प्रधानमन्त्रीको ‘डिस्चार्ज योजना’ बनाउँदै चिकित्सक, दुई/तीन दिनभित्रै बालुवाटार सारिने

एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रियापछि मनमोहन कार्डियोथोरासिस एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वस्थ्यमा उल्लेख्य सुधारपछि चिकित्सकहरुले डिस्चार्जको तयारी थालेका छन् ।
एपेन्डिसाइटिसपछि पेट र रंगतमा फैलिएको संक्रमण नियन्त्रणमा रहेको र घाउ पनि निको भइसकेसँगै चिकित्सकहरुले डिस्चार्ज गर्ने योजना बनाएका हुन् । ‘अब डिस्चार्ज गर्न सकिन्छ, तर बालुवाटारभित्रको भेटघाट र वाँकी उपचारका व्यवस्था सहज हुनेवित्तिकै सार्ने तयारी छ,’ उपचारमा संलग्न एक चिकित्सकले भने ।
ती चिकित्सकका अनुसार प्रधानमन्त्रीलाई ठोस खानासमेत दिन थालिससकिएको छ । शरीरमा इलेक्टोलाइडहरुका मात्रा पनि नर्मल भइसकेको छ ।
स्रोतका अनुसार बालुवाटारभित्र डाइलासिस गर्ने प्रबन्ध मिलाउँने र अस्पताल रहँदै टाँका काटेर डिस्चार्ज गर्नेमा चिकित्सकहरु तयार छन् । ‘अहिलेसम्म अवस्था हेर्दा एकदमै राम्रो सुधार छ, खाना, बस्न, हिँडडुलमा कुनै समस्या छैन्,’ ती चिकित्सकले भने, ‘भेटघाट र थप संक्रमण नहोस् भन्नका लागि सावधानी अपनाएर मात्रै अस्पताल राखिएको हो,’ उनले भने ।
अहिले संक्रमण नियन्त्रणका लागि नियमित एन्टिवायोटिक्स दिने र संक्रमणका मात्रा हेर्नका लागि कल्चर र अन्य जाँचहरु नियमित रुपमा भइरहेको छ ।
प्रधानमन्त्रीको स्वास्थ्यलाई लिएर आइतबार बढी हल्ला चलेपछि अस्पतालले डिस्चार्ज योजनासहितको प्रेस विज्ञाप्ति सोमबार जारी गर्ने तयारी गरेको छ । अचानक पेट दुःखाई सूरु भएपछि मंसिर १० मा अस्पताल पुर्याइएका ओलीको सोही दिन शल्यक्रिया भएको थियो । तत्काल भेन्टिलेटरमा राखेर उपचार सुरु गरेसँगै केही घण्टापछि नै स्वास्थ्यमा उल्लेखनीय सुधार देखिन थालेको थियो ।