अझै ५ हजार स्वास्थ्यकर्मीको समायोजन अन्योलमा, ४ हजार गुनासा सम्बोधन गर्न नसकिने मन्त्रालयको पुष्टि

हेल्थपोस्ट नेपाल

स्वास्थ्य सेवाका कर्मचारीको समायोजन प्रक्रिया थालिएको एक वर्ष बितिसकेको छ । गत वर्षको पुसदेखि सुरु गरिएको समायोजन अझै टुंगो पुग्न सकेको छैन । सुरुवातदेखि नै सरकार र कर्मचारी दुवैको टाउकोदुखाइको विषय बनेको समायोजनले तत्कालै निकास पाउने संकेत देखिएको छैन ।

पर्याप्त अध्ययन र तयारीविना सतही रूपमा समायोजन गरिँदा एकातिर कर्मचारीले अनावश्यक दुःख पाएका छन् भने आर्कोतर्फ समायोजन त्रुटि भएका कर्मचारीको व्यवस्थापन जति पछि भयो उति नै जटिल बन्दै गएको छ । समायोजनले कतिपय स्वास्थ्यसंस्थालाई स्वास्थ्यकर्मीविहीन बनाइदिएको छ भने कर्मचारी गुनासो लिएर मन्त्रालयका कोठा चहारिरहेका छन् ।

समायोजन सूची सार्वजनिक गरेको पनि एकवर्ष हुनै लागेको छ । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकिएको ठाउँमा कर्मचारी खटाउन सकिरहेको छैन । मन्त्रालयमा अझै पनि समायोजनसम्बन्धी गुनासो लिएर आउने कर्मचारीको भिड देख्न सकिन्छ । यद्यपि, मन्त्रालयले थप गुनासो नलिने निर्णय गरेको छ । १३ माघमा सचिवस्तरीय निर्णयबाट मन्त्रालयले समायोजनमा त्रुटि भएका, समायोजन नै नभएका र फाजिलमा रहेका कर्मचारीको बाहेक गुनासो दार्ता तथा सम्बोधन नगर्ने भएको हो ।

केही महिनादेखि समायोजनको काम लगभग पूरा भइसकेको दाबी गर्दै आएको मन्त्रालयले पछिल्लोपटक अझै करिब ५ हजार कर्मचारीको समायोजनमा समस्या रहेको स्विकारेको छ । दुई महिनाअघि स्वास्थ्यको नेतृत्वमा आएका मन्त्री भानुभक्त ढकालले पद तथा तह नमिलाई समायोजन गरिएकाले मिलाउन विशेष व्यवस्था गर्नु आवश्यक रहेको बताउँदै आएका छन् ।

उता मन्त्रालयका प्रवक्ता तथा गुनासो सम्बोधन समितिका संयोजक महेन्द्र श्रेष्ठ भने स्वास्थ्यकर्मीको समायोजन प्रक्रिया अन्तिम चरणमा पुगेको बताउँछन् । तीन–चार महिनादेखि यही दोहोर्याउँदै आएका श्रेष्ठसित समायोजन निष्कर्षमा पुग्ने विषयमा ठोस जवाफ छैन ।

४ हजार कर्मचारीको गुनासो सम्बोधन गर्न सकिँदैन
समायोजनमा असन्तुष्टि जनाउँदै स्वास्थ्य सेवाका करिब ८ हजार कर्मचारीले मन्त्रालयमा गुनासो दर्ता गराएका थिए । तर, हालसम्म ३ हजारको मात्र गुनासो सम्बोधन भएको मन्त्रालयले जनाएको छ । बाँकी ५ हजार गुनासोमा १ हजार मात्र सम्बोधन गर्न सकिने अवस्थामा रहेको प्रवक्ता श्रेष्ठ बताउँछन् ।

‘८ हजारहाराहारीमा स्वास्थ्यकर्मीले गुनासो दर्ता गराएका थिए, जसमा ५ हजारको गुनासो सम्बोधन हुन बाँकी छ । तीमध्ये ४ हजारको गुनासो सम्बोधन गर्न सकिँदैन,’ प्रवक्ता श्रेष्ठले भन्छन्, ‘१ हजारको मात्र गुनासो सम्बोधन गर्न सक्छौँ ।’

सम्बोधन गर्न नसकिने ४ हजार गुनासोमा स्वास्थ्यकर्मीले विटक क्षेत्रमा समायोजन भएको भन्दै सुगम क्षेत्रमा मिलाइदिन माग गरेका छन् । ती कर्मचारीले समायोजन माग गरेका क्षेत्रमा दरबन्दीभन्दा बढी कर्मचारी रहेकाले ती गुनासो सम्बोधन गर्न नसकिने श्रेष्ठले बताए । अर्कोतर्फ खटाएको ठाउँमा कर्मचारी नजाँदा त्यहाँको स्वास्थ्यसंस्था नराम्ररी प्रभावित बनिरहेको छ । कतिपय स्वास्थ्यसंस्था त स्वास्थ्यकर्मीविहीन बनिरहेका समाचार आइरहेका छन् ।

समायोजनको उल्टो असर, विकट क्षेत्रका गाउँपालिका स्वास्थ्यकर्मीविहीन
कर्मचारी समायोजनले स्वास्थ्य क्षेत्रमा उल्टो असर निम्त्याएको छ । विकट क्षेत्रका गाउँपालिका स्वास्थ्यकर्मीविहीन बनिरहेका छन् । त्यहाँका सबैजसो दरबन्दी खाली हुँदा स्थानीय स्वास्थ्यसेवाबाट वञ्चित छन् ।
समायोजनमा घरपायक तथा आफूले चाहेको स्थान रोज्न दिइएपछि अधिकांश कर्मचारीले सुगम क्षेत्र रोज्दा विकट क्षेत्रमा स्वास्थ्यकर्मीको अभाव हुन पुगेको हो । कमै संख्यामा पठाइएकाहरू पनि गुनासो दर्ता गरेर मन्त्रालय घुमिरहेकाले कतिपय गाउँपालिका स्वास्थ्यकर्मीविहीन छन् । कतिपयमा गाउँपालिकामा दरबन्दी भएर पनि एकजनाको पनि समायोजन गरिएको छैन ।

विकट क्षेत्रका गाउँपालिकाहरूमा धेरैजसो अनमी दरबन्दी रिक्त छन् ।

अनमीविहीन गाउँपालिका
– चामे गाउँपालिका, मनाङ
– मनाङ ङिस्याङ गाउँपालिका, मनाङ
– नार्पाभूमि गाउँपालिका, मनाङ
– वसावरिया गाउँपालिका, पर्सा
– पर्सा गाउँपालिका, पर्सा
– साइपाल गाउँपालिका, बझाङ
– अदानचुली गाउँपालिका, हुम्ला
– छार्काताङसोङ गाउँपालिका, डोल्पा
– बाह्रगाउँ मुक्ति क्षेत्र गाउँपालिका, मुस्ताङ

समायोजनमा स्वास्थ्यकर्मीले सुगम क्षेत्र रोजेपछि मनाङ, मुस्ताङ डोल्पा, हुम्ला, बझाङ, पाँचथर, भोजपुरका केही गाउँपालिकामा अनमीको दरबन्दी खाली छ ।

मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा १५ र नार्पाभूमि गाउँपालिकामा ५ अनमी पद रिक्त छन् । बझाङको साइपाल गाउँपालिकामा ३ वटा अनमी दरबन्दी रहेकोमा ३ वटै रिक्त छन् । त्यसैगरी, तुम्बेवा गाउँपालिका पाँचथरमा ८ र हतुवागढी गाउँपालिका भोजपुरमा १८ दरबन्दी खाली छन् ।

५–५ वटा अनमी दरबन्दी रहेको हुम्लाको अदानचुली गाउँपालिका र डोल्पाको छार्का ताङसोङ गाउँपालिका अनमीविहीन छन् । ९–९ जनाको दरबन्दी रहेका पर्साको वसावरिया गाउँपालिका र पर्सा गाउँपालिकामा पनि सबै अनमी पद रिक्त छन् ।

सबैले सुगम क्षेत्र रोजेका कारण दरबन्दी रिक्त हुने अवस्था आएको मन्त्रालयले जनाएको छ । सबै दरबन्दी स्थानीय तहमा रिक्त रहेको र त्यस्ता दरबन्दीमा स्थानीय तहले करार सम्झौता गरेर स्वास्थ्यकर्मी नियुक्त गर्न सक्ने हुँदा खासै समस्या नहुने प्रवक्ता श्रेष्ठ बताउँछन् ।

कस्ता गुनासा सम्बोधन हुन्छन् ?
दरबन्दी खाली भएको स्थानमा पदस्थापन रोज्ने स्वास्थ्यकर्मीको गुनासो सम्बोधन हुने मन्त्रालय बताउँछ । त्यसैगरी, स्थानीय तहमा समायोजन भएका तर प्रदेश तथा केन्द्रमा आवश्यक विज्ञ स्वास्थ्यकर्मीको पनि गुनासो सम्बोधन हुने प्रवक्ता श्रेष्ठ बताउँछन् ।

पहाडी र हिमाली जिल्लाहरूमा जहाँ दरबन्दी खाली छन्, जहाँ जान पाऊँ भनेर कर्मचारीले माग गरेको अवस्था छ, त्यस्ता कर्मचारीलाई प्रेरित गरेर खाली हुने ठाउँबाट पदस्थापन गर्ने मन्त्रालयको योजना छ ।

गुनासोको गहिरो अध्ययन गरेर समस्या समाधान नहुने हिसाबको गुनासो भए यो कारणले सम्बोधन गर्न सकिँदैन भनेर मन्त्रालयले जानकारी दिने मन्त्री ढकालको भनाइ छ । यसपछि पनि समस्या बाँकी भएमा डाक्टर तथा स्वास्थ्यकर्मीको दरबन्दी सिर्जना गरेर अत्यावश्यक भएको क्षेत्रमा सेवा दिलाउने गरी पदस्थापन गर्ने योजनामा मन्त्री ढकाल छन् ।



2 thoughts on “अझै ५ हजार स्वास्थ्यकर्मीको समायोजन अन्योलमा, ४ हजार गुनासा सम्बोधन गर्न नसकिने मन्त्रालयको पुष्टि

  1. जो सारिरिक अपांग छ पाहाड मा समायोजन भाको छ कसरी जानू हिने नसकने कर्मचारी को गुनासो संसोधित हुदैन ??????????????????????????

  2. समायोजनमा दरबन्दी भन्दा बढी कर्मचारी पठाइएका तह मा पदस्थापन हुन नसकी कामकाज मा रहेका कर्मचारीहरु को तलब भत्ता सम्बन्धित तहले बारम्बार ताकेता गर्दा पनि किन पाई रहेका छैनन् ???

Leave a Reply

Your email address will not be published.