बिहीबार वर्षकै चिसो दिन, अस्पतालमा ६०% पुगे चिसोका बिरामी, काठमाडौंको तापक्रम ‘माइनस’मा झर्ने
काठमाडौं उपत्यकासहित देशभर बिहीबारदेखि चिसो अत्यधिक बढेको छ । लगातार चिसो बढेसँगै जनजीवन प्रभावित बन्दै गएको छ । काठमाडौं उपत्यकामा यस वर्षको सबैभन्दा कम तापक्रम ०.९ डिग्री सेन्टिग्रेट मापन गरिएको छ, जुन बिहीबार विहान ८ बजेको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार जुम्लाको तापक्रम माइनस ७ डिग्री सेन्टिग्रेडमा झरिसकेको छ । महाशाखाले काठमाडौंको तापक्रम केही दिनभित्रै माइनसमा झर्ने बताएको छ ।
त्रिवि शिक्षण अस्पतालमा ६० प्रतिशत बिरामी चिसोका
जाडो बढेसँगै राजधानीका प्रमुख अस्पतालमा रुघाखोकी, दम तथा निमोनियाका बिरामीको संख्या ह्वातै बढेको छ । महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा चिसोका बिरामी दिनप्रतिदिन बढ्दै गएको छातीरोग विशेषज्ञ डा. नीरज बम बताउँछन् । अस्पतालमा दैनिक ओपिडीमा ज्वरो, रुघाखोकीलगायतका करिब २ सय बिरामी आउने गरेकोमा ६० प्रतिशतभन्दा बढीमा चिसोको संक्रमण पाइएको उनले जानकारी दिए ।
चिसोको संक्रमणका कारण मुख्यतया रुवाखोकी, ज्वरो, निमोनिया, छातीसम्बन्धी समस्या लिएर बिरामी आउने गरेकोे डा. बमले बताए । ‘चिसोका कारण केही बिरामीलाई निमोनिया भई आइसियूमा भर्ना गरेर राख्नुपरेको अवस्था छ,’ डा. बम भन्छन्, ‘चिसो बढेसँगै अस्पताल आउने बिरामीको संख्या पनि बढ्दै गएको छ ।’
के छ कान्तिको अवस्था ?
जाडो महिनामा सामान्यतः सबै अस्पतालमा बिरामीको चाप कम हुने हुन्छ । कान्ति बाल अस्पतालमा आजभोलि ३ सय ५० को हाराहारीमा ओपिडी टिकट बिक्री हुने गरेको अस्पतालले जनाएको छ । अस्पतालमा चिसोका कारण बालबालिकामा रोटा भाइरसकाले हुने झाडापखाला तथा आरएसभी भाइरसका कारण हुने ब्युंकोलाइटिस (निमोनिया) जस्ता संक्रमणको दर बढेको अस्पतालका निर्देशक डा. आरपी बिच्छा बताउँछन् ।
‘चिसो मौसममा हुने झाडापखाला सामान्यता ५ वर्षभन्दा कम उमेरका बालबालिकामा देखापर्छ । तर, १ वर्षमुनिका बालबालिकामा संक्रमण र मृत्युको जोखिम बढी हुने हुन्छ,’ डा. बिच्छा भन्छन्, ‘बालबालिकामा सुरुवातमा बान्ता भएको २–३ पटकपश्चात् पानीपखला चल्ने हुन्छ । बालबालिकालाई पानीको कमी भएको खण्डमा अन्य संक्रमण बढ्दै जान्छ ।’ हाल अस्पतालमा आउने ओपिडीका बिरामीमध्ये करिब १० प्रतिशत चिसो मौसममा हुने झाडापखालाले पीडित भएको उनले बताए । यसमध्ये दैनिक ४–५ जनालाई भर्ना गरेर राख्नुपरेको डा. बिच्छाले जानकारी दिए ।
त्यसैगरी, चिसो मौसममा आरएसभी भाइरसका कारण ब्युुंकोलाइटिस (निमोनिया) जस्ता संक्रमण हुने गर्छ । यसको असर १ वर्षभन्दा कम उमेरका बालबालिकामा बढी हुने गरेको डा. बिच्छा बताउँछन् । ब्युंकोलाइटिस भाइरसका कारण श्वासप्रश्वासमा समस्या, ज्वरो आउने, खोकी लाग्ने हुन्छ,’ डा. बिच्छा भन्छन्, ‘३–४ दिनमा निको नभएको खण्डमा सेकेन्डरी इन्फेक्सन भएका कारण निमोनियाको रूप लिने गर्छ ।’
डा. बिच्छाका अनुसार चिसोबाट बालबालिकालाई जोगाउन खुट्टा तथा टाउकोमा न्यानो कपडा लगाइदिने, बिहान–बेलुका घरबाहिर ननिकाल्ने, झोल पदार्थ प्रशस्त खुवाउने, बालबालिकाको सरसफाइमा ध्यान दिने गर्नुपर्छ । चिसोका कारण रुघाखोकी, दम, घाँटी खस–खस गर्ने, भाइरल इन्सेफलाइटिस (मस्तिष्कज्वर), निमोनिया, रोटाभाइरल झाडापखाला, बान्ता हुने, टाउको दुख्ने, बेहोस हुने, पिनास र एलर्जीका बिरामी बढेका छन् । चिसोबाट बढी प्रभावित हुनेमा वृद्धवृद्धा, दमका बिरामी, बिहानै काममा जाने समूह रहेको चिकित्सक बताउँछन् ।
प्रत्येक वर्ष जाडोको सुरुवातसँगै रुघाखोकी तथा ज्वरोका बिरामी बढ्ने गरेको चिकित्सकको भनाइ छ । रुघाखोकीलाई सामान्य रूपमा लिई बेवास्ता गर्दा श्वास–प्रश्वाससम्बन्धी विभिन्न जटिल प्रकारका रोगले संक्रमण गर्ने गरेको डा. बम बताउँछन् । रुघाखोकी तथा ज्वरोलाई सामान्य रूपमा लिई वेलैमा उपचारमा ध्यान दिन नसकिएको अवस्थामा यसका कारण जटिल परिस्थितिको पनि सिर्जना हुन सक्छ । ‘रुघाखोकी तथा ज्वरोलाई सामान्य रूपमा लिएर अधिकांशले नजिकैको औषधि पसलमा गएर अनुमानका भरमा आफूखुसी औषधि किनेर खाने गरेको पाइन्छ,’ डा. बिच्छा भन्छन्, ‘यसरी विनास्वास्थ्यपरीक्षण तथा चिकित्सकको सल्लाहविना औषधि खानु राम्रो होइन । यसले भविष्यमा विभिन्नखाले जटिल स्वास्थ्य समस्यासमेत देखापर्न सक्छन् ।’
बालबालिकालाई बान्ता हुने, लगातार रूपमा झाडापखला लागेमा तुरुन्तै नजिकको स्वास्थ्यसंस्थामा देखाउन डा. बिच्छाको सुझाव छ ।
चिसोबाट बच्न डा. बमको सुझाब
१. बिहान–बेलुका चिसोमा सकेसम्म बाहिर हिँडडुल नगर्दा नै फाइदा हुन्छ । हिँडडुल गर्नैपरे शरीर पूरै छोपिने गरी न्यायो कपडा लगाएर निस्कनुपर्छ ।
२. सकेसम्म तातोपानी प्रशस्त पिउनुपर्छ ।
३. प्रशस्त मात्रामा झोलियो खानेकुरा खानुपर्छ ।
४. मौसमी फलफूल विशेष गरेर भिटामिन सीयुक्त फलफूल खानुपर्छ । चिसो खानेकुरा खानुहुँदैन ।
५. भाइरल फ्लु लागेका मानिससित दूरी कायम गर्नुपर्छ ।
६. चिसो मौसममा तुँवालो लागेका वेला माक्सको प्रयोग गर्नुपर्छ, जसबाट श्वासप्रश्वाससम्बन्धी समस्याबाट जोगिन मद्दत पुग्छ ।
७. राति कोठाको वातावरण न्यायो राख्नुपर्छ ।
८. हातगोडा र ओठ फुट्ने वा छाला फुस्रो हुने समस्या भएकाले मोइस्चराइजर क्रिमको प्रयोग गर्नुपर्छ ।