युवाका लागि फिटनेस टिप्स

हेल्थपोस्ट नेपाल

जोकोहीलाई आकर्षक हुन मनपर्छ । युवावस्थामा त झन् सबै आफूलाई फिट राख्न चाहन्छन् । उज्यालो चेहरा, तन्दुरुस्त शरीर सबैको रोजाइमा पर्छ । त्यसैले मानिस सधैँ आकर्षक भइरहन चाहन्छ । तर, शरीरलाई फिट बनाइराख्न धेरै कुरामा ध्यान दिनुपर्छ ।

यी कुरामा ध्यान दिएर आफूलाई सधैँ फिट राख्नुहोस् :
– राति सुत्नुअघि तामाको भाँडामा एक लिटर पानी राख्ने र बिहान उठ्नेबित्तिकै पिउने ।
– बिहान उठ्नेबित्तिकै योगको ताडासन गर्ने । यो आसन गर्दा दुवै खुट्टाको बलमा दुवै हात जति माथि लान सकिन्छ, लैजाने ।
– नुनमा सरसौँको तेल मिलाएर दाँत र गिजा सफा गर्ने । यसले दाँत मजबुद गर्नुका साथै दाँतको दुखाइ पनि कम गर्छ ।
– नियमित प्राणायाम गर्ने । आफ्नो स्वास्थ्य अवस्था र शरीरको क्षमताअनुसार ५ देखि २० मिनेटसम्म नियमित गर्ने ।
– प्राणायामपश्चात् शारीरिक क्षमताअनुसार व्यायाम गर्ने । यसमा जिमलाई पनि अँगाल्न सकिन्छ ।
– समयले भ्याएसम्म सूर्यको किरणअगाडि केही समय उभिने वा सूर्यस्नान गर्ने । यसले शरीरमा भिटामिन डीको कमी हुन दिँदैन र शरीरलाई चम्किलो बनाउन मद्दत गर्छ ।
– हप्तामा एकपटक तेलले शरीरको मालिस गर्ने ।
– खाना खानुअघि राम्ररी हात धुने ।
– धेरै समय भोकै नबस्ने ।
– आवश्यकताभन्दा बढी नखाने ।
– खानेकुरा राम्ररी चबाएर मात्रै खाने । एक गाँस खानालाई ३२ पटकसम्म चबाएर खानु उपयुक्त मानिन्छ ।
– हरियो सागपात र मौसमी फलफूल नियमित खाने ।
– खाना खाइसकेपछि एक घन्टादेखि डेढ घण्टापछि मात्र पानी पिउने । खानाअघिको आधा घण्टा पानी नपिउने । सम्भव भएसम्म खानासँग लस्सी खाने र खाना खाइसकेपछि राम्रोसँग कुल्ला गर्ने ।

स्वस्थ जीवनशैली :  सामान्य उपाय, धेरै फाइदा
स्वास्थ्यलाई विभिन्न तत्त्वले प्रभावित पारिरहेका हुन्छन् । यसमा वायुमा हुने विभिन्न ब्याक्टेरिया, मल्टिटक्सिन, ट्राफिक जाम, अफिसको प्रेसरलगायत थुप्रै कारण हुन्छन् । हामी यिनै समस्याका कारण आफ्नो स्वास्थ्यमा ध्यान दिन सकिरहेका हुँदैनौँ ।

हामी सधैँ समस्यामा मात्र जेलिइरहेका हुन्छौँ । तर, सामाधानको खोजी भने गरिरहेका हुँदैनौँ । यदि सबै ठाउँबाट अलि–अलि समय व्यवस्थापन गर्ने हो भने हामी स्वस्थ जीवन जिउन सक्छौँ । त्यसैले सामान्य उपाय अपनाएर धेरै स्वास्थ्यलाभ लिनतर्फ उन्मुख हुनुपर्छ । यसका लागि केही विधि अपनाउन सकिन्छ ः

१. व्यायाम गर्नु नुहाउनुजस्तै हो
व्यायाम तौल घटाउने अभ्यासमा मात्र सीमित छैन, यसको सम्बन्ध मानिसको समग्र स्वास्थ्यसित हुन्छ । व्यायामले मानिसलाई आकर्षक देखाउनुका साथै स्वस्थ रहन मद्दत गर्छ । जसरी हामी दिनहुँ खाना खान्छौँ, त्यसैगरी व्यायामलाई पनि नियमित दिनचर्यामा बनायौँ भने निकै फाइदा पुग्छ ।
व्यायाम अन्य कामबाट फुर्सद मिल्ला र गरौँला भन्ने होइन, नियमित कार्यतालिकाभित्र अटाउनुपर्छ । कुनै जागिर गरेर भ्याएपछि गर्छु वा जहिले दिनचर्या नियमित हुन्छ त्यही वेला गर्छु भनेर व्यायामलाई ऐच्छिक बनाउनुहुँदैन । व्यस्तताका कारण दैनिक गर्न नसकिए पनि सातामा २ दिन वा महिनामा कम्तीमा ७ दिन व्यायाम गर्नैपर्छ । व्यायामलाई पनि नुहाउने कामजस्तै नियमित कार्यतालिकामा राख्नुपर्छ ।

२. व्यायाम जुनसुकै समयमा गर्न सकिन्छ
घुम्न, जिम गर्न र अन्य काम गर्न कुनै निश्चित समय हुन्छ । तर, व्यायामका लागि यही नै समय हुनुपर्छ भन्ने अनिवार्य हुँदैन । आफ्नो अनुकूलताअनुसार जुनसुकै समयमा पनि व्यायाम गर्न सकिन्छ । रातिको समय होस् वा दिउँसो, समय निस्किँदा व्यायाम गर्न सकिन्छ । त्यसैले आफ्नो अनुकूल समयमा नियमित व्यायाम गर्नुपर्छ ।

३. डम्बेल उठाएर बडी बनाऔँ
वेट ट्रेनिङलाई धेरैले गलत रूपमा लिने गर्छन् । तर, यो शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न निकै उपयोगी छ । त्यसैले सकेसम्म नियमित डम्बेल उठाउने बानी बसाउनुपर्छ ।

डम्बेललाई बडी बिल्डिङमा मात्र सीमित राख्नुहुँदैन । एक कुशल प्रशिक्षकको मार्गदर्शनमा वेट ट्रेनिङ गर्नु उपयुक्त मानिन्छ । यो सबै उमेर समूह र बिरामीका लागि राम्रो मानिन्छ । यो व्यायामले मधुमेह र डायबिटिजका रोगीलाई राम्रो गर्छ । वेट लिफ्टिङले शरीरको मांसपेशीका साथै मुटुलाई बलियो बनाउन मद्दत गर्छ । महिनामा कम्तीमा चारपटक यो व्यायाम गर्नु उपयुक्त मानिन्छ ।

४. स्वस्थ रहने घरेलु उपाय
– एक चम्चा चामल मुखमा राखेर पानीसँग निल्ने । चिकित्सकका अनुसार यसले लिबर बलियो बनाउन सहयोग गर्छ र पित्तबाट हुने समस्याबाट समेत जोगाउँछ ।

– राति सुत्दा एक तोला त्रिफला एक पाउ चिसो पानीमा भिजाएर राख्ने र बिहान उठ्नेबित्तिकै पिउने गर्नाले त्यसले स्वास्थ्यमा निकै फाइदा पुर्याउँछ ।



Leave a Reply

Your email address will not be published.