नेपाल मेडिकल कलेजका कर्मचारीद्वारा सेवा बहिष्कार, धम्की आएको भन्दै आकस्मिकबाहेकका सेवा ठप्प

हेल्थपोस्ट नेपाल

जोरपाटीस्थित नेपाल मेडिकल कलेजका कर्मचारीले आकस्मिकबाहेकका सबै सेवा बहिष्कार गरेका छन् । डेलिभरीका क्रममा मृत्युको विषयलाई लिएर मृतकका आफन्तले अस्पतालमा तोडफोडसहित कर्मचारीलाई धम्की दिएको भन्दै कर्मचारी आइतबार १२ बजेदेखि ओपिडीलगायतका सेवा ठप्प पारेर प्रदर्शनमा उत्रिएका हुन् ।

अस्पतालमा कार्यरत कर्मचारीको आधिकारिक ट्रेड युनियन स्वतन्त्र कर्मचारी युनियनको आह्वानमा कर्मचारीले अस्पतालको सेवा बहिष्कार गरेका हुन् । युनियनका सचिव उमेश कार्कीले विज्ञप्तिमार्फत सेवा बहिष्कारको जानकारी गराएका छन् ।

प्रसूति सेवाका लागि अस्पताल ल्याइएकी भोजपुर षडानन्द नगरपालिकाका २४ वर्षीया सुनिता राईको बिहीबार राति डेलिभरीका क्रममा मृत्यु भएको थियो । अस्पतलको लापरबाहीका कारण आफ्नो बिरामीको डेलिभरीका क्रममा मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पतालमा सामान्य तोडफोडसहित प्रदर्शन गरेका थिए । प्रहरी प्रशासनले स्थिति नियन्त्रणमा लिए पनि आफन्तले लास उठाउन मानेका छैनन् भने अस्पताल प्रशासन सम्पर्कमा आउन चाहिरहेको छैन ।

डेलिभरी गराउने क्रममा भ्याकुम लगाउँदा आमाको पाठेघरसमेत चुँडिएर मृत्यु भएको आफन्तको भनाइ छ । नवजात शिशुको भने अवस्था सामान्य रहेको बताइएको छ ।
शनिबार तोडफोडमा उत्रिएका बिरामीका आफन्त आइबार भने अस्पताल परिसरमा नाराबाजी गरिरहेका छन् । घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कारबाही गर्नुपर्ने, पीडितलाई उचित क्षतिपूर्ति दिनुपर्नेलगायत माग आफन्तको छ ।

यसैबीच मृतकका आफन्तबाट कर्मचारीमाथि धाम्की आइरहेकाले काम गर्ने वातावरण नभएको भन्दै कर्मचारीले सेवा बहिष्कार गरेका हन् । कर्मचारीको सेवा बहिष्कारका कारण सयौँ बिरामीले कठिनाइ झेल्न बाध्य भएका छन् ।



Leave a Reply

Your email address will not be published.