बोल्नेभन्दा काम गरेर देखाउँछु : स्वास्थ्यमन्त्री ढकाल
नवनियुक्त स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बोल्नेभन्दा बढी काम गरेर देखाउने बताएका छन् । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएसँग बिहीबार पदबहालीपछि ढकालले मन्त्रालयका उच्च अधिकारी एवं कर्मचारीलाई सम्बोधन गर्दै र ‘राजनीतिक बर्को नओडीकन’ जनसेवा गर्न कर्मचारी र स्वास्थ्यकर्मीलाई समेत निर्देशन दिए ।
उनले राजनीतिक आस्थाको आधारमा कसैलाई काखा र पाखा नगरिनेसमेत प्रतिबद्धता जनाए ।
ढकालले आफू यसअघि पनि मन्त्री भएको तर सो मन्त्रालय सिंहदरबारको चौघेरामा रहेको भन्दै पहिलोपटक जनताको पहुँच भएको मन्त्रालयमा काम गरेर देखाउने अवसर पाएको सुनाए । ‘यहाँ जे-जे समस्या छन्, तीनलाई क्रमशः हल गर्दै लैजान्छु,’ उनले भने । पदबहाली गर्दै नवनियुक्त राज्यमन्त्री नवराज रावतले आफूले जनताका स्वास्थ्य समस्या तल्लो तहबाटै देखेको र बुझेको भन्दै समाधानका काम गर्ने बताए ।
स्वास्थ्यसचिव खगराज बरालले मन्त्रालयले कर्मचारी समायोजनसमेत टुृंग्याउन नसकेको भन्दै अहिलेको प्रमुख प्रथमिकता नै त्यही भएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रीमण्डल पुनर्गठन गरी उपप्रधानमन्त्री उपेन्द्र यादवले सम्हाल्दै आएको मन्त्रालय ढकाललाई जिम्मा दिएर यादवलाई कानुनमा सारेका थिए । राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई भने ओलीले मन्त्रीमण्डलबाटै बाहिर पारेका छन् ।