बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति सिफारिसका लागि ‘सर्च कमिटी’ गठन
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति सिफारिसका लागि ‘सर्च कमिटी’ गठन भएको छ । प्रतिष्ठानको शुक्रबार बसेको ४३औँ सिनेट बैठकले तीन सदस्यीय उपकुलपति सिफरिस समिति गठन गरेको हो । प्रतिष्ठानको उपकुलपतिमा नाम सिफरिसका लागि सहकुलपति एवम् स्वास्थ्यमन्त्रीको संयोजकत्वमा सर्च कमिटी गठन गर्नुपर्ने कानुनी प्रावधान छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल संयोजकत्वको सर्च कमिटीमा राष्ट्रिय योजना आयोगकी सदस्य उषा झा र अर्थ सचिव राजन खनाल सदस्य छन् । कमिटीले सिफारिस गरेका नाममध्येबाट प्रतिष्ठानका कुलपति एवम् प्रधानमन्त्रीले उपकुलपति नियुक्त गर्नेछन् ।
प्रतिष्ठानका निवर्तमान उपकुलपति प्रा.डा. राजकुमार रौनियार ८ लाख घुस लिइसकेको अवस्थामा २६ असारमा उपकुलपतिनिवासबाट पक्राउ परेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उजुरीका आधारमा उनको निवासमा खानतलासी गर्दा रौनियारले प्रतिष्ठानको होस्टेल तथा फार्मेसी भवन निर्माण ठेक्का लिने श्याम सुन्दर निर्माण सेवा प्रालिको सब कन्स्ट्र्याक्टर गिना कन्स्ट्रक्सन प्रालिका प्रबन्धनिर्देशक सुशीलकुमार झासँग ८ लाख घुस लिई प्रतिष्ठानमै हाउस अफिसरका रुपमा कार्यरत आफ्ना भतिज डा. रामहरि रौनियारलाई ए५ ब्लकमा राख्न पाठाइसकेको अवस्थामा फेला पारेपछि दुवैलाई पक्राउ गरेको थियो ।
करिब ४ साताको अनुसन्धानपछि अख्तियारले १९ साउनमा भिसी रौनियारविरुद्ध १ करोड २८ लाख बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले भिसी रौनियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को कसुर गरेको सप्रमाण पुष्टि हुन आएकाले उनलाई १ करोड २८ लाख बिगो कायम गरी उक्त ऐनको दफा ३ को उपदफा ९१० र सोही उपदफाको देहाय ९झ० बमोजिम जरिवाना र कैद सजाय माग गरेको छ । सो मुद्दा विशेष अदालतमा विचाराधीन छ । यसअघि तत्कालीन स्वास्थ्यमन्त्री उपेन्द्र यादवको अध्यक्षतामा गत १६ र १७ फागुनमा बसेको प्रतिष्ठानको ४२औँ सिनेट बैठकले उपकुलपति रौनियारलाई पदमुक्त गर्न कुलपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । यद्यपि, त्यतिवेला उपकुलपति रौनियार अदालतको आदेशबाट पुनर्बहाली भएका थिए ।