एनएमएलाई सही दिशामा लान सक्छु भन्ने आत्मविश्वास छ
नेपाल चिकित्सक संघको २८औँ कार्यकारिणी समितिको निर्वाचनमा महासचिवमा उम्मेदवारी दिनुभएको छ । तपाईंको पदमा ४ जना प्रत्याशी हुनुहुन्छ । तपाईंलाई नै भोट दिनुपर्ने आधार के ?
मैले नेपाल चिकित्सक संघको महासचिवमा उम्मेदवारी दिइरहँदा म कहाँ नेतृत्व गरेर आएको हुँ भन्ने कुराले महत्त्व राख्छ । म एमबिबिएस अध्ययन गर्दैदेखि संगठनमा सक्रिय रहँदै आएको छु । महाराजगन्ज कलेजमा स्ववियू उपसभापतिका रूपमा काम गर्ने अवसर पाएको थिएँ । त्यसैले विद्यार्थीकालदेखि नै चिकित्सकका समस्याबारे अवगत छु । त्यसपछि पेसा अँगालेपछि पनि निरन्तर संगठनको काममा सक्रिय भएका कारण म चिकित्सकका समस्या कसरी समाधान गर्नुपर्छ भन्नेमा स्पष्ट छु र त्यसका निम्ति निरन्तर अग्रस्थानमा रहँदै आएको पनि छु ।
मैले सरकारी चिकित्सक संघ (गोदान) को नेतृत्व गर्ने अवसर पाएँ । एक कार्यकाल गोदानको अध्यक्षको जिम्मेवारी निर्वाह गर्दा धेरै कुरा सिकेको छु । अहिले संघको केन्द्रीय कार्यकारिणी समितिको सदस्यका रूपमा एक कार्यकाल पूरा गरिसकेको छु । यसक्रममा मैले संघलाई राम्ररी बुझ्ने मौका पाएको छु । विद्यार्थीकालदेखि नै संगठनको अनुभव, पेसागत संगठनहरूमा खेलेको नेतृत्वदायी भूमिका र संघमा एक कार्यकालको अनुभवले संघलाई आगामी दिनमा कसरी अगाडि लिएर जानुपर्छ भन्नेमा म स्पष्ट छु र त्यसनिमित्त योग्यतासमेत विकास गरिसकेको छु । त्यसैले संघको नेतृत्व तहमा रहेर योगदान गर्ने अवसरका रूपमा महासचिवमा उम्मेदवारी दएको हुँ । संघलाई सही दिशामा लान सक्छु भन्ने आत्मविश्वास ममा छ ।
नेपाल चिकित्सक संघ देशको पहिलो पेसागत संगठन हो । यसले ७ दशकभन्दा लामो समयदेखि चिकित्सकको हकहित र नागरिक अधिकारको क्षेत्रमा समेत काम गर्दै आएको छ । आगामी दिनमा पनि चिकित्सकको हकहितमा धेरै काम गर्न बाँकी छ । अझै पनि चिकित्सकका पेसागत समस्या धेरै छन् र समयअनुसार नयाँ–नयाँ समस्या आइरहन्छन् । हामीले चिकित्सकको हितमा धेरै उपलब्धि हासिल गरेका छौँ र कतिपय महत्त्वपूर्ण काम प्रक्रियामा छन् । ती काम कुन अवस्थामा छन्, प्रगतिको अवस्था कस्तो छ र कहाँ–कहाँ पुगेका छन् भन्नेबारे मेलै करिब ३ वर्ष कार्यसमितिमा बसेर काम गर्दा गहिरो रूपमा बुझ्ने मौका पाएको छ । त्यसैले पनि माहासचिवमा निर्वाचित भएपछि मलाई काम गर्न सहज हुने विश्वास छ ।
लामो अनुभव सुनाउनुभयो, निर्वाचन प्रचारका क्रममा देशभरका चिकित्सकलाई भेटि पनि सक्नुभयो । खासमा चिकित्सकका समस्या के रहेछन् ?
चिकित्सकका समस्या धेरै छन् । पहिलो कुरा त चिकित्सकले सम्मानजनक तलब र सेवासुविधा पाइरहेका छैनन् । हामीले संघमार्फत चिकित्सकले कामको संवेदनशीलता र जोखिमअनुसार पारिश्रिमक पाउनुपर्छ भन्ने माग सरकारसमक्ष पटक–पटक राख्दै आएका छौँ । यसमा केही प्रगति पनि भएका छन् र टुंगोमा पुर्याउने काम हाम्रो नयाँ कार्यसमितिको प्राथमिकतामा रहनेछ । अर्को पक्ष पेसागत सुरक्षाको हो । चिकित्सकमाथि यो वा त्यो रूपमा आक्रमणका प्रयास भइरहेका छन् । चिकित्सकको सुरक्षासम्बन्धमा स्वास्थ्यसंस्था तथा स्वास्थ्यकर्मीमाथि आक्रमणका घटनामा ‘जेल विदाउट बेल’ (विनाधरौटी जेलचलान) को प्रावधानसहित कानुन संशोधनको विषय संघले जोडदार रूपमा उठाउँदै आएको छ । संघकै दबाबका कारण यो कानुन मन्त्रालयबाट स्वीकृत भई मन्त्रिपरिषद्मा पुगेको अवस्था छ । तर, लामो समयदेखि मन्त्रिपरिषद्मै अड्किरहेको छ । नयाँ कार्यसमितिले यसलाई निष्कर्षमा पुर्याउनुपर्नेछ ।
मैले ३–४ वटा संगठनलाई नेतृत्व दिइसकेको छु । विद्यार्थीकालमा स्ववियू उपसभापति हुँदादेखि नै म चिकित्सकका समस्यासित अवगत छु । संघको कार्यकारिणी सदस्यको जिम्मेवारी पूरा गर्दासम्म क्रमिक रूपमा नेतृत्व क्षमता विकास गरेरै आएको हुँ । महासचिवमा मेरो उम्मेदवारी महात्त्वकांक्षी नभएर चिकित्सक साथीहरूले मेरो सांगठनिक योग्यतामा गर्नुभएको भरोसा हो ।
पोस्ट ग्राजुएट र अन्डर ग्राजुएटको बीचमा ठूलो खाडल छ । यसलाई न्यूनीकरण गर्नुपर्छ भन्ने आवाज हामीले निरन्तर उठाइरहेका छौँ । यसमा पनि हामी नयाँ कार्यसमितिमा आएपछि समाधानतर्फ लिएर जान्छौँ, जुन हाम्रो प्रतिबद्धतामै छ । सँगसँगै हामीले प्रतिबद्धतापत्रमा नेसनल ट्रिटमेन्ट प्रोटोकल बनाए जाने, स्वास्थ्य बिमालाई सफल बनाउने, स्वास्थ्य बिमा कार्यक्रमको कभरेज बढाउन सम्बन्धित निकायमा दबाब दिनेजस्ता विषय समावेश गरेका छौँ । नीति–नियम बनाउँदा चिकित्सा पेसालाई कसरी मर्यादित बनाउन सकिन्छ भन्नेमा पनि हामी सजग छौँ । यी सबै विषयलाई चरणबद्ध रूपमा अगाडि लैजाने योजनासहित हामी मतदातामाझ प्रस्तुत भएका छौँ ।
सदस्यबाट एकैपटक महासचिवमा उम्मेदवारी दिनु महत्वाकांक्षी भएन र ?
मैले यसअघि तीन–चारवटा संस्थाको अध्यक्ष भएर काम गरिसकेको छु । अघिल्लो कार्यकालमा सदस्यका रूपमा केन्द्रीय कार्यकारिणीमा प्रवेश गरेर संस्थालाई बुझेँ, संघ कसरी चल्छ, के–के काम गर्नुपर्छ भन्ने सूक्ष्म अध्ययन गरेँ । क्रमिक रूपमा नेतृत्व क्षमता विकास गरेर नै अहिले महासचिव पदमा उम्मेदवारी दिएको हुँ । संघका अग्रज तथा अनुजहरूले ममा त्यो योग्यता देखेर नै यो महत्त्वपूर्ण जिम्मेवारीका लागि मलाई अघि सार्नुभएको हो । सार्थीहरूले टिममा स्वीकार गरेको हुनाले नै जिम्मेवारी राम्रोसँग वहन गर्नुसक्छु भन्ने ममा आत्मविश्वास छ ।
प्यानलका अन्य साथीको एकजना मात्र प्रतिस्पर्धी हुँदा तपाईं तीनजनासित भिड्दै हुनुहुन्छ । तपाईंका फरक एजेन्डा के छन् ?
नेपाल चिकित्सक संघ आमचिकित्सकको अधिकार र पेसागत सुरक्षाका लागि लड्ने संगठन हो । चिकित्सकलाई आइपर्ने तत्कालका समस्या समाधान गर्नुपर्ने अवस्थामा हामीले सार्थक पहल गर्दै आएका छौँ र भविष्यमा पनि गर्ने नै छौँ । यसबाहेक नीति–निर्माणका क्रममा राज्यले सल्लाह–सुझाब मागेको खण्डमा संघले सहयोग गर्छ । चिकित्सकको समायोजन तथा पदस्थापनका क्रममा यसरी गर्दा चिकित्सक पनि सुरक्षित र खुसी हुन्छन् र चिकित्सा क्षेत्र पनि राम्रोसँग चल्छ भन्ने सुझाब दिन्छौँ ।
चिकित्सासम्बन्धी ऐन, नियम बन्दा मन्त्रालय तथा सम्बन्धित निकायबाट सुझाब मागेको खण्डमा सम्बन्धित विशेषज्ञको टिम बनाएर छलफल चलाउँछौँ र यासो गर्दा राम्रो हुन्छ भनेर सल्लाह दिन्छौँ । तर, चिकित्सकलाई अप्ठ्यारो पार्ने गरी वा अधिकार सीमित गर्ने गरी ऐन, नियम ल्याइएमा त्यसको डटेर सामना गर्छौं । हामीले मुलुकी संहिता ऐनमा आएका चिकित्सकविरोधी प्रावधान संशोधन गर्न बाध्य बनाएकै हौँ । हाम्रो एजेन्डामा चिकित्सकको सुरक्षा र हक केन्द्रमा रहन्छ, त्यसलाई अगाडि बढाउने हामीसित विस्तृत योजना छ । सम्मानजनक तलबको विषयमा मन्त्रालयमा एक चरणमा छलफल भइसकेको छ, त्यसलाई अगाडि बढाउन हाम्रो जोड हुनेछ ।
तपाईंले गोदान र अन्य संस्थाको पनि नेतृत्व गरिसक्नुभएको छ । त्यहाँ रहेर पूरा गर्न नसकेका के काम संघमा रहेर गर्नुहुन्छ ?
८–९ तहको चिकित्सक प्राथमिक स्वास्थ्यकेन्द्रमा जाँदा प्रशासनतर्फको ७औँ तहको कर्मचारीले हेर्ने व्यवस्था छ । यसमा समानता छैन । हामीले सरकारी चिकित्सक संघमा हुँदा केन्द्रीय लोकसेवामार्फत सेवा प्रवेश गरेका सम्पूर्ण चिकित्सक संघमातहत आउनुपर्छ भन्ने आवाज उठाएका थियौँ । यो विषय छलफलको क्रममा छ, जसलाई निष्कर्षमा पुर्याउनु जरुरी छ । हाम्रो नयाँ कार्यसमितिले यसमा पहल गर्छ । त्यस्तै, चिकित्सकको सुरक्षा, तलब, वृत्ति–विकासका विषय विगमा उठाएको थिएँ तर निष्कर्षमा पुग्न सकेका छैनन् । अब संघमार्फत नै त्यसमा केन्द्रित हुनेछौँ ।
एउटा चिकित्सकले दुर्गममा गएर काम गर्दा अहिलेको अवस्थामा आफ्नो जीवनयापनसमेत गर्न सक्ने अवस्थामा छैन, पढ्दाको महँगो लगानी त छँदै छ । एउटा मेडिकल अफिसरलाई एक संस्थामा मात्र काम गर्नुपर्यो भने कति दिँदा उसको जीवनयापन गर्न सहज हुन्छ, उसका स्वाभाविक आवश्यकता सम्बोधन हुन सक्छन्, त्यहीअनुसार तलब दिनुपर्छ भन्ने आवाज उठाएका छौँ । यहीअनुसार अन्य तहमा पनि छ । सुविधा दिनुपर्छ भनेर पहिले नै आवाज उठेको हो, एक तहमा कुरा पुग्यो तर त्यसपछि वार्ता भए अगाडि बढ्न सकेन । त्यसैले निजामती कर्मचारीको स्वास्थ्य सेवा ऐनले मात्र भएन, चिकित्सक ऐन चाहिन्छ भनेर हामीले भनिरहँदा स्वास्थ्य सेवा ऐनलाई पनि निजामतीमा गाभेको छ । चिकित्सा क्षेत्रलाई सुधार गर्न जुन स्वास्थ्य सेवा ऐन आएको थियो, त्यो अपर्याप्त भएकाले चिकित्सकलाई छुट्टै, नर्स तथा फ्याकल्टीका लागि छुट्टै ऐन हुनुपर्छ भनेर मन्त्रालयमा छलफल भएको थियो । तर, सबै खारेज गरेर सबैलाई निजामती ऐनमा राखिएको छ । सेवाको विशिष्टताअनुसार ऐन बन्नुपर्छ र त्यसअनुरूप सुविधा हुनुपर्छ भन्नेमा हामी जोडदार रूपमा अघि बढ्छौँ ।
अन्तमा थप केही भन्न चाहनुहुन्छ ?
नेपाल चिकित्सक संघ विशुद्ध पेसागत संगठन हो । यसले चिकित्सकको हकहितका लागि विगतदेखि लड्दै आएको छ । आगामी दिनमा मैले महासचिवको जिम्मेवारी वहन गरेको खण्डमा जुन काम पूरा भएका छैनन्, तिनलाई निष्कर्षमा पुर्याउनेछौँ । चिकित्सकको सेवा–सुविधा र अन्य हकहितको रक्षाका लागि आवश्यक परेको हदसम्म कदम चाल्न हामी तत्पर छौँ । चिकित्सकको सम्मान र चिकित्सा क्षेत्रको साख जोगाउन हामी सफल हुनेछौँ भन्ने विश्वास छ । हाम्रो टिम पनि चुस्त–दुरुस्त र सबैले अपनत्व महसुस गर्न सक्ने गरी तयार गरेका छौँ । त्यसैले चिकित्सक साथीहरूले हाम्रो टिमलाई मतदान गरेर संघलाई योगदान गर्ने अवसर दिनुहुन्छ भन्ने विश्वास लिएको छु ।
(डा. रिजाल, नेपाल चिकित्सक संघका लागि लोकतान्त्रिक प्यानलबाट महासचिव पदका उमेदवार हुन् )