चीनमा कोरोना संक्रमणबाट मृत्यु संख्या ९ पुग्यो, त्रिभुवन विमानस्थलमा उच्च सतर्कता तर छैन परीक्षण प्रविधि

हेल्थपोस्ट नेपाल

चीनमा फैलिरहेको ‘कोरोना’ भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । चिनियाँ अधिकारीका अनुसार अहिलेसम्म ४ सय ५० जनामा भाइरसको संक्रमण पाइएको छ भने प्रतिदिन संक्रमितको संख्या बढ्दो छ । अझ ब्रिटेनका विशेषज्ञले त चिनियाँ विशेषज्ञले दिएको तथ्यांकभन्दा संक्रमितको संख्या निकै बढी भएको अनुमान लगाएका छन् ।

मानिसबाट मानिसमा सर्ने जोखिम उच्च भएका कारण यो भाइरस नेपालमा पनि भित्रिने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन विशेषज्ञले सुझाएका छन् । हालसम्म चीनका विभिन्न राज्य, जापान, थाइल्यान्ड र अमेरिकामा भेटिएका सबै संक्रमित युहान राज्य गएर आएको पाइएको छ । यस्तोमा युहान गएर आएका नेपाली र त्यहाँबाट आएका पर्यटक सबैमा विमानस्थलमै नमुना परीक्षण गर्नुपर्ने विशेषज्ञको सुझाब छ ।

युहानबाट आएका एक नेपाली युवामा कोरोना भाइरस परीक्षणका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नमुना हङकङ पठाएको छ । विश्व स्वास्थ्य संगठनको समन्वयमा मंगलबार हङकङको युनिभर्सिटीमा नमुना परीक्षणका लागि पठाएको महाशाखाका डा. हेमन्त ओझाले जानकारी दिए । ती युवामा भाइरस भए–नभएको प्रमाणित गर्न ओरोफ्यान्जिय स्वाब (मुखबाट लिइने) स्याम्पल परीक्षणका लागि बाहिर पठाएको उनले बताए ।

‘केही दिनमै स्वदेशमै परीक्षणको व्यवस्था मिलाउँछौँ’
भाइरस भित्रिने उच्च जोखिम भए पनि हालका लागि परीक्षण भने नेपालमा सम्भव छैन । यद्यपि, स्वदेशमै परीक्षणको व्यवस्था मिलाउने तयारी भइरहेको महाशाखाले जनाएको छ ।  ‘आकस्मिक रूपमा देखिएको कोरोना भाइरस परीक्षण गर्ने प्रविधि नेपालमा छैन,’ डा. ओझाले भने, ‘नेपालमा पनि सतर्कता अपनाउनुपर्ने हुँदा केही समयमा स्वदेशमै परीक्षणको व्यवस्था मिलाउँदै छौँ ।’

संक्रमणपछि मृत्युको जोखिम रहेको कोरोना भाइरसको नमुना परीक्षणका लागि आवश्यक सामग्री केही दिनभित्रै नेपाल आउने भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले केही दिनमै शंकास्पद अवस्थाका बिरामीको नमुना परीक्षण स्वदेशमै गर्ने व्यवस्था मिलाइने जानकारी दिएको छ । परीक्षणका लागि आवश्यक केमिकल विश्व स्वास्थ्य संगठनको समन्वयमा ल्याउन लागिएको र एक साताभित्र सम्पूर्ण परीक्षण सुरु हुने प्रयोगशालाले जनाएको छ । भाइरसहरूको परीक्षण पोलिमराइजेसन चेन रियाक्सन प्रविधि (पिसिआर) बाट गरिन्छ ।

कोरोना भाइरस मानिसबाट मानिसमा संक्रमण हुने भएकाले चीनबाट आउने संक्रमितबाट नेपालमा पनि फैलिने सम्भावना छ । चीनबाहेक पनि अन्य देशमा भाइरस फैलिसकेको अवस्थामा नेपालले उच्च सतर्कता अपनाउनुपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोला बताउँछन् ।
‘कोरोनाभाइरसका कारण मानिसमा ज्वरो आउने, घाँटी दुख्ने, श्वासप्रश्वासमा समस्या आउने, रुघाखोकी लाग्नेलगायत समस्या देखिन्छन्,’ डा. बास्तोला भन्छन्, ‘भाइरसले निमोनिया निम्त्याई श्वासप्रश्वासमा समस्या उत्पन्न भई संक्रमितको मृत्युसमेत हुन्छ ।’

विमानस्थलमा उच्च सतर्कता, ५ स्वास्थ्यकर्मी परिचालित
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नेपालमा कोरोना भाइरसको संक्रमण हुन नदिन उच्च सतर्कता अपनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कलाई सक्रिय बनाइएको महाशाखाले जनाएको छ । विदेशी पर्यटन तथा स्वदेश फर्किएका नेपालीको स्वास्थ्यजाँचका लागि विमानस्थलमा विशेषज्ञ चिकित्सकसहित ५ जना स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको डा. ओझाले जानकारी दिए ।

जोगिन के गर्ने ?
श्वासप्रश्वासको माध्यमबाट सर्ने भएकाले यो संक्रमणबाट जोगिन सकेसम्म भिडभाडमा जान नहुने विज्ञहरू बताउँछन् । भिडभाडमा जानैपरेमा मास्कको प्रयोग अनिवार्य गर्नुपर्छ । साबुनपानीले हात धुन तथा खानेकुरा राम्रोसँग पकाएर खान डा. बास्तोलाको सुझाब छ ।

हाल फैलिएको भाइरस सन् २००२–००३ मा चीन र हङकङमा प्रकोपका रूपमा फैलिएको सार्स भाइरसकै एक प्रजाति हो । कोरोना भाइरस थुप्रै प्रकारका हुने भए पनि मानिसमा भने यसअघि यसका ६ प्रकारको संक्रमण पाइएको छ । नयाँ देखिएको भाइरसलाई मानवमा संक्रमणका हिसाबले कोरोनाको सातौँ प्रकारका रूपमा हेरिएको छ ।

जेनेटिक कोडको विश्लेषणबाट यो भाइरस सार्सको तुलनामा मान्छेमा चाँडो संक्रमण गर्नेखालको रहेको पाइएको छ । सार्सका कारण चीनमा २००२ मा ८ हजार ९८ जनामा संक्रमण देखिएको थियो भने ७ सय ७४ जनाको यही भाइरसका कारण ज्यान गएको थियो । पछिल्ला वर्षहरूमा सार्सको संक्रमण देखिएको छैन भने कोरोनाकै अर्को प्रकार ‘माउस’ले भने निरन्तर संक्रमण गरिरहेको छ । यो सातौँ प्रकार सार्स र माउसभन्दा पनि छिटो सरेको पाइएकाले चिन्ताको विषय बनेको विशेषज्ञहरूको भनाइ छ ।



Leave a Reply

Your email address will not be published.