आइओएमअन्तर्गत बुधबार सुरु हुने प्रथम वर्षको परीक्षा बहिष्कार गर्ने विद्यार्थीको घोषणा, आन्दोलन चर्काइने

हेल्थपोस्ट नेपाल

त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) ले बुधबार (१८ मंसिर) देखि सञ्चालन गर्न लागेको चिकित्साशिक्षाको वार्षिक परीक्षा विद्यार्थीले बहिष्कार गर्ने भएका छन् । एमबिबिएस, बिडिएसलगायत स्नातक तहका प्रथम वर्षका विद्यार्थीले यस वर्षको वार्षिक परीक्षा दोस्रोपटक बहिष्कार गर्न लागेका हुन् । मेडिकल कलेजहरूले अवैध रूपमा असुलेको अतिरिक्त शुल्क फिर्ताको माग गर्दै महिनौँदेखि आन्दोलनरत विद्यार्थीले यसअघि २१ कात्तिकका लागि तोकिएको परीक्षा बहिष्कार गरेपछि आइओएमले १८ मंसिरका लागि परीक्षा सारेको थियो ।

३ मेडिकल कलेजका करिब २ सय विद्यार्थी परीक्षामा सामेल नहुने
कलेजको ठगीविरुद्ध आफूहरूले महिनौँदेखि आन्दोलन चलाइरहँदा सरकारले ठगीकर्ता कलेज सञ्चालककै तजबिजमा पीडित विद्यार्थीले न्याय नपाउने गरी शुल्क फिर्ताको सहमति गरेको भन्दै विद्यार्थीले आन्दोलन जारी नै राखेका छन् । संगठित रूपमा आन्दोलन गरिरहेका विद्यार्थीबीच फुट ल्याई आन्दोलन तुहाएर ठगीकर्तालाई उन्मुक्ति दिने नियोजित चालअन्तर्गत १० मंसिरमा प्रमुख सरोकार पक्षा विद्यार्थीको प्रतिनिधित्वसमेत नगराई अपूरो र अवैज्ञानिक सहमति गरिएको विद्यार्थीको भनाइ छ ।

सरकार र मेडिकल कलेज सञ्चालकहरूबीचको २ बुँदे शुल्क समायोजन सहमतिप्रति असन्तुष्ट विद्यार्थीले बुधबारदेखि सुरु हुने परीक्षा बहिष्कार गरी आन्दोलन चर्काउने बताएका छन् । चितवन मेडिकल कलेज, नेसनल मेडिकल कलेज र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा प्रथम वर्षमा अध्ययनरत करिब २ सय विद्यार्थीले परीक्षा बहिष्कार गरेर पूर्ण न्याय नपाएसम्म आन्दोलनलाई थप सशक्त बनाउने घोषणा गरेका हुन् ।

सरकारले अवैध शुल्क फिर्ता गर्न दिएको पटक–पटकको अल्टिमेटम नमानेका कलेज सञ्चालकहरूसित १० मंसिरमा रातारात दुईबुँदे सहमति गरेको थियो । सहमतिका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा चलाइएको ८–१० घण्टा लामो छलफलमा लामो समयदेखि पठन–पाठन ठप्प पारेर आन्दोलन गरिरहेका पीडित विद्यार्थीको भने प्रतिनिधित्व गराइएको थिएन । सहमतिमा एमबिबिएस र बिडिएसका प्रथम र द्वितीय वर्षमा अध्ययनरत विद्यार्थीबाट असुलिएको अतिरिक्त शुल्क मात्र समायोजन गर्ने सहमति भएको थियो । सबै संकाय र वर्षका विद्यार्थीबाट ठगिएको सम्पूर्ण रकम फिर्ता हुनुपर्ने माग आन्दोलनरत विद्यार्थीको छ ।

हातमा कालोपट्टी र मानवसांलोसहित परीक्षाकेन्द्रमा प्रदर्शन गरिने
बुधबारदेखि सुरु हुने प्रथम वर्षको परीक्षा बहिष्कार गर्न लागेका विद्यार्थीले हातमा कालोपट्टी र मानवसांलो बनाएर परीक्षाकेन्द्रमा प्रदर्शन गर्ने भएका छन् । प्रदर्शनसहित परीक्षाकेन्द्रमा धर्ना दिने तर परीक्षामा सामेल नहुने कार्यक्रम तय भएको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसका एक विद्यार्थीले हेल्थपोस्टलाई जनाकारी दिए ।
‘हामी हुनै पनि हालतमा परीक्षामा सहभागी हुँदैनौँ,’ ती विद्यार्थीले भने, ‘भोलिको परीक्षामा हातमा कालोपट्टी लगाएर विरोध गर्छौं ।’

मेडिकल कलेजहरूले विद्यार्थीबाट ३ अर्बभन्दा बढी ठगी गरेको प्रतिवेदन राष्ट्रिय सतर्कता केन्द्रले प्रधानमन्त्रीलाई बुझाइसकेको अवस्थामा पनि सरकारले ठगीकर्ता कलेजहरूलाई ठगी रकम फिर्ता गराउन नसक्दा तथा कारबाही प्रक्रिया बढाउन नसक्दा पीडित विद्यार्थीको भविष्य अन्योलमा परेको छ । यसअघि नै एक महिनाका लागि स्थगित गरिएको परीक्षा फेरि पनि स्थगित गरिए चिकित्साशिक्षाका विद्यार्थीको एकेडेमिक क्यालेन्डर नै प्रभावित हुने खतरा छ ।

सरकार ठगीकर्तासामु नतमस्तक देखिएको वर्तमान अवस्थामा परीक्षा सारेर पनि कुनै प्रगति हुने संकेत देखिएको छैन । यस्तोमा न आइओएम परीक्षा स्थगित गर्न सक्ने अवस्थामा छ न विद्यार्थी नै परीक्षा दिने अवस्थामा छन् । यसको प्रत्यक्ष मारमा भने कलेजबाट ठगिएका विद्यार्थी नै पर्ने निश्चित छ ।

तेस्रो र चौथो वर्षका विद्यार्थीले आन्दोलन थप सशक्त बनाउँदै लैजाने
स्नातक तेस्रो र चौथो वर्षका विद्यार्थीले आन्दोलन थप सशक्त बनाउने बताएका छन् । यद्यपि, उनीहरूको आन्दोलनमा माग पूरा भएको भनिएका प्रथम र द्वितीय वर्षका विद्यार्थीले समेत पूर्णतः साथ दिएका छन् । प्रथम वर्षका विद्यार्थीले परीक्षा नै बहिष्कार गरेर आन्दोलनमा साथ दिनुले कलेज सञ्चालकको विद्यार्थीमा फुट ल्याउने चाल सफल नभएको पुष्टि गर्छ ।

सरकारले अर्बौं ठगीकर्ता कलेज सञ्चालकको इसारामा सहमति गरेर पीडित विद्यार्थीलाई धोका दिएको गण्डकी मेडिकल कलेजका विद्यार्थी अंकित सिन्हा बताउँछन् । माफियामुखी दुईबुँदे सहमति खारेज गरी सम्पूर्ण रूपमा अवैध असुलिएको रकम फिर्ता नभएसम्म आन्दोलन जारी रहने उनको भनाइ छ । तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीसँग लिएको अतिरिक्त रकम फिर्ता गर्नुपर्नेमा आयोगलाई अध्ययन गर्न दिने, प्रतिवेदन आएपछि, निर्णय आएपछि भनेर झारा टार्ने काम भएको सिन्हा बताउँछन् ।

चितवन मेडिकल कलेजका विद्यार्थीले परीक्षको अघिल्लो दिन मंगलबार पनि कलेजमा धर्ना तथा प्रदर्शन जारी राखेका छन् । विद्यार्थीले दुईबुँदे शुल्क समायोजन सहमतिको चर्को विरोध गरेका थिए । सरकार र माफियाको मिलेमतोमा गरिएको विद्यार्थीमारा सहमति खारेज गरी सबै विद्यार्थीबाट ठगिएको रकम फिर्ता गरिनुपर्नेमा विद्यार्थीको जोड थियो । यसैगरी, नेसनल र युनिभर्सलमा पनि विद्यार्थीको अवैध शुल्क फिर्ताको आन्दोलन जारी नै छ ।



Leave a Reply

Your email address will not be published.