मनोमानी र चलखेल गर्ने कर्मचारीलाई ठेगानमा ल्याउँछु : स्वास्थ्यमन्त्री ढकाल
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कर्मचारीप्रति कसिलो नीति लिने संकेत दिएका छन् । उनले संस्थाको नियमबाहिर गरेर मनोमानी ढंगले काम गर्ने कर्मचारीलाई लाइनमा ल्याउने बताएका हुन् । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आयोजित एक अन्तरक्रियामा सहभागी हुँदै मन्त्री ढकालले नियमसंगत ढंगले काम नगर्ने कर्मचारीको मनोमानी अब हाबी नहुने बताएका छन् । मन्त्रालयका अनेक बेथितिको उजागर गर्दै मन्त्री ढकालले अब मन्त्रालय त्यसरी चल्न नसक्ने बताए ।
‘मन्त्रालयका कर्मचारी शक्तिमा भएपछि संस्थागत हिसाबले भन्दा पनि स्वेच्छाले चल्ने गरेको सुनेको छु,’ मन्त्री ढकालले भने, ‘उपकरण खरिदमा होस् वा कर्मचारी सरुवा–बढुवामा, मन्त्रालयमा विभिन्न प्रकारका बेथेति रहेको सुनेको छु, तर अब यो हिसाबले मन्त्रालय चल्न दिन्नँ ।’ सरकारले जुन ठाउँका लागि योग्य ठानेर जिम्मेवारी दिएको छ, आफ्नो क्षमताले भाएसम्म निष्ठा र इमानदारीपूर्वक काम गर्ने मन्त्री ढकालले बताए । ‘स्वास्थ्य क्षेत्रमा सधैँ कुरा ठूला भए, सिद्धान्त पनि राम्रा रहे, तर व्यवहारमा जनताले अनुभूति गर्ने कुराहरू कार्यान्वयन हुन सकेनन्,’ मन्त्री ढकाले भने, ‘धेरै ठूला कुरा गर्नुभन्दा पनि परिणाममा नै राहत हुने गरी जनतालाई स्वास्थ्यसेवा दिने कोसिस गर्छु ।’
मन्त्री ढकालले परोपकार प्रसूतिगृहका डाक्टर, नर्स तथा कर्मचारीलाई निजी स्वार्थ नराखीकन सेवाभावले काम गर्न आग्रह गरे । कार्यक्रममा निर्देशक डा. जागेश्वर गौतमले अस्पतालको कार्यप्रगति विवरण र समस्या तथा चुनौतीबारे भनाइ राखेका थिए । भर्खरै नयाँ भवन निर्माण भएपछि अस्पतालले केही सेवा–सुविधा विस्तार गरेको र त्यसले केही हदसम्म भए पनि जनताको समस्या हल भएको डा. गौतमले दाबी गरे । उनले अस्पतालका प्रमुख समस्याका रूपमा जनशक्तिको कमी रहेको, ढलको उचित व्यवस्थापन गर्न नसकिएको, सर्जनको अभाव भएको, ओएनएम सर्भेको फाइल मन्त्रालयमा रोकिएको लगायत समस्या मन्त्री ढकालसामु लौँल्याएका थिए ।
कार्यक्रममा स्वास्थ्यसचिव खगराज बरालले धेरै मानिसले पहिलोपटक पाइला टेक्ने ठाउँका रूपमा रहेको प्रसूति अस्पतालको विकासका लागि मन्त्रालयले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । स्वास्थ्यमन्त्रीमा ढकाल आएसँगै उनी केन्द्रीय अस्पतालहरूमा पुगेर अन्तरक्रियामार्फत तिनको समस्या सुन्ने अभियानमा छन् । यसअघि उनी वीर र गंगालाल अस्पतालमा पुगिसकेका छन् । संघमातहतका अस्पतालको अवस्था बुझिसकेपछि प्रदेशमातहतका ठूला अस्पतालको पनि अवस्था बुझ्ने योजना मन्त्री ढकालको छ ।
Dhamira mantralay ma nai xan mantri jyu tapai lai nai sidhyaun ber laudainan bis haler saknu parla pahila