भरतपुर क्यान्सर अस्पतालमा प्रचण्डको सिफारिस पन्छाएर नयाँ अध्यक्ष, यसरी भयो डा. लामिछानेको इन्ट्री
सरकारले एक वर्षभन्दा लामो समयदेखि रिक्त भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पताल सञ्चालक समितिको अध्यक्षमा डा. निर्मल लामिछानेलाई नियुक्ती गरेको छ ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालको सिफारिसमा सोमबार बसेको मन्त्रिपरिषद्ले डा. लामिछानेलाई अध्यक्ष नियुक्त गरेको हो । पूर्वस्वास्थ्यमन्त्री उपेन्द्र यादवले अध्यक्षका लागि गरेको सिफारिस फिर्ता लिएर ढकालले डा. लामिछानेको सिफारिस गरेका थिए ।
डा. लामिछानेको नियुक्तले क्यान्सर अस्पतालमा लामो समयदेखि रहेको नेकपाका अध्यक्ष दाहालको पकड कमजोर बनेको छ । दाहालले आफूले सिफारिस गरेको उमेदवारलाई पार्टीकै अर्का अध्यक्ष रहेको मन्त्रिपरिषद्बाट अनुमोदन गराउन नसकेका मात्रै होइन्, आफूले नचाहेका मान्छेलाई अध्यक्षको रुपमा देख्नुपरेको छ ।
लामो समय अध्यक्ष नुहँदा अध्यक्षको अनुपस्थितिमा महानगर प्रमुखले छोटो अवधिका लागि जिम्मेवारी पाउँने व्यवस्थाका दुरुपयोग गर्दै छोरी समेत रहेकी रेणु दाहालले नै अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । नयाँ अध्यक्षसँग मेयर दाहालको पकड पनि कमजोर हुने निश्चित छ ।
ऐनले अध्यक्ष बन्नका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्र विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी क्यान्सर रोगका क्षेत्रमा कम्तीमा १५ वर्ष काम गरेको चिकित्सक हुनुपर्ने व्यवस्था गरेको छ । क्यान्सररोग विशेषज्ञ नभएको अवस्थामा मान्यताप्राप्त शिक्षणसंस्थाबाट चिकित्साशास्त्र विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी स्वास्थ्य क्षेत्रमा कम्तीमा २० वर्षको अनुभवप्राप्त वरिष्ठ चिकित्सकमध्येबाट अध्यक्ष बनाउन सकिन्छ ।
अध्यक्षका लागि नेकपा अध्यक्ष दाहालले न्यौपानेलाई चाहेका थिए । त्यसबीचमा डा. विदुर वस्तीले समेत पहुँच बढाएपछि ढकालले तेस्रो पात्रको रुपमा यसअघि अस्पतालको डेपुटी डाइरेक्टर रहेका न्यूरो सर्जन लामिछानेलाई छानेका थिए ।
चर्चामा रहेका अन्य पात्रको तुलनामा डा. लामिछाने पार्टीलाई समर्थन गरे पनि सफ्टलाइनर मानिन्छन् । तर, उनीभन्दा अन्य धेरै चिकित्सक अस्पतालमा वरिष्ठ भएकाले उनलाई नेतृत्व सम्हाल्न कठिन हुनसक्ने बुझाइ चिकित्सकहरुको छ । नेकपाभित्रको आन्तरिक राजनीतिक खिचातानीमा फरक दल भएपनि दाहालसँग निकट मानिने पूर्वस्वास्थ्यमन्त्री उपेन्द्र यादवले दाहाल अनुकूलता र पकड जोगाइदिन उनकै सिफारिसमा डा. विजय न्यौपानेको सिफारिस गरेका थिए । तर, ओलीले त्यसलाई मन्त्रीपरिषद्मै लान दिएनन् । यादव बाहिरिएसँगै ढकाल मन्त्री बनेपपछि ओलीले चाहेजस्तै हुने अवस्था आएको हो । योसँगै अस्पतालको १४ सदस्यीय सञ्चालक समिति हालै रिक्त ६ सदस्य नियुक्ति पनि दाहालले चाहेजस्तो नहुने स्पष्ट भएको छ ।
स्रोतका अनुसार अध्यक्षका लागि नेकपा अध्यक्ष दाहालले न्यौपानेलाई चाहेका थिए । त्यसबीचमा डा. विदुर वस्तीले समेत पहुँच बढाएपछि ढकालले तेस्रो पात्रको रुपमा यसअघि अस्पतालको डेपुटी डाइरेक्टर रहेका युरो सर्जन लामिछानेलाई छानेका थिए । नयाँ नियुक्तिको प्रभाव र असर आगामी वैशाखदेखि रिक्त हुने कार्यकारी निर्देशक को बन्ने भन्ने सन्दर्भलाई समेत प्रभाव पार्ने चिकित्सकहरु बताउँछन् । गत असोजमा तत्कालीन अध्यक्ष डा. प्रकाशराज न्यौपानेको कार्यकाल सकिएलगतै पद रिक्त छ ।