बिपी क्यान्सर अस्पतालमा ८ अत्याधुनिक शल्यक्रिया कक्ष सञ्चालनमा, अन्यत्र कतै छैन यो स्तरको सेवा
भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अत्याधुनिक शल्यक्रिया कक्ष सञ्चालनमा आएको छ । सरकार र अस्पतालको संयुक्त लगानीमा निर्मित अन्तर्राष्ट्रियस्तरको मान्यताप्राप्त उपकरणसहितको अत्याधुनिक शल्यक्रिया कक्ष शुक्रबारबाट सञ्चालनमा आएको हो ।
अस्पतालले एकैपटक ८ वटा मोडुलर अप्रेसन कक्ष सञ्चालनमा ल्याएको क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यले जानकारी दिए । शल्यक्रिया कक्ष सञ्चालनका लागि नेपाल सरकारको १० करोड र अस्पतालको ५ करोड गरी कुल १५ करोडमा निर्माण भएको हो । अस्पतालको मापदण्डअनुसार शुक्रबारबाट अप्रेसन थिएटर, आइसियू, पोस्टअपरेटिभ वार्ड, रिकभरी वार्ड एउटै तलामा सञ्चालनमा ल्याइएको छ ।
शल्यक्रिया कक्ष सञ्चालनमा आएसँगै बिरामीले लामो समयसम्म अप्रेसनका लागि पालो कुर्नुपर्ने समस्या हट्ने डा. आचार्यले बताए । उनका अनुसार, यसअघि ४ वटा शल्यक्रिया कक्षबाट मात्र अप्रेसन गर्दै आइएको थियो । ‘विगतमा दैनिक ६ वटासम्म अप्रेसन हुने गर्थ्यो, अब १५ जनाको सम्म गर्न सकिन्छ,’ डा. आचार्यले भने, ‘हप्तामा तीन दिन मात्र एउटा विभागले अप्रेसन गर्ने पालो पाउँथे, अब भने दैनिक पालो पाउनेछन् ।’
यसअघि अस्पतालमा अप्रेसनका लागि बिरामीले तीन महिनासम्म पालो कुर्ने गरेका छन् । बढीमा १० घण्टासम्म लगाएर अप्रेसन हुने गर्छ । एउटा अप्रेसनको बढीमा ४० हजारसम्म शुल्क लाग्ने डा. आचार्यले जानकारी दिए ।
नयाँ शल्यक्रिया कक्षमा अत्याधुनिक उपकरणसहितका सर्जरीका सामग्री उपलब्ध भएकाले काम गर्न सहज हुने कार्यकारी निर्देशक डा. आचार्यले बताए । शल्यक्रिया कक्षको पर्खाल बाहिरको आवाज भित्र नछिर्ने गरी (मोडुलर) अत्याधुनिक प्रविधिबाट बनाइएको छ । यसले बाहिरी वातावरणको संक्रमणबाट जोगाउने डा. आचार्यले जानकारी दिए । यस्ता ८ वटा कक्षसहितको अत्याधुनिक शल्यक्रिया कक्ष अन्य अस्पतालमा नभएको उनको दाबी छ ।
क्यान्सर अस्पतालमा शल्यक्रिया कक्ष थप गरिएसँगै दक्ष जनशक्ति पनि बिस्तारै वृद्धि गरिने अस्पतालले बताएको छ । अस्पतालको शय्या १९४ बाट वृद्धि गरेर ४५० पुर्याइएको छ । अहिले अस्पतालले विस्तारित सेवासमेत सञ्चालनमा ल्याएको छ । यसअघि प्रयोग गर्दै आएका शल्यक्रिया कक्ष अबका दिनमा सञ्चालन नगर्ने अस्पतालले जानकारी दिएको छ । नयाँ शल्यक्रिया कक्षको उद्घाटन भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले गरेकी थिइन् ।