गण्डकी मेडिकल कलेजमा विद्यार्थीको ताला, परीक्षामा समेत खेलबाड गरेको आरोप

हेल्थपोस्ट नेपाल

गण्डकी मेडिकल कलेजका विद्यार्थीले कलेज प्रशासनमा ताला लगाएका छन् । कलेजका प्राचार्य रवीन्द्रप्रसाद श्रेष्ठले गैरजिम्मेवार बन्दै अमर्यादित अभिव्यक्ति दिएको भन्दै विद्यार्थीले कलेजमा ताला लगाएका हुन् ।

परीक्षाजस्तो संवेदनशील विषयमा समेत कलेज प्रशासनले खेलबाड गरेको विद्यार्थीको आरोप छ । कलेजले गैरजिम्मेवार मात्र नभई गैरकानुनी रवैया देखाएको विद्यार्थीको भनाइ छ । एउटा डिपार्टमेन्टको प्रश्नपत्र अर्को डिपार्टमेन्टले बनाएको, ढाँचा नमिलाई प्रश्नपत्र निर्माण गरेको लगायत आरोप लगाएका विद्यार्थीले कलेजका यस्ता क्रियाकलापले आफूहरू हैरानी खेप्न बाध्य भएको जनाएका छन् ।

विद्यार्थीले कलेज प्रशासनलाई कारबाही गर्न चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) डिन कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेका छन् । कलेजका अमर्यादित गतिविधि र कर्तुतहरूको निष्पक्ष छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन विद्यार्थीले नियामक निकायसमक्ष माग गरेका हुन् ।

तालाबन्दीसँगै जारी गरेको विज्ञप्तिमा विद्यार्थीले अन्यायपूर्ण गतिविधि र विद्यार्थीको न्यायिक संघर्षलाई खलल पुर्याउनेखालका कुनै पनि गतिविधि पुनः दोहोर्याउने कुराको परिणाम कलेज प्रशासनले भोग्नुपर्ने चेतावनी दिएका छन् । यसअघि पनि विद्यार्थीले कलेजले अवैध असुलेको शुल्क फिर्ता गर्नुपर्नेलगायत माग राख्दै लामो समयसम्म पठन–पाठन ठप्प हुने गरी संघर्ष गरेका थिए ।



Leave a Reply

Your email address will not be published.