नेसनलमा महिला विद्यार्थीमाथि हातपात घटनामा प्रहरीले जाहेरी लिन मानेन, ‘एसपीले उल्टै फसाउने धम्की दिए’
वीरगन्जस्थित नेसनल मेडिकल कलेजका महिला विद्यार्थीमाथि भएको आक्रमणको घटनामा प्रहरीले उजुरी लिन अस्वीकार गरेको छ । अवैध शुल्कफिर्ताको आन्दोलन चलाइरहेका वेला गत शुक्रबार बेलुका कलेज प्रशासनद्वारा परिचालित केही विद्यार्थीले महिला विद्यार्थीमाथि आक्रमण गरेका थिए ।
आक्रमणपछि विद्यार्थीले शुक्रबार राति नै जिल्ला प्रहरी कार्यालय पर्सामा सामूहिक निवेदन दिएका थिए । पीडित विद्यार्थीले इन्स्पेक्टर एके साहलाई निवेदन बुझाएको बताए । लगातार ५ दिनसम्म जाहेरी दर्ता गर्न कार्यालय धाउँदा पनि हालसम्म प्रहरीले उजुरी लिन नमानेको विद्यार्थीले बताएका छन् । विद्यार्थीले शुक्रबार राति सामूहिक निवेदन दर्ता गराएपछि शनिबार प्रमुख जिल्ला अधिकारी, एसपी, नेसनल मेडिकल कलेजका एमडी र विद्यार्थीबीचको छलफलबाट घटनाको छानबिनका लागि भन्दै समिति गठन गरिएको थियो । त्यसपछि आइतबार पनि विद्यार्थी किटानी–जाहेरी दिन प्रहरी कार्यालय पुगेका थिए । तर, त्यस दिन ४ बजिसकेकाले दर्ता नहुने भन्दै फर्काइएको थियो ।
आइतबार ढिलो भएको भन्दै यत्तिकै फर्काइएपछि विद्यार्थीहरू सोमबार कार्यालय समयमै जाहेरी दिन पुगेका थिए । तर, इन्स्पेक्टर साहले निवेदन एसपी सरकोमा पुगिसकेको भन्दै उनैलाई सम्पर्क गर्न भने । मंगलबार विद्यार्थी जाहेरी दर्ताका लागि जिल्ला प्रहरी प्रमुख एसपीलाई भेट्न पुगे । विद्यार्थीले महिला साथीहरूमाथि भएको आक्रमण घटनाको जाहेरीका लागि निवेदन दर्ता गर्न आएको बताए, तर एसपीले त्यसलाई अस्वीकार गरे । उनले शनिबार गठन गरिएको छानबिन समितिले प्रतिवेदन बुझाएपछि मात्र जाहेरी लिने जवाफ दिएको जाहेरी दिन पुगेका एक विद्यार्थीले हेल्थपोस्टसित भने ।
एसपीले पीडित विद्यार्थीको उजुरी लिन अस्वीकार मात्र गरेनन्, विद्यार्थीलाई उल्टै चेतावनी दिएर पठाए । सरकारले नै अवैध शुल्क फिर्ता गर्न पटक–पटक दिएको निर्देशन कार्यान्वयनको माग उठाएर शान्तिपूर्ण प्रदर्शन गरिरहेका विद्यार्थीलाई एसपीले प्रतिबन्धित विप्लव माओवादीसित जोडेर फसाउने आशयको अभिव्यक्ति दिएको विद्यार्थीको भनाइ छ । ‘तिमीहरू विप्लवको छोराको इसारामा उचालिरहेका छौ, तिमीहरूको आन्दोलनमा अलिकति मात्र पनि कमी–कमजोरी भेट्यौँ भने छोड्दैनौँ,’ एसपीलाई उद्धृत गर्दै एक विद्यार्थीले भने ।
मेडिकल कलेजहरूले सरकारी निर्देशनको अवज्ञा गरेर अवैध शुल्क फिर्ता नगरेकाले विद्यार्थीबाट उजुरी लिई ठगी मुद्दा चलाउने गृह मन्त्रालयले बताइरहँदा नेसनलको घटनाले शंका उब्जाएको छ । महिला विद्यार्थीमाथि कलेजभित्रै भौतिक आक्रमणको घटनामा समेत जाहेरी दर्ता गर्न अस्वीकार गर्ने प्रशासनले सरकार र राजनीतिक दलहरूलाई खेलाउँदै आएका मेडिकल माफियाविरुद्ध उजुरी लिएर कारबाही प्रक्रिया अघि बढाउला भन्नेमा आमविश्वास घटेको छ ।