कर्मचारीहरुका लागि छुट्टै स्वास्थ्य सेवा ऐन आएको दिन फागुन १५लाई स्वास्थ्य सेवा दिवसका रुपमा मनाउन थालिएको हो।
तर, सरकारले विभिन्न बाहाना देखाउँदै लगातार दुई वर्ष नै यो दिवस मनाएन। त्यसअघि हरेक वर्ष मन्त्रालयले फागुन १५मा विशेष कार्यक्रम गरेर यो दिवस मनाउँदै आएको थियो।
अघिल्लो वर्ष, संघीयता कार्यान्वयनका क्रममा कर्मचारी समायोजन गर्दा पक्षपातपूर्ण हिसाबले गरिएको भन्दै सरकारी चिकित्सक संघको आन्दोलनका कारण पछिल्लो वर्ष सरकारले दिवस मनाउन पाएको थिएन । तर, यसवर्ष पनि ‘कोरोना भाइरस’को संक्रमण भन्दै स्वास्थ्य सेवा दिवसका दिन सरकारले केही पनि गरेन।
यो दिवसमा मन्त्रालयले वर्षभरि गरेको कामको आधारमा स्वास्थ्यकर्मीहरुको मूल्याङ्कन गर्दै पुरस्कृतसमेत गर्दै आएको थियो।
स्वास्थ्य सेवा ऐनमा दिवसको दिन ५ जनालाई पुरस्कार दिने व्यवस्था गरिएको छ । तर, २ वर्षयता यो दिवस नै मनाइएको छैन।
सामाजिक सञ्जालमा स्वास्थ्यकर्मीको असन्तुष्टि
स्वास्थ्यकर्मी ओमप्रसाद उपाध्यय नेपाल सरकारले दिवस नमाएकोप्रति व्यङ्ग्य गर्दै लेख्छन् ‘आज फागुन १५ गते स्वास्थ्य सेवा दिवस मनाइन्थो कुनै बेला, अहिले स्वास्थ्य सेवा ऐन पनि आईसीयू्मा छ।’
त्यसैगरी, दीपकराज भट्टले मन्त्रालयप्रति खेद प्रकट गरेका छन्। भट्ट लेख्छन् ‘स्वास्थ्य सेवा दिवसको अवसरमा सम्पूर्ण स्वास्थ्यकर्मीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु। स्वास्थ्य सेवालाई गरिएको भेदभावका लागि जिम्मेवार निकायप्रति खेद प्रकट गर्दछु।’
स्वास्थ्य मन्त्रालय भन्छ, ‘कोरोनाको संक्रमणले गर्दा…’
कोरोना संक्रमणको व्यवस्थापनमा लाग्नु परेकोले दिवस मनाउन नपाएको स्वास्थ्य मन्त्रालयका प्रवत्ता डा. विकास देवकोटा बताउँछन्। ‘औपचारिक रुपमा मन्त्रालयले दिवसको कुनै कार्यक्रम राखेन डा. देवकोटाले भने,‘अहिले सबै जना कोरानाको संक्रमणको व्यवस्थापनमा लाग्नुभएको छ।’
विभागमा ‘अनौपचारिक’
स्वास्थ्य सेवा विभागमा भने अनौपचारिक रुपमा महानिर्देशक र महाशाखाका प्रमुखहरु भेला भएर मनाइएको छ । ‘सामान्य रुपमा दिवसको शुभकामना आदान –प्रदानको दिने काम विभागमा गरियो डा.
देवकोटाले भने,‘अन्य वर्षहरुमा धुमधामले मनाइएको थियो, तर यस बर्ष विभिन्न समस्याका कारण मनाउन सकिएन।’
‘सरकारले स्वास्थ्यकर्मीको मनोबल बढाएन’
सरकारले स्वास्थ्य सेवा दिवस नमाएर स्वास्थ्यकर्मीको मनोबल घटाएको स्वास्थ्यकर्मी ओमप्रसाद उपाध्यय बताउँछन् । ‘प्रत्येक वर्ष ५ जनालाई दिवसको दिन पुरस्कार दिने गरिन्थो तर, २ वर्ष सरकारले दिवस नै मनाएन’, उपाध्ययले भने, ‘सरकारले स्वास्थ्यकर्मीको मनोबल घटाएको छ।’
संघीय निजामति ऐनमा स्वास्थ्य ऐनलाई गाभ्ने कुरा चलिरहेको छ । तर, निजामति ऐन र स्वास्थ्य ऐन लाई छुट्टा छुट्टै राख्नुपर्ने उपाध्यायको धारणा रहेको छ। ठूलो संख्यमा रहेको स्वास्थ्यका कर्मचारीको वृद्धि– विकास आफ्नै तरिकाको हुने गरेकाले स्वास्थ्य सेवा ऐन छुट्टै हुनुपर्ने उनी बताउँछन्।
‘तर, यो विषयमा कुनै छलफल भएको छैन, पहिला किन स्वास्थ्य सेवा ऐन किन ल्याउनुपरेको थियो तर, अहिले किन हटाउनुपर्यो?’ उनी प्रश्न गर्छन ।