खोपपछि बालकको मृत्यु प्रकरणमा हिरासतमा लिइएका स्वास्थ्यकर्मी भट्ट विनासर्त रिहा

हेल्थपोस्ट नेपाल
स्वास्थ्यकर्मी हीरादत्त भट्टको रिहाइका लागि बुधबार स्वास्थ्य तथा जनसंख्यासचिव खगराज बराललाई ज्ञापनपत्र बुझाउँदै नेपाल स्वास्थ्यकर्मी संघका पदाधिकारी

खोप लगाएको भोलिपल्ट ५ महिने बालकको मृत्यु भएपछि पीडित परिवारको जाहेरीका आधारमा पक्राउ परेका स्वास्थ्यकर्मी हीरादत्त भट्ट रिहा भएका छन् । २० मंसिरमा पक्राउ परेका भट्ट बिहीबार विनासर्त रिहा भएको नेपाल स्वास्थ्यकर्मी संघका महासचिव दीपकराज भट्टले जानकारी दिए ।

डोटी जिल्ला जोरायल गाउँपालिकाअन्तर्गत घण्टेश्वर स्वास्थ्यचौकीका इन्चार्ज भट्टले सोही गाउँपालिका वडा १ को खार खोपकेन्द्रमा १७ मंसिरमा सोही वडाका ५ वर्षीय बालक प्रवीण मल्ललाई खोप लगाएका थिए । खोप लगाएर घर लगिएका बालक मल्ल भोलिपल्ट १८ मंसिरमा मृत्यु भएको थियो । खोपपछि आफ्नो सन्तानको मृत्यु भएपछि १९ मंसिरमा पीडित परिवारले डोटी प्रहरीमा भट्टविरुद्ध किटानी–जाहेरी दिएको थियो । सोही जाहेरीका आधारमा २० मंसिरमा प्रहरीले स्वास्थ्यकर्मी भट्टलाई पक्राउ गरेको थियो ।

खोपपछि बालकको मृत्यु दुःखद भए पनि नियमित स्वास्थ्य सेवाप्रवाहमा संलग्न स्वास्थ्यकर्मीलाई भवितव्यका रुपमा आइपर्ने घटनाको दोषी बनाउन नमिल्ने भन्दै नेपाल स्वास्थ्यकर्मी संघले भट्टको रिहाइको माग गर्दै आएको थियो । स्वास्थ्यकर्मी भट्टले खोप ऐन तथा नियमावलीले तोकेको जिम्मेवारीबमोजिम नै आफ्नो कर्तव्य पालना गरेकोमा खोपसिर्जित दुर्घटनामा उनीविरुद्ध किटानी जाहेरी लिई हिरासतमा लिन नमिल्ने संघको भनाइ थियो । संघका जिल्ला, प्रदेश तथा केन्द्रीय तहका समितिहरुले भट्टको विनासर्त रिहाइको माग गर्दै आएका थिए । आफ्नो कर्तव्य निर्वाहका निम्ति सेवारत स्वास्थ्यकर्मीलाई पक्राउ गर्नुले देशभरका स्वास्थ्यकर्मीलाई सेवाप्रवाहमा हतोत्साहित गरेको संघले बताउँदै आएको थियो ।

खोप लगाउँदा त्यसको असरस्वरुप लाखमा एकको मृत्यु हुन सक्ने अन्तर्राष्ट्रिय मान्यता छ । खोपका कारण मृत्युको घटना यसअघि पनि सुनिँदै आएका छन् । यद्यपि, यसअघिका कतिपय घटनामा स्वास्थ्यकर्मीले पीडित पक्षलाई क्षतिपूर्ति तिरेका उदाहरण पनि छन् । खोपबाट कतिपय बालबालिकामा केही साझा र केही भिन्नखाले असर देखिने विशेषज्ञको भनाइ छ ।



Leave a Reply

Your email address will not be published.