एनएमएको आगामी अध्यक्षमा प्रजातान्त्रिक समूहबाट महासचिव डा. लोचन भिड्ने, सर्वसम्मतिले उम्मेदवार तय

हेल्थपोस्ट नेपाल

मुलुकको सबैभन्दा पुरानो पेसागत संगठन नेपाल चिकित्सक संघ (एनएमए) को आगामी अध्यक्षका लागि प्रजातान्त्रिक समूहले वर्तमान महासचिव डा. लोचन कार्कीलाई अघि सारेको छ । एनएमएका पूर्वअध्यक्षहरुको बैठकले बिहीबार डा. कार्कीलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय सर्वसम्मतिले गरेको हो । २० फागुन २००७ मा स्थापित संघको २८औँ केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन आगामी माघमा हुँदै छ ।

नेपाल चिकित्सक संघमा लामो समयदेखि संघले दिएको जिम्मेवारी निष्ठापूर्वक सम्पन्न गर्दै आएका डा. कार्की चिकित्सकमाझ निकै लोकप्रिय मानिन्छन् । नम्र स्वभाव, सहयोगी भावना र संघआबद्ध सदस्यहरुको समस्यामा सधैँ सँगै हुन खोज्ने प्रयत्नका कारण उनी चिकित्सकका असल मित्र मानिँदै आएका छन् । उनको यही छवि, जिम्मेवारीप्रतिको निष्ठा र संघमा पुर्याएको योगदानको मूल्यांकन गरेरै भावी नेतृत्वका उनलाई अघि सारिएको संघका पूर्वअध्यक्ष डा. केदार नरसिंह केसीले बताए । अध्यक्षबाहेक अन्य पोस्टका लागि भने उम्मेदवारको नाम तय भइसकेको छैन ।

डा. कार्कीसँगै वीर अस्पतालका पूर्वनिर्देशकसमेत रहेका डा. भूपेन्द्र बस्नेतको समेत नाम अध्यक्षका लागि चर्चामा थियो । तर, पूर्वअध्यक्षहरुको छलफलमा डा. कार्कीको नाममा सर्वसम्मति भएको हो । डा. कार्कीले संघको साधारण सदस्यदेखि केन्द्रीय महासचिवको जिम्मेवारीमा रही काम गरिसकेका छन् । उनले केन्द्रीय कार्यकारिणी समितिको सदस्य तथा विभिन्न पदाधिकारीको जिम्मेवारीमा रही लामो अनुभव बटुलेका छन् ।

पूर्वअध्यक्षहरुले सर्वसम्मतिबाट आफूलाई आगामी अध्यक्षको उम्मेदवारका रुपमा प्रस्तुत गरेसँगै डा. कार्कीले आफूमाथि विश्वास गरेकोमा धन्यवाद व्यक्त गरेका छन् । ‘ममाथि संघका आदरणीय योद्धाहरुले गरेको विश्वासमा खरो उत्रने प्रयास गर्नेछु,’ डा. कार्कीले हेल्थपोस्टसित भने, ‘आगामी निर्वाचनमा पनि चिकित्सक साथीहरुबाट विगतमा झैँ साथ र सहयोग पाउने अपेक्षा गर्दछु ।’

अध्यक्षमा डा. कार्कीको प्रतिस्पर्धा डा. पुष्पमणि खरालसित हुने बताइएको छ । सत्तारूढ नेकपानिकट चिकित्सक मानिन्छन् । यसपटक वाम समूहले डा. खराललाई अध्यक्षको उम्मेदवारका रुपमा अघि सार्ने भएको छ । देशमा प्रजातन्त्रको उदयलगत्तै स्थापित संघको ७० वर्षको इतिहासमा अहिलेसम्म प्रजातान्त्रिक समूहबाटै नेतृत्व चुनिँदै आएको छ ।



Leave a Reply

Your email address will not be published.