सरकार र मेडिकल कलेजबीचको सहमतिप्रति विद्यार्थी असन्तुष्ट, आन्दोलन जारी रहने
सरकार र मेडिकल कलेज सञ्चालकबीच भएको दुईबुँदे सहमतिप्रति प्रमुख सरोकार पक्ष विद्यार्थी भने असन्तुष्ट देखिएका छन् । सरकारले तोकिएभन्दा बढी शुल्क लिएका मेडिकल कलेजहरू रकम फिर्ता गर्न तयार रहेको जनाए पनि केवल दुईवटा संकायका पहिलो र दोस्रो वर्षका विद्यार्थीको मात्र रकम समायोजन गर्ने सहमति भएको र अन्य संकायको कुरा नआएको भन्दै विद्यार्थी असन्तुष्ट देखिएका हुन् ।
बुधबार (आज) दिउँसो चितवन मेडिकल कलेजका विद्यार्थीले सरकार र मेडिकल कलेजबीचको अपुरो सहमति आफूहरूलाई मान्य नहुने भन्दै कलेजअगाडि धर्ना दिए । धर्ना कार्यक्रममा बोल्दै विद्यार्थी मान्यता थापाले सहमतिमा एमबिबिएस र बिडिसको कुरा आए पनि पारामेडिक्सको विषयमा केही कुरा नआएको बताइन् ।
अवैध शुल्क फिर्ता गर्न सरकारले दिएको १५ दिनको समयसीमाभित्र कलेजले फिर्ता नगरेपछि गृह मन्त्रालयले कलेज सञ्चालकलाई पक्राउ गर्ने निर्णय गरेको थियो । सोही निर्णयका क्रममा दिइएको २४ घण्टे अल्टिमेटमको अन्तिम आवरमा मंगलबार अबेर राति मेडिकल कलेज सञ्चालकले बढी लिएको शुल्क फिर्ता गर्ने प्रतिबद्धता जनाएका थिए । सरकारको निर्देशनबमोजिम पक्राउ पर्ने सम्भावना भएपछि शिक्षा मन्त्रालयमा भएको लामो छलफलका क्रममा मेडिकल कलेज सञ्चालकहरू शुल्क फिर्ता गर्न तयार भएका हुन् । तर, निकै आक्रामक स्वरूप देखाउन खोजेको सरकार अन्ततः कलेज सञ्चालकप्रति निकै खुकुलो बनेको छ । कलेज सञ्चालकले आफूअनुकूल हुने गरी सरकारलाई गलाएर मात्र सम्झौता गरेका छन् ।
सरकारले मेडिकल माफियालाई पोस्ने गरी निर्णय गरेको आन्दोलनरत विद्यार्थीको भनाइ छ । मंगलबार भएको सहमतिमा मेडिकल कजेजले शैक्षिक सत्र ०७४÷७५ र ०७५÷७६ को हकमा अतिरिक्त शुल्क समायोजन वा फिर्ताको प्रक्रिया थाल्ने तथा ०७२÷७३ र ०७३÷७४ को हकमा चिकित्साशिक्षा आयोगले उपयुक्त निर्णय लिने उल्लेख छ ।
सरकार र मेडिकल कलेज सञ्चालकहरूले स्नातक तहका एमबिबिएस र बिडिएस कार्यक्रमका लागि मात्र अतिरिक्त शुल्क फिर्ता गर्र्ने सहमति गरे पनि पारामेडिक्सको कुरा कतै नआएको विद्यार्थीको भनाइ छ । आफ्नो माग पूरा हुने गरी नभई अलमल्याउने गरी सम्झौता भएकाले आफूहरूलाई मान्य नहुने र आन्दोलन जारी राख्ने चितवन मेडिकल कलेजका विद्यार्थीले अठोट गरेका छन् । उनीहरूले बुधबार पनि धर्ना तथा प्रदर्शन जारी राखेका छन् ।
अन्य कलेजमा पनि आन्दोलन जारी
सिएमसीमा मात्र नभएर अन्य मेडिकल कलेजमा पनि विद्यार्थीले धर्ना तथा प्रदर्शनलाई जारी राखेका छन् । मंगलबारको सरकार र कलेज सञ्चालकबीचको सम्झौता पीडित विद्यार्थीमुखी नभएर मूलतः माफियामुखी भएकाले जारी आन्दोलनबाट आफू पछि नहट्ने विद्यार्थीको भनाइ छ ।
वीरगन्जको नेसनल मेडिकल कलेजका विद्यार्थीले मंगलबारको अतिरिक्त शुल्क फिर्ताको सम्झौताको विरोधमा बुधबार प्रदर्शन गरेका छन् । शान्तिपूर्ण आन्दोलनका क्रममा कलेज प्रशासनबाट परिचालित व्यक्तिहरूबाट भौतिक आक्रमण र ज्यान मार्ने धम्कीसमेत खेप्दै आएका विद्यार्थीले आफ्ना सबै माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने बताएका छन् ।
‘मंगलबार सहमतिले हाम्रो माग पूरा भएको छैन,’ एक विद्यार्थीले भने, ‘हाम्रो आन्दोलन जारी रहन्छ ।’ कलेज सञ्चालक बसरुद्दिन अन्सारी स्वयंले शान्तिपूर्ण प्रदर्शनमा रहेका महिला विद्यार्थीको कठालो समातेरै धम्की लिएको जानकारी दिँदै उनले कलेजको ज्यादतीविरुद्ध अन्तिमसम्म लड्ने बताए ।
नेसनलका विद्यार्थी कलेज सञ्चालक र प्रहरी प्रशासन दुवैको पेलानमा परेका छन् । शुक्रबार साँझ महिला विद्यार्थीमाथि भौतिक आक्रमणको घटनामा लगातार ५ दिनसम्म प्रहरी कार्यालय धाउँदा पनि विद्यार्थीको किटानी जाहेरी लिइएको छैन । प्रहरीले आफूलाई उल्टै धम्की दिएको विद्यार्थीको गुनासो छ ।
भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसका विद्यार्थीले पनि आन्दोलन जारी राखेका छन् । सरकारले माफियासित झुकेर विद्यार्थीविरोधी सहमति गरेको भन्दै विद्यार्थीले बुधबार चर्को नाराबाजीका साथ प्रदर्शन गरे । आफ्ना माग पूर्णतः सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने विद्यार्थीको भनाइ छ ।
‘हाम्रो पढाइ त यसै बिग्रियो, उसै बिग्रियो । यतिखेर आएर सरकारले मेडिकल कलेजको अर्बौं ठगी बचाउने गरी सम्झौता गरेको छ,’ एक विद्यार्थीले भने, ‘ठगिएका सबै संकायका सबै विद्यार्थीले न्याय नपाएसम्म आन्दोलन जारी राख्छौँ ।’
यस्तै गण्डकी मेडिकल कलेजका विद्यार्थीले पनि सरकार र मेडिकल कलेजबीचको सहमति अफूलाई स्वीकार्य नभएको जनाएका छन् । ठगी गर्ने कलेज सञ्चालकलाई बचाउन नै सरकारले आन्दोलनरत विद्यार्थीको प्रतिनिधित्वसमेत नगराई सहमति गरेको उनीहरूको भनाइ छ ।