३ महिनापछि स्वीकृत भयो स्वास्थ्यसचिव डा. चौधरीको राजीनामा
स्वास्थ्यसचिव डा. पुष्पा चौधरीको राजीनामा स्वीकृत भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजीनामा स्वीकृत गरेको हो ।
३ महिनाअघि नै संयुक्त राष्ट्रसंघअन्तर्गत विश्व स्वास्थ्य संगठनमा जागिरका लागि डा. चौधरीले राजीनामा दिएकी थिइन् । तर, सरकारको पूर्वस्वीकृति नलिएको भन्दै मन्त्रिपरिषद्ले उनको राजीनामा स्वीकृत नगरी झुलाइरहेको थियो । तर, उनले डब्लुएचओको जागिर भने सुरु गरिसकेकी थिइन् ।
सरकारले अप्ठ्यारोमा पार्ने देखेपछि पटक–पटक राजीनामा स्वीकृत गराउन पहल गरेकी डा. चौधरीले स्वास्थ्यको नेतृत्वमा मन्त्री भानुभक्त ढकाल आएसँगै उनलाई सहजीकरण गरिदिन निवेदन दिएकी थिइन् । मन्त्री ढकालकै पहलमा उनको राजीनामा स्वीकृत भएको बताइएको छ ।
सरकारले सरुवा गर्दा अटेरी गरेर सर्वोच्चबाट स्वास्थ्यमा फर्किएपछि उनको प्रधानमन्त्रीसित दूरी बढेको थियो । उनी हाल डब्लुएचओ भारतमा कार्यरत छिन् । उनले १३ कात्तिमका राजीनामा बुझाएकी थिइन् ।