मेडिकल माफियाविरुद्ध आइतबार चितवनमा बृहत् प्रदर्शन गरिँदै, २० हजारको उपस्थिति रहने दाबी

हेल्थपोस्ट नेपाल

मेडिकल कलेजको अवैध असुलीविरुद्ध यतिवेला देशभरका मेडिकल विद्यार्थी आन्दोलनमा छन् । मेडिकल कलेजहरूले ३ वर्षको बीचमा विद्यार्थीबाट ३ अर्बभन्दा बढी असुली ठगी गरेको सरकारी निकायबाटै पुष्टि भइरहँदा विद्यार्थीले न्यायका लागि महिनौँदेखि आ–आफ्ना कलेजमा दबाब सिर्जना गरिरहेका छन् । पछिल्लोपटक विद्यार्थीले आन्दोलन सुरु गरेको पनि महिनादिन हुन लागिसकेको छ । तर, कलेज सञ्चालकले अवैध असुलेको शुल्क फिर्ता गर्ने कुनै संकेत देखाएका छैनन् । यस्तोमा देशभरका मेडिकल विद्यार्थी र नागरिक अभियन्ताले आइतबार मेडिकल माफियाविरुद्ध चितवनमा बृहत् प्रदर्शन गर्ने भएका छन् ।

सरकारले कलेज सञ्चालकलाई विद्यार्थीबाट असुलेको अवैध शुल्क फिर्ता गर्न अन्तिमपटकका लागि दिएको १५ दिनको समयसीमा सकिनै लाग्दा अटेरी गर्ने मेडिकल कलेजमाथि कारबाहीका लागि दबाब बढाउन चिकित्साशिक्षा संघर्ष समितिको आह्वानमा प्रदर्शन गर्न लागिएको हो । देशभरका मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीसहित नागरिकसमाजको संलग्नतामा हुने बृहत् विरोध प्रदर्शनमा करिब २० हजारको सहभागिता रहने दाबी आयोजकको छ ।

अतिरिक्त शुल्क फिर्ताका लागि सरकारले कलेज सञ्चालकलाई दिएको अल्टिमेटम ९ मंसिरमा (सोमबार) सकिँदै छ । त्यसको अघिल्लो दिन ८ गते विद्यार्थीले मेडिकल माफियामाथि कारबाहीका लागि सरकारलाई दबाब दिन तथा अवैध शुल्क फिर्ताका लागि कलेज सञ्चालकमाथि दबाब बढाउन लागेका हुन् । सरकारले पटक–पटक समय तोकेरै अतिरिक्त शुल्क फिर्ता गर्न दिएको निर्देशन अवज्ञा गर्दै आएका कलेज सञ्चालकलाई अन्तिमपटक २४ कात्तिकमा १५ दिने अल्टिमेटम दिएको थियो । दिइएको समयसीमाभित्र अवैध शुल्क फिर्ता नगरे कलेज सञ्चालकलाई पक्राउ गरी ठगी मुद्दाअन्तर्गत कारबाही प्रक्रिया अघि बढाउने गृह मन्त्रालयले जनाउ दिइसकेको छ ।

मेडिकल माफियाविरुद्ध आन्दोलनको नेतृत्व गरिरहेका चितवन मेडिकल कलेजका विद्यार्थी हिमराज बुढाथोकी मेडिकल कलेजका सञ्चालकलाई दबाब दिनका लागि विशाल जनप्रदर्शनको आयोजना गरेको बताउँछन् । विशाल जनप्रदर्शनमा चितवन मेडिकल कलेज, नेसनल मेडिकल कलेज, गण्डकी मेडिकल कलेज, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसका विद्यार्थी, अन्य मेडिकल कलेजका विद्यार्थी र नागरिकसमाज तथा विभिन्न संघ–संस्थामा आबद्ध व्यक्तिको सहभागिता रहने उनले बताए । उनका अनुसार बिहान १० बजे चितवन मेडिकल कलेजको गेटबाट सुरु हुने प्रदर्शनसहितको र्याली चितवनको चौबिसकोठी चोकमा पुगी कोणसभामा परिणत हुनेछ ।

‘हाम्रो आन्दोलन माग पूरा नभएसम्म रोकिँदैन, हाम्रो पढाइमा असर पुगे पनि अब आउने पुस्ताले कलेजको ठगी र ज्यादतीविरुद्ध लड्नुनपर्ने बनाएरै छोड्छौँ,’ बुढाथोकी भन्छन् । जारी आन्दोलनबाट चिकित्साशिक्षामा भइरहेको ठगी र बेथिति अन्त्य गर्नुका साथै मेडिकल माफियालाई राम्रो सबक सिकाउने बुढाथोकीको भनाइ छ ।

पछिल्लोपटक मेडिकल विद्यार्थीले अवैध शुल्क फिर्ताको माग गर्दै सुरु गरेको आन्दोलनका कारण ४ वटा मेडिकल कलेजमा पठन–पाठन ठप्प छ । चितवन, नेसनल, गण्डकी र युनिभर्सलका विद्यार्थी केही सातादेखि पठन–पाठन ठप्प पारेर प्रदर्शन गरिरहेका छन् ।

विद्यार्थी आन्दोलनको पछिल्लो अवस्था
नेसनल मेडिकल कलेज : रातमा विद्यार्थीलाई होस्टेलप्रवेशमा रोक, ज्यान मार्नेसमेतको धम्की
नेसनल मेडिकल कलेजमा झन्डै एक महिनादेखि विद्यार्थी आन्दोलन गरिहेका छन् । धर्ना बसिरहेका विद्यार्थीलाई कलेज प्रशासनले ज्यान मार्नेसमेतको धम्की दिँदै आएको विद्यार्थीको भनाइ छ । धर्नामा बसेको भन्दै विद्यार्थीलाई कलेज प्रशासनले बिहीबार राति अबेरसम्म छात्रावासमा प्रवेश गर्न दिएन । कलेज र छात्रावासको गेट बन्द गरी विद्यार्थीलाई बाहिरै अलपत्र पारिएको छ भने कुटपिटको समेत प्रयास भएको छ । विद्यार्थी शुक्रबार पनि धर्ना जारी नै राखेका छन् । कलेजले ३ वर्षको बीचमा विद्यार्थीबाट ३२ करोडभन्दा बढी ठगी गरेको सरकारी अनुसन्धानले देखाएको छ ।

युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस
भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसका विद्यार्थी ३ सातादेखि आन्दोलनमा छन् । सरकारले दिएको निर्देशन कार्यान्वयन नगरेको भन्दै विद्यार्थीले शुक्रबार पनि प्रदर्शन गरेका छन् । ६ असोजमै सरकारले अवैध शुल्क फिर्ता गर्न एकमहिने अल्टिमेटम दिएको थियो । तर, कलेज प्रशासनले अहिलेसम्म फिर्ता गर्ने कुनै संकेत दिएको छैन ।

विद्यार्थीको तालाबन्दीका बीच कलेज प्रशासनले सम्पत्ति शुद्धीकरणको छापाबाट बच्न झ्यालबाट कार्यालयमा प्रवेश गरी रातारात फर्जी डकुमेन्ट बनाएका प्रमाण बाहिर आएका छन् । प्रशासन ठगीको प्रमाण दिने कागजात लुकाउने र फर्जी डकुमेन्ट बनाउने काममा लागेको छ ।
कलेजले ३ वर्षको बीचमा विद्यार्थीबाट करिब ३३ करोड ठगी गरेको सरकारी अनुसन्धानले देखाएको छ ।

चितवन मेडिकल कलेज
चितवन मेडिकल कलेजका विद्यार्थी गत आइतबारदेखि कलेजमा तालाबन्दी गरेर आन्दोलनमा छन् । कलेज प्रशासनले लिएको अवैध रकम फिर्ता नहुँदासम्म संघर्ष जारी रहने सिएमसीका आन्दोनरत विद्यार्थीले बताउँदै आएका छन् । सरकारले दिएको अटिल्मेटम पूरा हुन अब ३ दिन मात्र बाँकी छ । विद्यार्थीले अवैध असुलिएको शुल्क फिर्ता नपाएसम्म परीक्षासमेत बहिष्कार गरी आन्दोलनलाई थप सशक्त बनाउँदै लैजाने विद्यार्थीको भनाइ छ ।
कलेजले विद्यार्थीबाट करोडौँ ठगी गरेको सरकारी अनुसन्धानले देखाएको छ ।

गण्डकी मेडिकल कलेज
गण्डकी मेडिकल कलेजमा पछिल्लोपटक १० दिनदेखि विद्यार्थीको आन्दोलन जारी छ । गत फागुनदेखि अवैध शुल्क फिर्ताको माग गर्दै विद्यार्थीले आन्दोलन सुरु गरेका थिए । विभिन्न समयमा कलेज प्रशासनसँग रकम फिर्ताको सहमति भए पनि अहिलेसम्म कार्यान्वयन भएको छैन ।

केही महिनाअघि बोर्ड परीक्षासमेत बहिष्कार गरेर विद्यार्थीले महिनौँसम्म कलेज तथा अस्पताल ठप्प बनाएका थिए । त्यतिवेला नेपाल मेडिकल काउन्सिलको टोलीले स्थलगत अध्ययन गरेर अवैध असुलीको रिपोर्ट दिएसँगै शिक्षामन्त्री गिरिराजमन्त्री पोख्रेलले कलेज सञ्चालक विद्यार्थीसित बसेर एक महिनाभित्र अवैध शुल्क फिर्ता गर्न निर्देशनसमेत दिएका थिए । यद्यपि, महिनौँदिन बितिसक्दा पनि कलेजले अवैध शुल्क फिर्ता नगरेपछि विद्यार्थी पुनः आन्दोलित भएका हुन् ।
कलेजले ३ वर्षको बीचमा विद्यार्थीबाट ४३ करोडभन्दा बढी ठगी गरेको सरकारी अनुसन्धानले देखाएको छ ।

शुल्क विवाद चुलिएर प्रधानमन्त्रीको समेत संज्ञानमा आइसकेपछि सम्पत्ति शुद्धीकरण विभागले मेडिकल कलेज सञ्चालक, उच्च तहका कर्मचारी, सेयरहोल्डरलगायतको सम्पत्ति छानबिनको प्रक्रिया अगाडि बढाएको छ । राष्ट्रिय सतर्कता केन्द्रलगायत निकायको छानबिन प्रतिवेदनका आधारमा विभागले अनुसन्धान अघि बढाएको जनाएको छ । छानबिनका क्रममा निजी मेडिकल कलेजहरूले विद्यार्थीबाट बढी रकम असुलेको पाइएको थियो । सतर्कता केन्द्रले गत भदौमा तयार गरेको मेडिकल कलेजहरूले ३ वर्षमा करिब ३ अर्ब ठगी गरेको विवरणसहितको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि मात्र बुझेका थिए ।



Leave a Reply

Your email address will not be published.