‘मदनबहादुर’ बन्दा उहाँलाई निकै गाह्रो भइरहेको थियो
मदनकृष्ण श्रेष्ठ सम्मानित राष्ट्रिय कलाकार हुनुहुन्छ । उमेरका हिसाबले उहाँ आफ्नो कलामार्फत अझै धेरै वर्ष योगदान गर्न सक्नुहुन्थ्यो । तर, उहाँ लामो समयदेखि पार्किन्सन्स रोगबाट पीडित हुनुहुन्थ्यो । मेरो अनुभवमा ०५९ तिरै उहाँमा समस्या सुरु भएको हुनुपर्छ ।
सुरुमा उहाँलाई लेख्न, हिँड्न गाह्रो भयो । सबैभन्दा बढी स्टेजमा पर्फर्मेन्स गर्न ग्राहो भएको थियो । एकपटक मलाई स्टेज पर्फर्मेन्स हेर्न बोलाउनुभएको थियो । ‘हरिबहादुर मदनबहादुर’ नामक सो कार्यक्रममा उहाँ मदनबहादुरको भूमिकामा हुनुहुन्थ्यो ।
त्यतिवेला उहाँलाई धेरै गाह्रो भइसकेको रहेछ । निकै पछाडि मात्रै डाइलग बोल्ने, मैले रोगले अप्ठ्यारो पारिसकेको थाहा पाएँ । अब शल्यक्रिया गर्नुपर्छ भन्ने भयो । हामी न्युरो अस्पतालमा पार्किन्सन्सको यो समस्याको शल्यक्रिया सुरु गर्ने तयारीमा थियौँ । पहिलो केस उहाँबाट ग¥यौँ । त्यो पहिलोपटक गरिएको शल्यक्रियाको कुरो भयो । हामीले यसबीचमा यो अस्पतालमा यही प्रकृतिका १३ वटा शल्यक्रिया गरिसकेका छौँ ।
उहाँमा भने यो दोस्रोपटक हो । पहिलोपटक हालिएकै डिभाइसमा दोस्रोपटक नयाँ तार जोडेर शल्यक्रिया गरिएको हो । यो रोगमा मस्तिष्कको समस्या देखिएको विपरीत भागमा शल्यक्रिया गर्नुपर्ने हुन्छ ।
यो शल्यक्रियामा तार हालेर त्यसको ब्याट्री छातीको छालामुनि राखिन्छ । यो मस्तिष्कको पेसमेकर हो, अर्थात् मस्तिष्कलाई बिजुलीको सहायताले चार्ज गरेर चलाइदिने हो । जसलाई चिकित्सकीय भाषामा ‘डिप ब्रेन स्टिमुलेसन’ डिबिएस भनिन्छ । यो शल्यक्रिया नेपालको सन्दर्भमा महँगो छ । पेसमेकर डिभाइसको मात्रै १७ लाख पर्छ ।
पार्किन्सन्स उमेरको कारणले मात्रै हुने होइन । कतिपय अवस्थामा युवावस्थामै वा ४० वर्षअगाडि नै पनि यो रोग लाग्न सक्छ । वृद्धावस्थामा सबैलाई हुन्छ भन्ने पनि होइन, तर हुने सम्भावना बढी हुन्छ ।
उहाँ पनि कम उमेरमा नै यसको सिकार हुनभयो । शल्यक्रियापश्चात् उहाँ आजै डिस्चार्ज हुनुभएको छ । उहाँ निकै खुसी र उत्साहित पनि हुनुभएको छ । केही दिनमै रेकर्डिङमा जान्छु भन्नुभएको छ ।