यी कलेजले पाउने भए डिएम/एमसिएच कार्यक्रम सञ्चालन अनुमति, यस्ता छन् काउन्सिलका १४ निर्णय
काठमाडौं विश्वविद्यालयबाट सम्बन्धनप्राप्त ४ मेडिकल कलेजले डिएम/एमसिएचका केही कार्यक्रम सञ्चालन अनुमति पाउने भएका छन् । नेपाल मेडिकल काउन्सिलको ११ पुसको बैठकले ती कलेजहरूमा तोकिएको विषयमा कार्यक्रम सञ्चालन गर्न सकिने ठहर गरेको हो । यद्यपि, काउन्सिलले काठमाडौं मेडिकल कलेज र लुम्बिनी मेडिकल कलेजमा प्रस्तावित दुई कार्यक्रम भने सञ्चालन गर्न नमिल्ने निर्णय दिएको छ ।
काउन्सिलले प्रारम्भिक निरीक्षण प्रतिवेदन र शिक्षा समितिको सिफारिसका आधारमा कार्यक्रम सञ्चालन गर्न सकिने विषयमा आफू सकारात्मक रहेको जानकारी काठमाडौं विश्वविद्यालय र राष्ट्रिय चिकित्साशिक्षा आयोगलाई पठाउने निर्णय गरेको छ । काउन्सिलले आयोगलाई आफ्नो धारणाबारे जानकारीसँगै निरीक्षण प्रतिवेदनसमेत पठाउनेछ । त्यसपछि आयोगले कलेजहरूलाई कार्यक्रम सञ्चालन अनुमति प्रदान गर्नेछ । यसअघि आयोगले २१ कात्तिकमा काउन्सिललाई कलेजहरूले सञ्चालन अनुमति माग गरेका प्रस्तावित कार्यक्रमहरूलाई सञ्चालन अनुमति दिन सकिने–नसकिनेबारे निरीक्षण प्रतिवेदनसहितको धारणाका लागि पत्राचार गरेको थियो ।
कहाँ कुन कार्यक्रमले अनुमति पाउने ?
काउन्सिलको निर्णयअनुसार पोखरास्थित मणिपाल कलेज अफ मेडिकल साइन्सेजले डिएम नेफ्रोलोजी कार्यक्रम सञ्चालनको अनुमति पाउने भएको छ । मणिपाललाई डिएम कार्डियोलोजी अध्यापनका लागि १ सिट दिने निर्णयसमेत गरेको छ ।
त्यस्तै, विराटनगरको नोबेल मेडिकल कलेजले प्रस्ताव गरेका दुई विशेषज्ञ कार्यक्रमलाई काउन्सिलले हरियो झन्डा देखाएको छ । नोबेलले डिएम नेफ्रोलोजी र डिएम कार्डियोलोजी कार्यक्रम सञ्चालन अनुमति पाउने भएको हो ।
त्यसैगरी, काठमाडौं मेडिकल कलेजले भने प्रस्तावित दुई कार्यक्रमका लागि अनुमति पाउने भएको छ भने एक कार्यक्रम सञ्चालन गर्न नपाउने भएको छ । केएमसीले एमसिएच युरोलोजी र एमसिएच सर्जिकल ग्यास्ट्रोइन्टेरोलोजी कार्यक्रमका लागि अनुमति पाउने भएको छ । तर, केएमसीमा प्रस्तावित एससिएच न्युरोसर्जरी विषयको कार्यक्रम भने सञ्चालन गर्न नमिल्ने काउन्सिलले ठहर गरेको छ । केएमसीले एमसिएच प्लास्टिक सर्जरी अध्यापनका लागि १ सिटको अनुमति पाएको छ ।
त्यस्तै, नेपाल मेडिकल कलेजले एमसिएच युरोलोजी कार्यक्रम सञ्चालनको अनुमति पाउने भएको छ । काउन्सिलको पूर्ण बैठकले एनएमसीमा एमसिएच युरोलोजी विषयको पढाइ सञ्चालन गर्न सकिने निर्णय गरेको हो । काउन्सिलले एनएमसीलाई डिएम नेफ्रोलोजी विषय अध्यापनका लागि १ सिट दिने निर्णयसमेत गरेको छ ।
अन्य निर्णय
काउन्सिलको गत शुक्रबारको बैठकले १४ वटा निर्णय गरेको छ । बैठकले नवनियुक्त रजिस्ट्रार तथा ५ सदस्यलाई स्वागत गर्नुका साथै एक अनुपस्थित सदस्यबाहेक अन्यलाई अध्यक्षबाट शपथग्रहण गराएको छ । बैठकले काठमाडौं विश्वविद्यालयअन्तर्गतका कलेजहरूमा डिएम÷एमसिएच कार्यक्रमहरूको सिट निर्धारण गरेको छ । त्यस्तै, बैठकले निरन्तर पेसागत उन्नयन नियमन (कन्टिनिअस प्रोफेसनल डिभलपमेन्ट रेगुलेसन) प्रस्तावउपर प्राप्त सुझाबसहित पारिर्जन गरी वर्ल्ड मेडिकल एसोसिएसनमा पठाउने निर्णय गरेको छ । नेपाल मेडिकल काउन्सिल र डेन्टल काउन्सिल अफ इन्डियाका बीच सहकार्य गर्न पहल गर्ने निर्णय भएको छ ।
काउन्सिलले तयार पारेको कोड अफ इथिक्स एन्ड प्रोफेसनल कन्डक्टलाई समयसापेक्ष परिमार्जन गरी नेपाली भाषामा अनुवाद गरेर प्रकाशन गर्ने भएको छ । त्यस्तै, फौजदारी अपराधमा पुर्पक्षका लागि अदालतको आदेशानुसार थुनामा रहेको दर्तावाल चिकित्सकको व्यक्तिगत फाइल उच्च निगरानीमा राख्ने व्यवस्था गर्ने बैठकले निर्णय गरेको छ । त्यस्तै, अबदेखि काउन्सिलसँग सम्बन्धित हरेक सूचना तथा जानकारी रजिस्ट्रारमार्फत मात्र सार्वजनिक गर्ने निर्णय बैठकले गरेको छ ।
यस्ता छन् काउन्सिलका १४ निर्णय :
१. नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७६/०९/०७ को निर्णय तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०७६/०९/०९ च.नं. ४६१ को पत्रानुसार डा. कृष्णप्रसाद अधिकारी रजिस्ट्रार पदमा र डा. हरिहर वस्ती, डा. सुप्रभात श्रेष्ठ, डा. प्रेणितकुमार पोखरेल, डा. सन्ध्या चापागाईं र श्री किशोरविक्रम मल्ल नेपाल मेडिकल काउन्सिलको सदस्य पदमा मनोनयन हुनुभएकोमा नवनियुक्त पदाधिकारीहरूलाई काउन्सिलका अध्यक्ष तथा उपाध्यक्षले बधाई दिँदै हार्दिक स्वागत एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । यसैगरी निमित्त रजिस्ट्रारको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएकोमा काउन्सिलका सदस्य डा. अंकुर शाहलाई हार्दिक धन्यवाद दिइयो ।
२. काउन्सिल अध्यक्षले नवनियुक्त सदस्यहरूलाई शपथग्रहण गराउनुभयो । नवनियुक्त सदस्य डा. प्रेणितकुमार पोखरेल अनुपस्थित हुनुभएकाले उहाँलाई आगामी बैठकमा शपथग्रहण गराउने निर्णय भयो ।
३. चिकित्साशिक्षा आयोगको च.नं. ११४ मिति २०७६/०७/२१ को पत्रानुसार काठमाडौं विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेजहरूमा सञ्चालन हुने डिएम÷एमसिएच कार्यक्रमहरूको सिट निर्धारणका लागि भएको निरीक्षण टोलीको प्रतिवेदन तथा शिक्षा समितिको सिफारिसका आधारमा तपसिलमा उल्लेख भएबमोजिम सिट निर्धारण गर्ने निर्णय भयो :
क) मणिपाल कलेज अफ मेडिकल साइन्सेज, पोखरा– डिएम कार्डियोलोजी एक सिट
ख) कलेज अफ मेडिकल साइन्सेज, भरतपुर – डिएम ग्यास्ट्रोइन्टेरोलोजी एक सिट, डिएम नेफ्रोलोजी एक सिट, एससिएच युरोलोजी एक सिट र एमसिएच सर्जिकल ग्यास्ट्रोइन्टेरोलोजी एक सिट
ग) काठमाडौं मेडिकल कलेज, सिनामंगल, काठमाडौं– एमसिएच प्लास्टिक सर्जरी एक सिट
घ) नेपाल मेडिकल कलेज, जोरपाटी, काठमाडौं– डिएम नेफ्रोलोजी एक सिट
४. नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस, बाँसबारी, काठमाडौंमा सञ्चालन हुने एमसिएच न्युरोसर्जरी विषयका लागि काउन्सिलबाट गरिएको निरीक्षण प्रतिवेदनसहितका कागजातहरू आवश्यक प्रक्रियाका लागि चिकित्साशिक्षा आयोगमा पठाउने निर्णय भयो ।
५. चिकित्सा शिक्षा आयोगको च.नं. ११४ मिति २०७६/०७/२१ को पत्रानुसार काठमाडौं विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेजहरूमा सञ्चालन हुने डिएम÷एमसिएच कार्यक्रमहरूको प्रारम्भिक निरीक्षण प्रतिवेदन तथा शिक्षा समितिको सिफारिसका आधारमा मणिपाल कलेज अफ मेडिकल साइन्सेज, पोखरामा डिएम नेफ्रोलोजी, नोबेल मेडिकल कलेज, विराटनगरमा डिएम नेफ्रोलोजी र डिएम कार्डियोलोजी, काठमाडौं मेडिकल कलेजमा एमसिएच युरोलोजी र एमसिएच सर्जिकल ग्यास्ट्रोइन्टेरोलोजी तथा नेपाल मेडिकल कलेजमा एमसिएच युरोलोजी विषयको पढाइ सञ्चालन गर्न सकिने विषयमा नेपाल मेडिकल काउन्सिल सकारात्मक रहेको व्यहोरा काठमाडौं विश्वविद्यालयलाई र सोही जानकारी एवं निरीक्षण प्रतिवेदन चिकित्साशिक्षा आयोगमा पठाउने निर्णय भयो ।
६. लुम्बिनी मेडिकल कलेज, पाल्पामा प्रस्तावित एमसिएच युरोलोजी तथा काठमाडौं मेडिकल कलेज, सिनामंगल काठमाडौंमा प्रस्तावित एससिएच न्युरोसर्जरी विषयको कार्यक्रम सञ्चालन गर्न नमिल्ने व्यहोरा काठमाडांै विश्वविद्यालयलाई जानकारी गराउने निर्णय भयो ।
७. नयाँ पदाधिकारीहरूको नियुक्ति भएपश्चात् विभिन्न बैंकहरूमा रहेका खाता सञ्चालन नियमानुसार अद्यावधिक गर्ने निर्णय भयो ।
८. मुलुकी फौजदारी कार्यविधि संहिता २०७५ को दफा १८९ को उपदफा (३) बमोजिम गठन हुने अनुसन्धान समितिको संयोजक घटनाको प्रकृति तथा आवश्यकतानुसार तोकी पठाउन काउन्सिलका अध्यक्षलाई जिम्मेवारी दिने निर्णय भयो ।
९. निरन्तर पेसागत उन्नयन नियमन (कन्टिनिअस प्रोफेसनल डिभलपमेन्ट रेगुलेसन) प्रस्तावउपर प्राप्त सुझाबसहित पारिर्जन गरी वर्ल्ड मेडिकल एसोसिएसनमा पठाउने निर्णय भयो ।
१०. नेपाल मेडिकल काउन्सिल र डेन्टल काउन्सिल अफ इन्डियाका बीच सहकार्य गर्न पहल गर्ने निर्णय भयो ।
११. काउन्सिलले तयार पारेको कोड अफ इथिक्स एन्ड प्रोफेसनल कन्डक्टलाई समयसापेक्ष परिमार्जन गरी नेपाली भाषामा अनुवाद गरी प्रकाशन गर्ने निर्णय भयो ।
१२. फौजदारी अपराधमा पुर्पक्षका लागि अदालतको आदेशानुसार थुनामा रहेको दर्तावाल चिकित्सकको व्यक्तिगत फाइल उच्च निगरानीमा राख्ने व्यवस्था गर्ने निर्णय भयो ।
१३. अब उप्रान्त काउन्सिलसँग सम्बन्धित सूचना, जानकारी तथा समाचारहरू नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रारमार्फत मात्र सार्वजनिकीकरण गरिने निर्णय भयो ।
१४. नेपाल मेडिकल काउन्सिलको ‘फ्रेन्ड्स अफ नेपाल मेडिकल काउन्सिल’ समूहका सदस्य तथा नेपाल सरकारका पूर्वसचिव शान्तबहादुर श्रेष्ठको मिति २०७६ पुस १० गते भएको असामायिक निधनप्रति हार्दिक भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो शोक तथा समवेदना प्रकट गर्ने निर्णय भयोे ।