औषधिबारे जानकारीमूलक मोबाइल ‘एप’ ल्याउँदै सरकार, विभाग भन्छ, ‘अब उपभोक्ताले ठगिनुपर्दैन’
सरकारले नेपालमा धेरैजसो प्रयोगमा आउने औषधिबारे जानकारीमूलक मोबाइल ‘एप’ सञ्चालनमा ल्याउने भएको छ । औषधि व्यवस्था विभागले आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा एपबारे जानकारी दिएको छ । विभागले सञ्चालनमा ल्याउने एप सरकारीतबरबाट सञ्चालित पहिलो औषधिसम्बन्धी एप हुनेछ ।
विभागले ६०० प्रकारका औषधि र तिनको विस्तृत जानकारी समेटिएको ‘नेप्लिज नेसनल फमुलरी’ एपको सार्वजनिक गरेको हो । विभागका अनुसार चिकित्सक, उपभोक्ता तथा सरोकारवाला पक्षले औषधिसँग सम्बन्धित सूचनाको स्रोतका रूपमा एपको प्रयोग गर्न सक्नेछन् ।
चिकित्सकले धेरै मात्रामा सिफारिस गर्ने ६ सयभन्दा बढी औषधि (विभिन्न जेनेरिक) बारे एपमा सूचना उपलब्ध हुने औषधि व्यवस्था विभागका निमित्त महानिर्देशक पानबहादुर क्षेत्रीले बताए । केही प्राविधिक कारणले ढिलाइ भएको जनाकारी दिँदै क्षेत्रीले २ जनावरीभित्रमा एप सुचारु हुने जानकारी दिए । एप डाउनलोड गरेर प्रयोगकर्ताले औषधिको प्रयोग गर्न सकिने अवस्था, त्यसबाट हुने असर, साइड इफेक्ट, सावधानी आदिबारे जानकारी लिन सक्ने र ठगिनबाट जोगिने विश्वास विभागको छ ।
‘एप डाउनलोड गरेपछि औषधिको प्रयोग गर्न सकिने अवस्था, त्यसबाट हुने असर आदिबारे सर्वसाधारणलाई जानकारी प्राप्त हुन्छ,’ महानिर्देशक क्षेत्रीले भने, ‘एपको प्रयोगपछि सर्वसाधारणले ठगिनुपर्दैन ।’ क्यान्सर, श्वासप्रश्वास, प्रजनन स्वास्थ्यलगायतसँग जोडिएका औषधिसम्बन्धी अत्यावश्यक जानकारी एपमा उपलब्ध हुने विभागले जनाएको छ ।
एपमार्फत सुरक्षित, असरयुक्त, गुणयुक्त र सुलभ रूपमा औषधि प्राप्त गर्नमा उपभोक्तालाई सहयोग पुग्ने विभागको दबी छ । एपको प्रयोगबाट उपभोक्ता ठगिनबाट जोगिन सक्ने विभागको विश्वास छ ।
स्वार्थप्रेरित भएर अनावश्यक औषधि प्रेस्क्राइब नगर्न मन्त्री ढकालको डाक्टरलाई चेतावनी
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अति आवश्यकीय औषधिबारे सर्वसाधारणले जानकारी पाउनु राम्रो काम भएको बताए । मन्त्री ढकालले सरकारी अस्पतालका डाक्टरले अस्पतालको फामेर्सीमा भएका औषधि प्रेस्क्राइब नगरी व्यक्तिगत फाइदाका लागि निजी फार्मेसीमा भएका औषधि प्रेस्क्राइब गरिरहेको जनाउँदै त्यस्तो प्रवृत्ति रोक्न चेतावानी दिए ।
‘बिरामीको आवश्यकताभन्दा पनि फार्मेसी सञ्चालकसँग डाक्टरको मित्रताका कारणले औषधि प्रेस्क्राइब हुने गरेको सुनेको छु,’ मन्त्री ढकालले भने, ‘सरकारी फार्मेसीमा उपलब्ध औषधि प्रेस्क्राइब नगरी निजी फार्मेसीमा रेफर गर्ने गरेका छन् । अब यो प्रवृत्ति रोक्नुपर्छ ।’
सरकारी अस्पतालभित्र सञ्चालित फार्मेसीको व्यवस्थापन कसरी गर्ने भन्ने निर्णय तत्कालै लिनुपरेको बताउँदै मन्त्री ढकालले यस विषयमा गहन रूपमा लाग्न सम्बन्धित पक्षलाई निर्देशन दिए । विभागले ल्याउन लागेको एपमार्फत औषधिको मूल्यबारे समेत जानकारी दिन सकेको खण्डमा सेवाग्राहीलाई थप मद्दत पुग्ने सुझाब मन्त्री ढकालले दिए ।