टेकु अस्पतालले मनायो ८६औँ वार्षिकोत्सव, सातै प्रदेशमा सरुवारोग अस्पताल स्थापना गर्न माग
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले सातै प्रदेशमा आफ्ना शाखा खोल्न सरकारसमक्ष माग गरेको छ । अस्पतालको ८६औँ वार्षिकोत्सव समारोहमा अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग यस्तो माग गरेका हुन् ।
देश संघीयतामा गइसकेको अवस्थामा काठमाडौंमा मात्र सरुवारोग अस्पताल हुँदा सेवाग्राहीले सास्ती खेप्नुपरिरहेको बताउँदै उनले सरकारसँग यस्तो माग गरेका हुन् । ‘प्रदेशमै सरुवारोग केन्द्र स्थापना हुँदा सबैलाई सहज र सुलभ,’ उनले भने ।
अस्पतालमा हालसम्म जम्मा चारवटा आइसियू बेड भएकाले सेवाप्रवाहमा समस्या भइरहेको उनले बताए । उपचारका लागि अत्यावश्यक उपकरण, प्रविधि तथा अन्य स्रोत–साधनको चरम अभाव झेल्दै अस्पतालले सेवा दिइरहेको उनको गुनासो छ ।
‘घना बस्तीको बीचमा अस्पताल रहेकाले समाजमा रोगको जोखिम फैलिने सम्भावना पनि उत्तिकै छ,’ उनले भने, ‘त्यसैले रोग परीक्षणका लागि सरकारले चाँडै छुट्टै स्थानमा अस्पताल निर्माण गर्नु आवश्यक छ । यसका लागि सरकारले अस्पताललाई कम्तीमा सय रोपनी जग्गा प्रदान गर्नुपर्नेछ ।’ उनले जग्गा उपलब्ध गराइदिन सरकारलाई आग्रह गरे ।
भूकम्पले क्षतिग्रस्त भई रेड स्टिकर लागेको भवनमा कर्मचारी बस्न बाध्य भएको बताउँदै निर्देशक डा. पाण्डेले अस्पताल भवनको चाँडो पुनर्निर्माण गरिदिनसमेत आग्रह गरे ।
वार्षिकोत्सव कार्यक्रममा स्वास्थ्य तथा जनसंख्याराज्यमन्त्री नवराज राउतले बजेटको सही सदुपयोग गर्न महाशाखा प्रमुखहरूलाई आग्रह गरे । निःशुल्क प्रदान गरिने औषधि गुणस्तयुक्त भए–नभएको चेकजाँच गर्नुपर्ने उनको भनाइ छ । ‘हामीले वितरण गरिहेका औषधिले नै सेवनकर्तालाई बिरामी बनाइरहेको छ,’ उनले भने, ‘यस्तो अवस्थाको अन्त होस् ।’
मन्त्री राउतले गुणस्तरीय सेवाप्रवाह हुन नसक्नुको अपजस कर्मचारीमाथि तेर्स्याए । सरकारी कर्मचारीले अझै पनि आफ्नो सम्झेर काम गर्ने नगरेको मन्त्री राउतको आरोप छ । ‘सरकारी काम, कहिले जाला घाम’को प्रवृत्ति कर्मचारीमा हाबी रहेको उनले बताए ।
स्वास्थ्य मन्त्रालयका सचिव खगराज बरालले सरुवारोग बढ्दो क्रममा रहेका कारण अस्पतालको स्तरोन्नति गर्नुपर्ने बताए । उनले जलवायु परिवर्तन हुँदा अकस्मात् नयाँ भाइरस आइरहेको बताए । यस्ता आकस्मिक रोगसित लड्न अस्पताललाई बलियो बनाउनुपर्ने उनको भनाइ थियो । सरुवारोग अस्पतालमा काम गर्ने कर्मचारीले जोखिम मोल्नुपर्ने भएकाले उनीहरूलाई विशेष भत्ता उपलब्ध गराउनुपर्ने उनले बताए ।
कार्यक्रममा अस्पतालका भावी योजनासहित विगत वर्षमा अस्पतालले गरेको सेवाप्रवाहको विवरण प्रस्तुत गरिएको थियो । आगामी दिनमा सेवालाई थप प्रभावकारी बनाउने अस्पताल प्रशासनले जनाएको छ । नयाँ भवन निर्माण निर्माण, यन्त्रउपकरण खरिददेखि अस्पताल स्थानान्तरणसम्मको योजना अस्पतालले अगाडि सारेको छ ।
वार्षिकोत्सवका अवसरमा अस्पतालले २५ वर्षभन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मानसमेत गरेको छ ।
अस्पतालमा बिरामीको चाप थपिँदै गएको तथ्यांकले देखाएको छ । अस्पतालको तथ्यांकअनुसार पछिल्ला ५ वर्षमा ३ लाख ८१ हजार ८४ जनाले ओपिडी सेवा लिएका छन् । आर्थिक वर्ष ०७१/७२ मा अस्पतालबाट ३१ हजार ७ सय ७० जनाले ओपिडी सेवा लिएका थिए । त्यसैगरी, ०७२/७३ मा ५१ हजार २ सय २, ०७३/७४ मा ६५ हजार २ सय ५, ०७४/०७५ मा ९४ हजार ४ सय ७७ र ०७५/७६ मा १ लाख ३ हजार ३ सय ५० जनाले ओपिडी सेवा लिएका थिए ।
आकस्मिकतर्फ भने पछिल्ला ५ वर्षमा ३० हजार ९ सय १० जनाले सेवा लिएको अस्पतालले जनाएको छ ।