बी एन्ड सी सञ्चालक प्रसाईंविरुद्ध ‘अभद्र व्यवहार’मा पक्राउ पुर्जी जारी, निवासमा फेला परेनन्

हेल्थपोस्ट नेपाल

झापास्थित बी एन्ड सी प्रस्तावित मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय भक्तपुरले उनीविरुद्ध ‘अभद्र व्यवहार’ मुद्दाको छानबिनका लागि पक्राउ पुर्जी जारी गरेसँगै उनलाई पक्राउ गर्ने प्रक्रिया थालिएको महानगरीय प्रहरी कार्यालयका डिआइजी विश्वराज पोखरेलले हेल्थपोस्टलाई जानकारी दिए । यद्यपि, उनी हालसम्म पक्राउ भने परेका छैनन् ।

प्रसाईंविरुद्ध चिकित्साशिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा अभद्र व्यवहारमा उजुरी दिएका थिए । आफूमाथि २० करोड घुस मागेको आरोप लगाएका प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौंमा मानहानि मुद्दा दायर गरेका डा. गिरीले प्रसाईंले मुद्दा फिर्ता लिन दबाब दिएको जनाउँदै उनीविरुद्ध जिल्ला प्रशासनमा अभद्र व्यवहारअन्तर्गत उजुरी दिएका थिए । डा. गिरीको सोही उजुरीका आधारमा प्रशासनले प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

प्रशासनबाट पक्राउ पुर्जी जारी भएपछि प्रसाईंलाई पक्राउ गर्न प्रहरी टोली उनको भक्तपुरस्थित निवास पुगेको बताइएको छ । तर, प्रसाईं घरमा नभेटिएपछि उनको खोजी कार्य जारी राखिएको प्रहरी स्रोतले बताएको छ ।

बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धनको निवेदन लिएर जाँदा आयोगका उपाध्यक्ष डा. गिरीले निवेदन लिन नमानी बेलुकी द्वारिका होटेलमा बोलाएर २० करोड घुस मागेको आरोप लगाएका थिए । त्यसपछि दुईबीच एकले अर्कोलाई खुइल्याउने र एकअर्काविरुद्ध कानुनी उपचारमा जाने क्रम जारी छ । दुईबीचको द्वन्द्व जिल्ला प्रशासन कार्यालय, सम्पत्ति शुद्धीकरण विभाग, अख्तियार दुरूपयोग अनुसन्धान आयोग र जिल्ला अदालत पुगेको छ । प्रसाईंले गिरीविरुद्ध भ्रष्टाचार र अकुत आर्जनमा उजुरी दिएका छन् भने गिरीले प्रसाईंविरुद्ध अभद्र व्यवहार र मानहानिमा मुद्दा दिएका छन् ।



Leave a Reply

Your email address will not be published.