भ्रामक प्रचार–प्रसारले आयुर्वेद बदनाम भयो : महानिर्देशक उपाध्याय
भ्रामक प्रचार–प्रसारका कारण आयुर्वेद क्षेत्र बदनाम हुँदै गएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले बताएका छन् । आइतबार आयोजित पत्रकारसम्मेलनमा डा. उपाध्यायले केही गलत मनसाय भएका व्यक्तिले आयुर्वेदको नाम भजाएर कमाइखाने बाटो बनाएको बताए ।
‘निःशुल्क, ग्यारेन्टीका साथ, ठिक नभए रकम फिर्ताजस्ता विषयलाई मूलमन्त्र बनाएर आयुर्वेदका नाममा आफ्नो कमाइखाने बाटो बनाइँदै बनाइँदै छ,’ डा. उपाध्याय भन्छन्, ‘यसले गर्दा सेवाग्राही अनाहकमा ठगिन पुगेका छन् ।’
कारबाहीको अधिकार विभागसँग छैन
चौबाटो तथा फुटपाथमा भइरहेको आयुर्वेदिक औषधिको विक्री–वितरणमाथि नियन्त्रण गर्ने अधिकार विभागलाई छैन । स्वास्थ्यसंस्था मापदण्ड निर्देशिकाबमोजिम संस्था दर्तासम्बन्धी अधिकार विभागलाई भएको तर बाटोमा भइरहेको औषधि विक्री–वितरण नियन्त्रणको अधिकार भने आफूसित नभएको महानिर्देशक उपाध्यायले जानकारी दिए । अवैध विक्री–वितरण नियन्त्रणको अधिकार जिल्ला प्रशासन कार्यालय र औषधि व्यवस्था विभागमा रहेको डा. उपाध्याय बताउँछन् ।
जनशक्ति अभावले नियमनमा कठिनाइ
जिल्लास्तरबाटै अनुमति लिएर तथा अनुमतिविनै सञ्चालन भइरहेका क्लिनिक तथा अस्पतालको अनुगमनका विभागसित आवश्यक जनशक्ति उपलब्ध नभएको महानिर्देशक उपाध्यायको भनाइ छ । आयुर्वेद क्लिनिक तथा १० शय्यासम्मको अस्पताललाई जिल्लास्तरमै सञ्चालन अनुमति दिने प्रावधान छ ।
‘अनुमतिविनै टोल–टोलमा चलाइएका क्लिनिकको अनुगमन गर्न सकिएको छैन,’ डा. उपाध्याय भन्छन्, ‘हामीले स्वीकृति दिएका क्लिनिक तथा अस्पतालको भने अनुगमन गर्दै छौँ । तर, अवैधानिक रूपमा सञ्चालनरत स्वास्थ्यसंस्थाको अनुगमन गर्न हामीसँग जनशक्ति छैन ।’