उपेन्द्र बाहिरिएकै दिन गंगालालबाट गलहत्याइए डा. लिम्बू, डा. चन्द्रमणि अधिकारी निर्देशकमा नियुक्त

हेल्थपोस्ट नेपाल

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीको कार्यकारी निर्देशकमा डा. चन्द्रमणि अधिकारी नियुक्त भएका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकले डा. अधिकारीलाई निर्देशकमा नियुक्त गरेको हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले डा. अधिकारीलाई गंगालालको निर्देशकमा नियुक्त गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए । मन्त्री ढकालको सिफारिस अनुमोदन गर्दै मन्त्रिपरिषद्ले ४ वर्षे कार्यकालका लागि डा. अधिकारीलाई निर्देशकमा नियुक्त गरेको हो ।

संयोग : नियुक्त गर्ने मन्त्री हटेकै दिन हटाइए डा. लिम्बू
यसअघि अस्पतालको निमित्त निर्देशकका रूपमा डा. युवराज लिम्बूले जिम्मेवारी सम्हाल्दै आएका थिए । डा. लिम्बूलाई तत्कालीन स्वास्थ्यमन्त्री उपेन्द्र यादवले २५ साउनमा निमित्त निर्देशकको जिम्मेवारी दिएका थिए । करिब १ महिनाअघि अपमानजनक ढंगले स्वास्थ्यबाट कानुन मन्त्रालयमा सारिएका मन्त्री यादवको संघीय समाजवादी पार्टी मंगलबार नै सरकारबाट बाहिरिएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकमा संविधान संशोधनको प्रस्ताव लिएर गएका उपप्रधान एवम् कानुनमन्त्री यादवलाई प्रधानमन्त्री केपी शार्मा ओलीले अपमानजनक ढंगले हपारेपछि उनी र उनको पार्टीले मंगलबार सरकारबाछ बाहिरिने निर्णय गरेको बताइएको छ ।

छुट्टै ऐनद्वारा निर्देशित संस्थाको प्रमुख नियुक्ति मन्त्रिपरिषद्बाट हुनुपर्ने कानुनी प्रावधान भए पनि स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मन्त्रीस्तरीय निर्णयबाट डा. लिम्बूलाई आर्थिक अधिकारसहितको निमित्तनिर्देशकको जिम्मेवारी दिएका दिएका थिए । धेरै सिनियर चिकित्सकको विरोधका बाबजुद पनि यादवले आफ्ना राजनीतिक सल्लाहकारको दबाबमा डा. लिम्बूलाई निमित्त निर्देशक बनाएका थिए । डा. लिम्बूलाई पूर्ण निर्देशक बनाउन यादवले प्रधानमन्त्रीसित पहल गरे पनि उनी सफल भएका थिएनन् । मुटुरोग विशेषज्ञ डा. लिम्बूले यसअघि त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज र पाटन अस्पतालमा काम गरेका थिए । ती अस्पतालमा कार्यरत रहँदा डा. लिम्बूको कार्यक्षमतामाथि प्रश्न उठेका कारण उनले अस्पतालबाट बिदा लिनुपरेको थियो ।

गंगालालको निर्देशक नियुक्तिका क्रममा सिनियरलाई पाखा लगाएर राजनीतिक निकटताका आधारमा जुनियरलाई तान्ने गरिएको गुनासो कार्यरत चिकित्सकहरूको छ । आफूभन्दा जुनियरको मातहतमा रहेर काम गर्न अफ्ट्यारो हुने भन्दै कतिपय चिकित्सकले जागिर छोडिसकेका छन् भने कतिपय छोड्ने मनस्थितिमा भएको बताइएको छ ।



Leave a Reply

Your email address will not be published.