२५ वर्षीया युवतीको घाँटीमा २ केजीको ट्युमर, भक्तपुर क्यान्सर अस्पतालमा सफल शल्यक्रिया

हेल्थपोस्ट नेपाल

भक्तपुर क्यान्सर अस्पतालमा एक युवतीको घाँटीको पछाडि भागमा फैलिएको २ केजीको ट्युमरको सफल शल्यक्रिया गरिएको छ । अस्पतालका न्युरो सर्जन डा. राजीव शाह नेतृत्वको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले गत साता जटिल अवस्थामा रहेको सो ट्युमरको शल्यक्रियामा सफलता हात पारेको हो ।  सर्लाहीकी २५ वर्षीया ती महिलाको ट्युमरको शल्यक्रिया सम्पन्न गर्न करिब ५ घण्टा लागेको थियो । घाँटीजस्तो संवेदनशील स्थानमा जटिल रूपमा फैलिएको ठूलो परिमाणको ट्युमर भएका कारण शल्यक्रिया लामो भएको चिकित्सकको भनाइ छ । व्यक्तिगत गोपनीयतालाई ध्यानमा राखेर बिरामी महिलाको नाम भने सार्वजनिक गरिएको छैन ।

को–को थिए उपचार टोलीमा ?
डा. शाह नेतृत्वको उपचार टोलीमा, टाउको तथा घाँटी विभागका डा. विवेक खनाल,डा. सन्देश मैनाली,डा. रिजेन्द्र योगोल र एनेस्थेसिया विभागका डा. दीपेश धिताल, आरोग्य कँडेल, मेडिकल अफिसर डा. विशाल पोखरेल र नर्सहरूको संलग्नता थियो । घाँटीजस्तो संवेदनशील भागमा ट्युमर भएका कारण शल्यक्रिया जटिल भएको उपचारमा संलग्न चिकित्सक बताउँछन् । सफल शल्यक्रियापछि अबको केही दिनभित्रैमा बिरामीलाई डिस्चार्ज गरिने र उनी पूर्णतः सुरक्षित रहेको उपचारमा संलग्न डा. राजीव शाहले जानकारी दिए । ‘शल्यक्रियापछि बिरामीलाई दुई दिन आइसियूमा राखेर उपचार गरेका थियौँ,’ डा. शाहले भने, ‘अहिले उहाँको स्वास्थ्य सामान्य बनेपछि वार्डमा सारिएको छ ।’

शल्यक्रियाका क्रममा स्नायुहरूमा क्षति पुग्ने जोखिम रहे पनि टिमले ५ घण्टा लगाएर विनाकुनै क्षति सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेको र अहिले बिरामीको अवस्था खतरामुक्त रहेको डा. शाह बताउँछन् । ‘शल्यक्रियाका क्रममा अधिक रक्तस्राव भएर बिरामीको ज्यानै जाने जोखिम पनि उत्तिकै थियो,’ डा. शाहले भने । बिस्तारै–बिस्तारै ट्युमरले ढाकेको सबै भाग काटेर फालेको डा. शाह बताउँछन् । डा. शाहका अनुसार बिरामीको घाँटीको पछाडिपट्टिको सबै भाग ट्युमरले ढाकेको थियो । ‘ट्युमर देख्नासाथ कति काटेर फाल्नुपर्छ भन्ने थाहा भइहाल्छ,’ शाहले भने, ‘ट्युमरलाई काट्ने प्रक्रिया नै सबैभन्दा जटिल र चुनौतीपूर्ण हुन्छ ।’

यो जटिल शल्यक्रियामा हात परेको सफलताले थप जटिल शल्यक्रियाको चुनौती लिन कन्फिडेन्स लेबल बढेको डा. शाह बताउँछन् । यसखाले ट्युमर पलाएका बिरामी धेरै भए पनि यति ठूलो ट्युमर बिरलै भेटिने गरेको उनको भनाइ छ ।उपचारका लागि ७ महिनादेखि विभन्न अस्पताल धाएर आएकी ती महिला गत साता भक्तपुर क्यान्सर अस्पताल पुगेकी थिइन् । आर्थिक हिसाबले निम्नवर्गीय परिवारकी ती महिला निजी अस्पतालले भर्ना नलिएका कारण भौँतारिँदै भक्तपुर क्यान्सर अस्पतालको न्युरो सर्जरी (ओपिडी) मा सेवा लिन आइपुगेकी थिइन् ।

‘शल्यक्रिया गरेर निकालिएको ट्युमरलाई बायोप्सी परीक्षणका लागि प्रयोगशाला पठाइएको छ । परीक्षणको रिपार्टका आधारमा क्यान्सर भए–नभएको पुष्टि हुन्छ,’ शाह भन्छन्, ‘क्यान्सर भएको खण्डमा केमोथेरापी वा रेडियोथेरापी उपचारविधिको अवलम्बन गर्नुपर्ने हुन्छ ।’ शल्यक्रियाको विकसित पद्धति, आधुनिक स्वास्थ्य उपकरण, विकसित एनेस्थेसिया, राम्रो आइसियू केयरलगायत अत्याधुनिक सुविधा उपलब्ध भएका कारण भक्तपुर क्यान्सर अस्पतालमा जटिल उपचार पनि सम्भव रहेको अस्पतालको दाबी छ ।



Leave a Reply

Your email address will not be published.