म प्रसाईंलाई भेट्न द्वारिका होटेल गएकै छैन, चरित्रहत्याविरुद्ध कानुनी बाटो लिन्छु : डा. गिरी
मेडिकल कलेजलाई सम्बन्धनबापत सञ्चालकसित २० करोड घुस मागेको आरोप लागेका चिकित्साशिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले आफूमाथि लागेको आरोप कपोलकल्पित र भ्रामक भएको बताएका छन् । बुधबार प्रस्तावित बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले डा. गिरीले आफूसित घुस मागेको आरोप लागएपछि बुधबार बानेश्वरमा पत्रकारसम्मेलन गर्दै डा. गिरीले आफूमाथि प्रायोजित रूपमा चरित्रहत्या गर्ने षड्यन्त्र भएकाले त्यसविरुद्ध कानुनी उपचारको बाटो लिने बताए ।
यद्यपि, उनले प्रसाईं सम्बन्धनको निवेदन लिएर कार्यालयमा आएको भने स्वीकार गरेका छन् । प्रसाईंले निवेदनसाथ आवश्यक कागजात संलग्न नगरेकाले कागजपत्र पूरा गरेर पेस गर्न आफूले भनेको तर प्रसाईं एक्कासि चरित्रहत्यामा उत्रिएको उनले बताएका छन् ।
प्रसाईंले डा. गिरीले आफूलाई द्वारिका होटेलमा बोलाएर घुस मागेको बताइरहँदा डा. गिरीले भने आफू कसैसँग भेट्न द्वारिका होटेल जाँदैनगएको दबी गरेका छन् । प्रसाईंले १५ मंसिरमा आफू आयोगमा सम्बन्धनका लागि निवेदन लिएर जाँदा डा. गिरीले निवेदन अस्वीकार गरी सोही दिन साँझ द्वारिका होटेलमा बोलाएर घुस मागेको आरोप लागाएका थिए । डा. गिरीले सत्तारूढ नेकपाका नेता नारायणकाजी श्रेष्ठ र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई पैसा दिनुपर्ने भन्दै २० करोड दिए मात्र सम्बन्धन दिने बताएको प्रसाईंको आरोप थियो । डा. गिरीले २० करोड वा सम्धीको नाममा मेडिकल कलेजको १० प्रतिशत सेयर आफ्नो सम्झीको नाममा ट्रान्सफर गरिदिए मात्र बी एन्ड सीलाई सम्बन्धन दिने बताएको आरोप प्रसाईंले पत्रकारसम्मेलनमार्फत लगाएका थिए ।
आफूमाथि लागेको आरोप मिथ्या र निन्दनीय भएको भन्दै उपाध्यक्ष डा. गिरीले आरोप पुष्टि गर्न प्रसाईंलाई चुनौतीसमेत दिएका छन् ।
डा. गिरीले आफू प्रसाईंलाई भेट्न द्वारिका होटेल जाँदै नगएको बताउनुले आरोपको सत्यता छिट्टै बाहिर आउन सक्ने देखिन्छ । द्वारिकाजस्तो ठूलो होटेलमा सर्वत्र सिसी क्यामेर फिट हुने र आउने–जाने सबैको रेकर्ड हुने भएकाले निष्पक्ष छानबिन भएमा आरोपकर्ता वा आरोपीमध्ये एकजना तत्कालै झुटो साबित हुन सक्छन् ।
बलात्कार प्रयासको अरोप लागेका पूर्व सभामुख कृष्णबहादुर महराले पनि सुरुमा आफू आरोपकर्ता (पीडित)को घरमै नगएको बताएका थिए । पछि सडकमा जडित सिसी क्यामेरामा कैद तस्बिरमार्फत उनी गएको पुष्टि भएसँगै फसेका थिए । यो दृष्टान्तको आशय मात्र यत्ति हो कि, प्रसाईं र डा. गिरीबीचको आरोप–प्रत्यारोपको छिनोफानो द्वारिका होटेलको रेकर्डमार्फत सहजै लगाउन सकिने बाटो डा. गिरीले दिएको आफू त्यहाँ जाँदैनगएको स्पष्टीकरणले खोलिदिएको छ ।