नेपालमा पहिलोपटक विनाशल्यक्रिया ट्युमरको सफल उपचार, ८ वर्षीय बालकको हड्डीमा थियो ट्युमर

नेपालमा पहिलोपटक शल्यक्रियाविनै शरीरको अति संवेदनशील भाग (नितम्बको हड्डी) मा रहेको ट्युमरको सफलतापूर्वक उपचार गरिएको छ । चिकित्सकीय भाषामा ‘ग्रोइङ प्लेट’ भनिने नितम्बको भागको ‘इन्ड’मा रहेको ट्युमरको विनाअप्रेसन सफलतापूर्वक उपचार गरिएको हो ।

बलम्बुमा रहेको नेपाल एपिएफ अस्पताल (सशस्त्र प्रहरी बल, नेपालको अस्पताल) र नयाँबानेश्वरस्थित निजामती अस्पताल (सिभिल अस्पताल) को समन्वयमा १७ कात्तिकमा रेडियो फ्रिक्वेन्सी एब्लेसन मेसिनको माध्यमबाट ग्रोइङ प्लेट अर्थात् नितम्बमा हुने बढ्ने हड्डीको अन्तिम भागमा रहेको ट्युमरको सफल उपचार भएको हो । ८ वर्षीय बालकमा विनाशल्यक्रिया गरिएको यसकिसिमको उपचार नेपालमै दुर्लभ र अपूर्व हो ।

बालकमा रेडियो फ्रिक्वेन्सी एब्लेसन मेसिनका माध्यमबाट ग्रोइङ प्लेटमा रहेको हड्डीको ट्युमरका सेलहरू मारी निष्क्रिय गरिएको हो । अस्पतालको दाबीअनुसार यो उपचार पद्धति नेपालमा पहिलोपटक सफलतापूर्वक अपनाइएको हो ।

बैतडीका नेत्रबहादुर चन्दका ८ वर्षीय छोरा विवेक चन्द ८ महिनाअघि सुतेको वेला एक्कासि रोए । घरपरिवारले सेती अञ्चल अस्पतालमा चेकजाँच गराए । परीक्षणपछि डाक्टरले नसा च्यापिएको हुन सक्ने अनुमान लगाए । एक्स–रेमा केही समस्या देखिएन । चिकित्सकको सल्लाहअनुसार केही समय व्यायाम र औषधि सेवन गरेपछि विवेकलाई केही सन्चो भएको महसुस भयो । तर, गत असोजमा घरपरिवारलाई विवेकको खुट्टा सुकेको थाहा भयो । बुबा नेत्रबहादुरले कात्तिक पहिलो साता छोरालाई एपिएफ अस्पताल ल्याए ।

‘बिरामी अस्पताल आउँदा खुट्टा बांगो बनाएर आएका थिए, विगत ७–८ महिनादेखि थाई सुकेको थियो भने खट्टाका मांसपेशीहरू सुकेका अवस्थामा थिए,’ डा. श्रेष्ठले भने । अस्पतालमा परीक्षण गर्दा एक्स–रेमा केही पनि देखिएन । एमआरआई तथा सिटी स्क्यान गरेर हेर्दा ट्युमर रहेको पत्ता लाग्यो । सिभिल अस्पतालमा रहेको रेडियो फ्रिक्वेन्सी एब्लेसन मेसिन एपिएफ अस्पतालमा लगेर १७ कात्तिकमा १ घन्टा लगाएर उपचार गरिएको थियो ।

हातको हड्डी, खुट्टाको हड्डी तथा मेरुदण्डको भागमा देखिने ट्युमरलाई ‘ओस्टिवेड ओस्टिओमा’को नामले चिनिने एपिएफ अस्पतालका अर्थोपेडिक विभागका डा. शैलेन्द्र दुवाल श्रेष्ठ बताउँछन् । ‘मुख्यतया यस्ता भागमा आउने ट्युमर साढे १ सेन्टिमिटरको हुने गर्दछ, जुन हड्डीमा जोडिएको हुन्छ,’ डा. श्रेष्ठ भन्छन्, ‘यो विशेषगरी ४ देखि २५ वर्षको उमेरमा हुने एक किसिमको विनायु ट्युमर हो । यो मूलतः महिलाभन्दा पुरुषलाई बढी हुने गर्दछ ।’

विशेषतः यस्ता ट्युमरले दुखाइ उत्पन्न गर्ने जनरल एनेस्थेसिया एन्ड पेन विशेषज्ञ डा. अनुजजंग रायमाझी बताउँछन् । ‘यसमा दुखाइका कारणले मांसपेशी सुक्ने, बिरामीले खोच्याउँदै हिँड्नेजस्ता प्रारम्भिक समस्या देखिन्छन्,’ डा. रायमाझीले भने ।

उपचारमा संलग्न स्वास्थ्यकर्मीको टोली
नेपालमा पहिलोपटक विनाअप्रेसन गरिएको ट्युमरको सफल उपचारमा अर्थोपेडिक्स डा. शैलेन्द्र दुवाल श्रेष्ठ, डा. उमेश कार्की, एनेस्थेसियाबाट डा. प्रभात रावल र रेडियोलोजिस्टतर्फ डा. रोसु थापा, सिभिल अस्पतालका डा. अनुजजंग रायमाझी संलग्न थिए । हालसम्म शरीरका विभिन्न भागमा पलाउने ट्युमरको शल्यक्रियाविधिबाटै उपचार गरिँदै आएको थियो ।

ग्रोइङ प्लेटको इन्डमा भएको ट्युमरको अप्रेसन गर्दा हड्डीमा चोट लागेको अवस्थामा बिरामीको उचाइ बढ्नमा समस्या हुने चिकित्सकको भनाइ छ । अप्रेसन गर्न नमिल्ने भागमा भएका कारण रेडियो फ्रिक्वेन्सी एब्लेसनबाहेक अन्य विकल्प नरहेको डा. श्रेष्ठ बताउँछन् ।

डा. शैलेन्द्र दुवाल श्रेष्ठ

विनाशल्यक्रिया उपचारका फाइदा

शल्यक्रिया नगरी ट्युमरको उपचार गर्दा शरीरको कुनै भागमा चिरफार गर्नुनपर्ने, हड्डीमा कुनै औजार प्रयोग गर्नुनपर्ने, बढ्ने बच्चाको उचाइमा कुनै असर नपर्ने, शल्यक्रियाका विभिन्न जोखिम तथा समस्याबाट बच्न सकिनेलगायत फाइदा रहेको डा. श्रेष्ठ बताउँछन् । ‘हड्डीको भागमा ट्युमर भएकाले सिटी बेस फ्रिक्वेन्सी एब्लेसन अपनाएका हौँ,’ श्रेष्ठ भन्छन्, ‘सिटी स्क्यानमार्फत कुन स्थानमा ट्युमर भएको हो निश्चित गरिन्छ र त्यसमा रेडियो फ्रिक्वेन्सी पोम राखेर सर्टेन मेसिनका करेन्टहरू पास गरेर शरीरका विभिन्न भागमा आउने ट्युमरका सेल सुकाउने गरिन्छ ।’

नेपालमा पहिलोपटक सफल उपचार गरिए पनि भारतमा भने यस्ता ट्युमरको विनाशल्यक्रिया उपचार सबैतिर प्रख्यात छ । तर, यो पद्धतिबाट उपचार केही महँगो छ । यसको उपचारका लागि भारतमा ३ लाख नेपाली रुपैयाँभन्दा बढी खर्च लाग्ने डा. श्रेष्ठ बताउँछन् ।

के हो रेडियो फ्रिक्वेन्सी एब्लेसन मेसिनको काम ?

‘कुल्ड आरएफ

क्यान्सरको दुखाइ, घुँडाको दीर्घकालीन दुखाइ, हात नचल्ने, पैताला पोल्ने, ढाडको, मेरुदण्डका दुखाइलगायत अन्य दुखाइमा कुल्ड आरएफ मेसिन (रेडियो फ्रिक्वेन्सी एब्लेसन) बढी प्रभावकारी रहेको सिभिल अस्पतालका रिजनल एनेस्थेसिया एन्ड पेन विशेषज्ञ डा. रायमाझी बताउँछन् ।  करेन्टको माध्यमबाट तापक्रम उपलब्ध गराइ नसा मार्ने देखि लिएर टुयुमरका सेलहरुलाई सुकाउने समेत गरिन्छ,‘डा. रायमाझी भन्छन्, ‘कुल्ड आरएफले तापक्रमको डोजबाट ट्युमरमा रहेको सेललाई सुकाउने गर्छ ।’ डा. रायमाझीका अनुसार आरएफको माध्यमबाट ट्युमर सुकाउँदा कामको सकारात्मक नतिजा आउने सम्भावना धेरै हुन्छ र विश्वसनीयता पनि बढी हुन्छ ।

नेपाल एपिएफ अस्पतालको स्थापना वि.सं. ०६३ मा भएको हो । २५ बेडबाट सुरु भएको अस्पतालले अहिले १ सय १० बेडमार्फत सेवा दिइरहेको छ । अस्पतालमा आइसियू, ब्लकबैंक, सर्जरी, अर्थोपेडिक्स, आँखा, इएनटी, साइक्याट्रिक, मेडिसिन, गाइनोलगायत विभिन्न सेवा उपलब्ध छन् ।



Leave a Reply

Your email address will not be published.