भक्तपुर क्यान्सर अस्पतालको व्यवस्थापन विवाद छिट्टै मिलाउँछौँ : मन्त्री ढकाल
भक्तपुर क्यान्सर अस्पतालको व्यवस्थापन समिति विवाद चाँडो सुल्झाउने सरकारले दाबी गरेको छ । शुक्रबार नेपाल अर्बुदरोग निवारण संस्थाको २९औँ केन्द्रीय सभामा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अस्पतालको विवादका विषयमा सरकारले चाँडै नै निर्णय लिने बताए । गत साउनमा भक्तपुर नगरपालिकाले आर्थिक अनियमितताको आरोप लगाउँदै अस्पताल व्यवस्थापन समिति विघटन गरी मेयरको नेतृत्वमा नयाँ समिति गठन गरेसँगै उब्जिएको विवाद सर्वोच्च अदालतको आदेशसमेत कार्यान्वयन नदिइएपछि हालसम्म पनि कायमै छ ।
कानुनी हिसाबले कुनै संस्थाको नाममा रहेको सम्पत्ति कसैले पनि अतिक्रमण गर्न नपाउने मन्त्री ढकालले बताए । ‘केही साथीहरूलाई भ्रम परेको होला, तीन तहको सरकार भएकाले स्थानीयतवरबाट केन्द्र चल्छ भन्ने लागेको छ भने त्यो भ्रम हो । यथार्थमा त्यो लामो समय टिक्दैन,’ मन्त्री ढकालले भने, ‘अस्पतालमा धर्ना गर्नेजस्ता कार्य नगरे पनि तपाईंहरूको माग पूरा हुन्छ ।’ सेवाग्राहीले भक्तपुरको क्यान्सर अस्पताललाई सरकारी अस्पतालका रूपमा हेर्ने गरेको बताउँदै मन्त्री ढकालले यो विश्वास सधैँभरि टिकाइराख्न आग्रह गरे ।
स्थानीय सत्ताको आडमा संस्थामाथिको ज्यादती स्वीकार्य हुँदैन : पूर्वस्वास्थ्यमन्त्री थापा
पूर्वस्वास्थ्यमन्त्री एवम् प्रतिपक्षी नेपाली कांग्रेसका नेता गगनकुमार थापाले नगरपालिकाले गरेको हस्तक्षेपका कारण अस्पतालका नियमित काममा अवरोध सिर्जना हुँदा सेवाग्राहीलाई बाधा पुगेको बताए । प्रतिनिधिसभा सदस्यसमेत रहेका थापाले भक्तपुर अस्पतालमाथि नगरपालिकाको हस्तक्षेप गैरकानुनी भएको भन्दै ५ भदौमा संसद्मा समेत आवाज उठाएका थिए ।
‘भक्तपुर अस्पतालमा नगरपालिकाले जुन व्यवहार गरेको छ, त्यो गलत छ । यदि प्रश्न तथा सरोकार छन् भने त्यसलाई राख्ने आफ्नै विधि छ, त्यो विधिलाई सबैले मान्नुपर्छ,’ थापाले भने, ‘त्यसलाई उल्लंघन गर्ने अधिकार कसैसँग हुँदैन । स्थानीय सत्ताको प्रयोग गरेर नियमित काममा अवरोध गरिएको छ जुन कसैलाई पनि स्वीकार्य हुन सक्दैन ।’
पूर्वमन्त्री थापाले अस्पतालमा विद्यमान समस्याको छिटोभन्दा छिटो हल निकाल्न स्वास्थ्यमन्त्री ढकाललाई आग्रह गरे ।
कार्यक्रममा केन्द्रका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले सुर्तीजन्य पदार्थ तथा क्यान्सर रोगका विषयमा केन्द्रले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताए । अस्पतालले सरकार तथा विभिन्न दातृसंस्थाको सहयोगमा भौतिक पूर्वाधार निर्माण र उपकरणहरूको व्यवस्था गर्दै क्यान्सरका बिरामीलाई राम्रो उपचार दिइरहेको श्रेष्ठको भनाइ छ । संस्थाले हाल ४४ वटा जिल्लामा शाखा गठन गरेको र केही वर्षभित्रै ७७ वटै जिल्लामा शाखा विस्तार गर्ने अभियान जारी रहेको अर्बुदरोग संस्थाका महासचिव विमलकुमार होडाले बताए । त्यसैगरी, ७ वटै प्रदेशमा क्यान्सर केयर सेन्टरको स्थापना गर्ने, भक्तपुर क्यान्सर अस्पतालका चिकित्सक तथा नर्सलाई शिक्षाका निमित्त छात्रवृत्ति प्रदान गर्ने–गराउने र अस्पताललाई अझ सुविधासम्पन्न बनाउँदै नयाँ कोवाल्ट तथा लिनायक जडान गर्ने योजना रहेको महासचिव हाडाले बताए ।
के हो विवाद ?
नेपाल सरकार र दातृ निकायको सहयोगमा सञ्चालनरत भक्तपुर दूधपाटीस्थित सामुदायिक अस्पताल भक्तपुर क्यान्सर अस्पतालमा व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ र महासचिव विमलकुमार होडाले आर्थिक अनियमिता गरेको आरोप लगाउँदै भक्तपुर नगरपालिकाले साउनको अन्तिम साता श्रेष्ठ नेतृत्वको समिति भंग गर्ने निर्णय गरेको थियो । नगरपालिकाले समिति खारेजीको निर्णय गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन गरेको थियो ।
नगरपालिकाको निर्णय र आफूमाथिको आरोप पचाउन नसकेको पुरानो समितिले आफूहरूले कुनै पनि आर्थिक अनियमितता नगरेको जिकिर गर्दै तत्कालै नगरपालिकाले गठन गरेको समितिको खारेजी र आफ्नो निरन्तरताको मागदाबीसहित ४ भदौमा सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । स्वीकृत १०० बेडमा सञ्चालित अस्पताल नगरपालिकाको अधिकारक्षेत्रभित्रै नपर्ने दाबी निवेदकको थियो । रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले पुरानो समितिलाई काम गर्न कुनै बाधा नपुर्याउन अन्तरिम आदेश दिए पनि नगरपालिका अस्पताल प्रशासनले अदालतको निर्णय कार्यान्वयन हुन नदिएपछि अहिलेसम्म पनि दुई व्यवस्थापन समितिबीचको विवाद कायमै छ ।